काठमाडौँ । राहदानी विभाग त्रिपुरेश्वर परिसरमा सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने प्रलोभन देखाई रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मनराज श्रेष्ठ, हेमन्त सिंह ओखेडा र दिपेश के.एम. रहेका छन् । उनीहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीले जनाएको छ ।
विभागको मूल गेट बाहिर सेवाग्राहीलाई रोकी छिटो काम गरिदिने भन्दै अतिरिक्त रकम माग्ने र हैरानी दिने गरेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले विभागको नियमित कामकारबाहीमा समेत अवरोध पुर्याउने गरेको प्रहरीको भनाइ छ ।
यसअघि १ मंसिरमा पनि सोही स्थानबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको थियो । सेवाग्राहीलाई ठग्ने र दु:ख दिने बिचौलियाहरूको गतिविधि बढेको गुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी र कारबाही तीव्र पारेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १८:१५
