close

चाडबाडको सिजन सकिएसँगै घट्यो स्मार्टफोन आयात, कात्तिकमा २.२२ अर्ब कम भित्रियो

टेकपाना टेकपाना

मंसिर ८, २०८२ १३:२३

चाडबाडको सिजन सकिएसँगै घट्यो स्मार्टफोन आयात, कात्तिकमा २.२२ अर्ब कम भित्रियो

काठमाडौँ । कात्तिकमा स्मार्टफोन आयात ह्वात्तै घटेको छ । स्मार्टफोन बिक्रीको मुख्य सिजन दशैँ तिहार लगायतका पर्व सकिएसँगै आयातमा गिरावट देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिकमा दुई अर्ब ५२ करोड रुपैयाँ बराबरका एक लाख ३८ हजार ९६६ थान स्मार्टफोन मात्रै आयात भएका छन् । जबकि चाडबाडको सिजन अनुरूप भदौ र असोजमा औसतमा पाँच अर्ब रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए ।

अघिल्लो महिना असोजमा चार अर्ब ७५ करोड रुपैयाँ बराबरका करिब तीन लाख थान र भदौमा पाँच अर्ब ४५ करोड रुपैयाँ बराबरका तीन लाख १० हजार ३६० थान स्मार्टफोन आयात भएका थिए ।

विभागका अनुसार कात्तिकमा सरकारले स्मार्टफोन आयातबाट ४७ करोड १० लाख रुपैयाँ कर सङ्कलन गरेको छ । जब कि भदौमा स्मार्टफोन आयातबाट एक अर्ब र असोजमा ८८ करोड ६३ लाख रुपैयाँ कर उठेको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा भदौमा नै सर्वाधिक स्मार्टफोन नेपाल भित्रिएका थिए । साउनमा तीन अर्ब ४१ करोड रुपैयाँ बराबरका करिब दुई लाख थान स्मार्टफोन आयात भएको देखिन्छ । जसबाट सरकारले ६३ करोड ७९ लाख रुपैयाँ भन्सार उठाएको थियो । 

साउनदेखि कात्तिकसम्म चीनबाट सर्वाधिक १३ अर्ब रुपैयाँ बराबरका आठ लाख २४ हजार ७४९ थान स्मार्टफोन आयत भएका छन् । त्यसपछि भारतबाट तीन अर्ब रुपैयाँ बराबरका एक लाख १७ हजार ५८७ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । अन्य बाँकी देशबाट आयातित स्मार्टफोनको सङ्ख्या चार महिनामा पाँच सय थानभन्दा कम रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ १३:५०