‘आयो आयो’: एमाले कार्यकर्ताको नारा यसरी बन्यो टिकटकमा व्यापार बढाउने भाइरल ट्रेन्ड
मंसिर १४, २०८२ २२:५४
काठमाडौँ । कात्तिकको अन्तिम सातादेखि सामाजिक सञ्जालमा एमाले समर्थकको एउटा भिडिओ क्लिप निकै चर्चामा छ । झण्डा बोकेर नारा लगाउँदै हिँडिरहेको समूहमा एक अधबैँसे महिलाले ‘आयो आयो’ भन्दै गरेको नारा सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । ती महिलाले ‘आयो आयो’ भनेपछि जुलुसमा भएका अन्यले ‘एमाले आयो’ भन्दै नारा लगाएका छन् ।
पछिल्लो साता भने त्यही भिडिओ क्लिप राखेर अनलाइन माध्यमबाट व्यवसाय गरिरहेका प्रयोगकर्ताहरूले आफ्नो सामानको प्रचार समेत गर्न थालेका छन् । यस्ता प्रचारमा देउसी खेल्दा ‘देउसी रे’ भनेजस्तै ‘आयो आयो’ भनेको ती महिलाको क्लिप राखिएको छ । त्यसपछि देउसी खेल्दा भट्याउने जस्तै गरी प्रयोगकर्ताहरूले आफ्ना सामानहरू देखाउँदै त्यसको बारेमा जानकारी दिइरहेका छन् ।
टिकटक आईडी ‘Hamropahiran78’ ले त्यही भाइरल ‘आयो आयो’ क्लिपको प्रयोग गर्दै ‘२५० को ब्याग आयो’ भन्दै भिडिओ बनाएको छ । भिडिओमा दुई हातमा नै ब्याग लिएर एक युवतीले महिलाहरूले प्रयोग गर्ने किसिमको ब्यागको प्रचार गरिरहेकी छिन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई करिब तीन लाख ५० हजार पटक हेरिएको छ भने ६ हजार ९०० पटक लाइक गरिएको छ । उक्त भिडिओमा कतिपयले ‘आयो आयो’ को बल्ल सही ठाउँमा प्रयोग भएको भन्दै प्रतिक्रिया दिएका छन् । केही प्रयोगकर्ताले मार्केटिङको राम्रो तरिका भएको बताएका छन् भने अधिकांश प्रयोगकर्ताले भिडिओमा प्रचार गरेको ब्यागको बारेमा थप जानकारी पाउन चासो देखाएका छन् ।
अर्को टिकटक आईडी ‘Flower crew nepal’ बाट पनि ‘आयो आयो ४५०० मा गमला आयो’ भन्दै भिडिओ पोस्ट भएको छ । उक्त भिडिओमा एक युवक हातमा विभिन्न गमला र बिरुवा देखाएर प्रचार गरिरहेको देखिन्छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई तीन लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ ।
यस्तै टिकटक प्रयोगकर्ता ‘Dibash creation’ ले पनि यही ट्रेन्डलाई पछ्याउँदै भिडिओ बनाएको छ । भिडिओमा ‘१५०० रुपैयाँमा म्युजिक प्रमोसन आयो’ भन्दै प्रचार गरिएको छ । उक्त भिडिओलाई टिकटकमा झन्डै २३ हजार पटक हेरिएको छ । ‘KUNWAR-G’ नामक आईडीबाट पनि ‘आयो आयो’ को प्रयोग गरेर फोटो फ्रेमको विज्ञापन गरिएको छ । ‘एक सय वाला आयो’ भन्दै फोटो फ्रेमको प्रचार उक्त भिडिओमा गरिएको छ । ‘Shrestha mobile care Damak CM’ ले पनि यही ट्रेन्ड फलो गर्दै ‘मात्र ७७ हजारमा आईफोन १३ आयो’ भन्दै भिडिओ बनाएको छ । उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म १७ हजारभन्दा बढी पटक हेरिएको छ ।
टिकटकमा मात्र नभई यो ट्रेन्डलाई पछ्याउँदै फेसबुकलगायत अन्य प्लेटफर्ममा पनि कयौँ व्यवसायीहरूले आफ्नो प्रचार गरेका छन् । यस्तो प्रचारलाई केही प्रयोगकर्ताहरूले ‘झोले’ को संज्ञा पनि दिइरहेका छन् । केही प्रयोगकर्ताले भने भाइरल कन्टेन्टलाई प्रयोग गर्दै व्यवसाय बढाउने काम गरेको भन्दै सकारात्मक रूपमा लिइरहेका छन् ।
तर व्यवसायीहरूले आफ्ना सामानहरू प्रचार गर्नु पहिला यो भाइरल क्लिप एमालेसहितका पार्टीलाई आलोचना गर्न प्रयोग भएको देखिन्छ । १३ नोभेम्बरमा टिकटक आईडी ‘MCB VLOGS’ ले महिलाले ‘आयो आयो’ भनेको क्लिपमा ‘मासुभात आयो’ भन्दै भिडिओ बनाएका छन् । उक्त भिडिओलाई सात लाखभन्दा बढी पटक हेरिएको छ भने ५० हजारभन्दा बढी लाइक गरिएको छ । सोही भिडिओजस्तै अन्य प्रयोगकर्ताहरूले पनि ‘मासुभात आयो’ भन्दै समान किसिमका सामग्री बनाएका छन् । अहिले भने नकारात्मक रूपमा प्रस्तुत गर्नुभन्दा पनि व्यवसायीहरूले भाइरल क्लिपलाई आफ्नो व्यापार बढाउने काममा प्रयोग गर्ने क्रम बढेको हो ।
पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ २२:५४
