close

७ वर्षसम्म सफ्टवेयर अपडेट पाइने सामसङको ‘ट्याब ए११ प्लस’ नेपाली बजारमा, मूल्य ३५ हजारदेखि

टेकपाना टेकपाना

मंसिर १९, २०८२ १६:३४

७ वर्षसम्म सफ्टवेयर अपडेट पाइने सामसङको ‘ट्याब ए११ प्लस’ नेपाली बजारमा, मूल्य ३५ हजारदेखि

काठमाडौँ । सामसङले नेपाली बजारमा आफ्नो नयाँ ट्याब्लेट ‘ग्यालेक्सी ट्याब ए११ प्लस’ (Galaxy Tab A11+) भित्र्याएको छ । एआई फिचर, प्रिमियम डिजाइन र शक्तिशाली पर्फमेन्स चाहने प्रयोगकर्तालाई लक्षित गर्दै यो मोडेल ल्याएको कम्पनीले जनाएको छ ।

सिल्भर र ग्रे रङमा उपलब्ध यो ट्याबमा ११ इन्चको डिस्प्ले र स्लिक मेटल डिजाइन रहेको छ । मनोरञ्जन र अनलाइन कक्षाका लागि उपयोगी हुने गरी यसमा डल्बी एटमस सहितका क्वाड स्पिकरहरू राखिएका छन् ।

४ एनएमको मिडियाटेक एमटी ८७७५ प्रोसेसर राखिएको यो ट्याबले मल्टी-टास्किङ, स्ट्रिमिङ र लर्निङ एपहरू चलाउँदा छिटो र सहज अनुभव दिने कम्पनीले जनाएको छ ।

ट्याबमा गुगल जेमिनाई, स्क्रिनमा गोलो घेरा लगाएर खोज्न सकिने ‘सर्कल टु सर्च’, अनलाइन सामग्रीको रियल टाइम ट्रान्सलेसन र सामसङ नोट्समा गणितका समस्या हल गर्नेजस्ता सुविधाहरू समावेश छन् ।

ए-सिरिजको यो ट्याबमा ठुलो अपग्रेड दिँदै ७ पुस्तासम्मको वन यूआई अपग्रेड र सात वर्षसम्मको सेक्युरिटी अपडेट दिने घोषणा गरेको छ । यसले गर्दा यो डिभाइस लामो समयसम्म सुरक्षित र नयाँ रहिरहनेछ ।

सामसङ नेपालका एमएक्स बिजनेस डाइरेक्टर प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी ट्याब ए११ प्लस मार्फत हामी नेपालका धेरै प्रयोगकर्तामाझ प्रिमियम उत्पादकत्व र एआईमा आधारित सिकाइ पुर्‍याउने लक्ष्यमा छौँ । यसको लामो समयसम्म चल्ने सफ्टवेयर सपोर्टले ग्राहकलाई ढुक्क बनाउनेछ ।”

सामसङले यो ट्याब खरिद गर्न चाहनेहरूका लागि ‘इन्स्टा फाइनान्स’ मार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ ।

नेपालभरका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध यो ट्याबको फाइभजी भेरियन्ट (८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज) को मूल्य ४७ हजार ९९९ रुपैयाँ र वाई-फाई भेरियन्ट (६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज) को मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १६:३५