close

क्रिप्टो धन्दा गरेको आरोपमा समातिए २२ वर्षे अर्का युवक, देखियो ७ करोड बराबरको कारोबार

टेकपाना टेकपाना

मंसिर १२, २०८२ १५:१८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । झन्डै सात करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा रौतहट घर भई हाल काठमाडौँ बस्ने २२ वर्षीय विकास साह बानियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) को टोलीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा गरिएको अनुसन्धानमा उनले ६ करोड ७८ लाख ८० हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रारम्भिक विवरण खुलेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बानियाँ क्रिप्टो कारोबारसहित अनलाइन ठगीमा पनि संलग्न रहेको पाइएको छ । भट्टराईले भने, “प्रारम्भिक अनुसन्धानका क्रममा आरोपी साहले विदेशबाट पार्सल पठाइदिने भन्दै अनलाइन ठगी समेत गरेको देखिएको छ । अन्य अपराधमा उनको संलग्नताबारे हामी थप अनुसन्धान गर्दैछौँ ।”

प्रहरीले उनीमाथि अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समय प्रहरीले क्रिप्टो कारोबारीमाथि निगरानी बढाएको छ । यसअघि बुधबार मात्रै करिब २० करोड रुपैयाँको क्रिप्टो कारोबार गरेको आरोपमा २३ वर्षीय मोहम्मद सेफ पक्राउ परेका थिए ।

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ १७:३५