close

क्रिप्टो धन्दामा संलग्न २ जना पक्राउ, देखियो ७४ लाख रुपैयाँ बढीको कारोबार

टेकपाना टेकपाना

मंसिर १४, २०८२ १७:३७

क्रिप्टो धन्दामा संलग्न २ जना पक्राउ, देखियो ७४ लाख रुपैयाँ बढीको कारोबार

काठमाडौँ । अवैध रूपमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले ७४ लाख रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँका ३६ वर्षीय विशाल डंगोल र मोरङ घर भई हाल काठमाडौँ बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूले क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ बजे काठमाडौँको बिजुलीबजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आरोपीले ७४ लाख ५२ हजार ६९९ रुपैयाँ बराबरको अवैध कारोबार गरेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले पाँच थान मोबाइल फोन समेत बरामद गरेको छ ।

उनीहरूमाथि 'अभौतिक मुद्राको प्रयोग गर्न नहुने' कसुरमा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

पछिल्लो समय नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सी कारोबार बढेको भन्दै प्रहरीले यस विरुद्ध विशेष अभियान नै सञ्चालन गरेर निगरानी तथा कारबाही प्रक्रियालाई तीव्र पारेको छ । यसअघि पनि क्रिप्टो कारोबार गरेको आरोपमा विभिन्न व्यक्तिहरू परिसकेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १७:३७