एआई डेटा सेन्टरको बढ्दो मागले मेमोरी अभाव, अर्को महिनादेखि मोबाइल महँगो हुने सम्भावना
मंसिर २०, २०८२ १५:४६
काठमाडौँ । सामान्यत: उच्च गुणस्तरको क्यामेरा, ठुला स्क्रिन र बढी स्टोरेज क्षमताले गर्दा स्मार्टफोन महँगो हुने गर्छन् । तर, आगामी वर्ष भने मोबाइलको एउटा सामान्य कम्पोनेन्ट ‘मेमोरी’ का कारण स्मार्टफोनको मूल्य आकाशिने देखिएको छ ।
यो समस्या फोनमा मात्र सीमित हुनेछैन । फोनदेखि ट्याब्लेट र स्मार्टवाचसम्म, मेमोरी प्रयोग हुने कुनै पनि डिभाइसको मूल्य बढ्न सक्नेछ । उपभोक्ताले प्रयोग गर्ने सामाग्रीमा मेमोरीको मूल्य बढ्नुको मुख्य कारण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीको तीव्र विकास हो । प्रमुख मेमोरी निर्माताले उपभोक्तामुखी उत्पादनको सट्टा एआई डेटा सेन्टरका लागि उत्पादन बढाउन थालेकाले बजारमा अभाव सिर्जना भएको सीएनएन बिजनेसले उल्लेख गरेको छ ।
काउन्टरपोइन्ट रिसर्चका वरिष्ठ विश्लेषक याङ वाङ भन्छन्, “यो अवस्था निकै क्रूर छ र यसले सबै क्षेत्रलाई असर गरेको छ ।”
विश्वव्यापी बजार अनुसन्धान संस्था ‘इन्टरनेसनल डेटा कर्पोरेसन’ (आईडीसी) ले यसै साता सार्वजनिक गरेको रिपोर्ट अनुसार मेमोरी अभावका कारण २०२६ मा स्मार्टफोन बजार ०.९ प्रतिशतले घट्ने अनुमान गरिएको छ । काउन्टरपोइन्ट रिसर्चले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०२५ को चौथो त्रैमासमा मेमोरीको मूल्य ३० प्रतिशतले बढ्ने र अर्को वर्षको सुरुमा थप २० प्रतिशतले उकालो लाग्न सक्ने अनुमान गरिएको छ ।
मेटा, माइक्रोसफ्ट र गुगल जस्ता प्रविधि कम्पनीले एआईको माग धान्न यस वर्ष आफ्ना डेटा सेन्टर र पूर्वाधार आक्रामक रूपमा विस्तार गरेका छन् । म्याकिन्जी एन्ड कम्पनीको प्रतिवेदनले यो वृद्धि जारी रहनेछ र सन् २०३० सम्ममा कम्पनीले डेटा सेन्टर पूर्वाधारमा विश्वव्यापी रूपमा करिब सात ट्रिलियन डलर (७० खर्ब डलर) लगानी गर्ने देखाएको छ ।
यही कारणले माइक्रोन र सामसङ जस्ता मेमोरी निर्माताले कम्प्युटर र स्मार्टफोनमा प्रयोग हुने मेमोरीको सट्टा डेटा सेन्टरमा प्रयोग हुने विशेष प्रकारको मेमोरी उत्पादनमा ध्यान केन्द्रित गरेका छन् । यसले गर्दा उपभोक्तामुखी उत्पादनका लागि स्रोतसाधन कम भएको विश्लेषक वाङ बताउँछन् ।
मेमोरी र स्टोरेज कम्पनी माइक्रोनले बुधबार मात्रै एआई-ड्रिभन डेटा सेन्टरको मागमा भएको उच्च वृद्धिलाई कारण देखाउँदै उपभोक्ता मेमोरी व्यवसायबाट बाहिरिने घोषणा गरेको छ । त्यस्तै सामसङ मेमोरी विभागका कार्यकारी उपाध्यक्ष जेजुन किमले अक्टोबरमा कम्पनीले तेस्रो त्रैमासिकमा एआई र डेटा सेन्टरका लागि मेमोरीको बलियो माग देखेको बताएका थिए । उनले मोबाइल र पीसी मेमोरीको आपूर्ति अभाव अझै चर्किने चेतावनी समेत दिएका छन् ।
विश्लेषकका अनुसार ग्याजेट निर्माताले उत्पादन कहिले बजारमा ल्याउने र मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा कठिन निर्णय लिनुपर्ने हुनसक्छ । सेमिकन्डक्टर उद्योगको अध्ययन गर्ने संस्था ‘ट्रेन्डफोर्स’ले मेमोरीको मूल्य वृद्धिले २०२५ मा स्मार्टफोन उत्पादन लागत ८ देखि १० प्रतिशतसम्म बढाउने उल्लेख गरेको छ । यद्यपि उत्पादन लागत बढ्दैमा उपभोक्ता मूल्य सधैं बढ्छ भन्ने हुँदैन ।
आईडीसीकी अनुसन्धान निर्देशक नबिला पोपालका अनुसार केही स्मार्टफोनको मूल्य २०२६ को सुरुवातमै बढ्न सक्छ । यसको सबैभन्दा ठुलो असर सस्तो एन्ड्रोइड फोनमा पर्नेछ । किनकि कम मूल्यका उत्पादनमा नाफाको मार्जिन एकदमै कम हुन्छ ।
सीएनएनसँग कुरा गर्दै पोपाल भन्छिन्, “सस्ता एन्ड्रोइड फोनको मूल्य नबढाउनु कम्पनीका लागि लगभग असम्भव हुनेछ ।”
स्मार्टफोन लगायत अन्य ग्याजेटको मूल्य बढ्ने सम्भावनालाई टार्न कम्पनीले फोन सार्वजनिक गर्ने मिति सार्न सक्ने देखिएको छ । मिति सार्दा पनि उपाए नलागेको खण्डमा भने कम्पनीहरू बढी नाफा हुने महँगा मोडलमा मात्र ध्यान केन्द्रित गर्न सक्ने देखिन्छ ।
पोपालका अनुसार २०२५ मा ४५७ डलर रहेको स्मार्टफोनको औसत बिक्री मूल्य बढेर २०२६ मा ४६५ डलर पुग्ने अनुमान छ । यसले स्मार्टफोन बजारको कुल मूल्य ५७८.९ अर्ब डलरको कीर्तिमानी उचाइमा पुर्याउनेछ । यद्यपि आपूर्ति शृङ्खलाले आफूलाई समायोजन गर्दै जाँदा अर्को वर्षको अन्त्यतिर अवस्था सामान्य बन्न सक्ने अनुमान गरिएको छ । यसले मूल्य वृद्धि रोक्न वा केही हदसम्म घटाउन मद्दत गर्न सक्छ
विश्लेषक वाङका अनुसार सेमिकन्डक्टर उद्योग नयाँ प्रविधिसँग जुध्न अभ्यस्त भए पनि एआईको माग यति छिटो बढ्ने कुरामा भने उद्योग तयार थिएन । “सेमिकन्डक्टर क्षेत्रमा सधैं माग र आपूर्तिबिच असन्तुलन भइरहन्छ,” उनले भने, “तर यस पटकको अवस्था भने अप्रत्याशित थियो ।”
-सीएनएन बिजनेसको सहयोगमा
पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ ८:३८
