बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका सीईओ शेरचनसहित तीन उच्च अधिकारी पक्राउ
मंसिर १४, २०८२ १८:३१
काठमाडौँ । बैंकिङ कसुरको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार बैंकको केन्द्रीय कार्यालय बिजुलीबजार पुगेको सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सीईओ शेरचनसहित बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् । उनीहरूमाथि बैंकिङ कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
ब्युरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीले बैंकिङ कसुरको अभियोगमा बैंकरहरू पक्राउ परेको पुष्टि गरे । “बैंकका तीन जनालाई पक्राउ गरेका छौँ । उनीहरूमाथि लागेको आरोपको विषयमा थप अनुसन्धान भइरहेको छ,” एआईजी केसीले टेकपानालाई भने ।
पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १८:४३
