विश्व हल्लाउने रुसी राष्ट्रपति पुटिन: न बोक्छन् मोबाइल, न चलाउँछन् इन्टरनेट
मंसिर २०, २०८२ २०:११
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी राष्ट्र भारतको दुई दिने भ्रमणमा छन् । विश्व राजनीतिमा शक्तिशाली नेताको छाप पुटिनको छ । तर, उनै पुटिन इन्टरनेटको दुनियाँबाट बाहिर छन् । न त उनी सामाजिक सञ्जाल चलाउँछन् न त स्मार्टफोन नै बोक्छन् । इन्टरनेटको संसारबाटै बाहिर रहेका उनी इन्टरनेट नै चलाउँदैनन् ।
पुटिनले धेरै समय अघि नै इन्टरनेटलाई ‘सीआईएको प्रोजेक्ट’ भएको आरोप लगाएका थिए । सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) अमेरिकी गुप्तचर एजेन्सी हो । जसबाट रुस आफूलाई सबैभन्दा जोखिम ठान्छ । पुटिनको इन्टरनेट थ्यौरी के हो त त्यसबारे बुझौँ:
पुटिनले इन्टरनेटबारे के भनेका छन् ?
बेलायती अखबार संस्था द गार्डियनको रिपोर्ट अनुसार सन् २०१४ अप्रिलमा पुटिनले रुसको सहर सेन्ट पिटर्सबर्गमा भएको पत्रकार सम्मेलनमा इन्टरनेटबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले त्यही पत्रकार सम्मेलनमा इन्टरनेटलाई सीआईएको प्रोजेक्ट भएको आरोप लगाएका थिए । उनले अमेरिकी गुप्तचर एजेन्सी सीआईएले नै इन्टरनेट निर्माण गरेको दाबी गर्दै अहिले पनि उसैले विस्तार गरिरहेको आक्षेप लगाएका थिए । पुटिनको अभिव्यक्तिले विश्वभर चर्चा बटुलेको थियो ।
इन्टरनेटबाट जासुसी भइरहेको पुटिनको दाबी
त्यसअघि सन् २०१३ मा अमेरिकी गुप्तचर एजेन्सी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का पूर्वकर्मचारी एडवर्ड स्नोडेनले ठुलो खुलासा गरेका थिए । उनले अमेरिकाले फेसबुक, स्काइप लगायतका सामाजिक सञ्जालमार्फत ठुलो मात्रामा जासुसी गरिरहेको बताएका थिए । त्यसपछि जर्मनी, ब्राजिललगायतका देशहरूले इन्टरनेटमा अमेरिकी नियन्त्रण रहेको शङ्का गर्दै चर्चा गर्न थालेका थिए । पुटिनले पनि यस्तै घटनालाई आधार मान्दै इन्टरनेटमा अमेरिकी गुप्तचर संस्थाको प्रभाव रहेको र त्यसैमार्फत जासुसी भइरहेको मान्यता राख्दै आएका छन् ।
राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले साइबर सुरक्षा र सिग्नल इन्टेलिजेन्समा काम गर्छ भने सीआईए मानवीय इन्टेलिजेन्समा आधारिक अमेरिकी गुप्तचर एजेन्सी हो ।
रुस आफ्नो छुट्टै इन्टरनेट चाहन्छ
रुसी राष्ट्रपति पुटिन लामो समयदेखि आफ्नो देशको छुट्टै इन्टरनेट हुनुपर्ने बताउँदै आएका छन् । उनले विद्यमान इन्टरनेट सञ्जालबाट रुसको राष्ट्रिय हितलाई खतरा रहेको मान्यता राख्दै आएका छन् । रुसको अनलाइन हितलाई रक्षा गर्न आवश्यक रहेको बताएका थिए । कतिपय भने आफ्नै इन्टरनेट भए रुस सरकारले आफूहरुको गोपनीयता हनन हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए । एडवर्ड स्नोडेन रुसको अस्थायी शरणार्थी रहेका थिए । उनले एक टेलिभिजन कार्यक्रममा राष्ट्रपति पुटिनमाथि प्रश्न गर्दै रुसले पनि नागरिकको फोन र इन्टरनेटको जासुसी गर्ने गरेको आरोप लगाएका थिए ।
“मलाई विश्वास छ हामी त्यसो गर्दैनौं । किनभने हामीसँग अमेरिकाको जति पैसा छैन,” पुटिनले त्यो आरोपको हाँस्दै जवाफ फर्काएका थिए ।
आखिर इन्टरनेट कसले बनायो ?
इन्टरनेटसम्बन्धी पुटिनको थ्यौरी विपरीत इन्टरनेटको आविष्कार एक व्यक्ति वा संस्थाले गरेको होइन । बरु यो विभिन्न चरण पार गर्दै निर्माण भएको देखिन्छ । सन् १९६० मा एडभान्स रिसर्च प्रोजेक्ट्स एजेन्सी नेटवर्क (ARPANET) निर्माण भएको थियो । सन् १९८३ मा ARPANET लाई इन्टरनेटमा रुपान्तरण गरिएको थियो । सन् १९८९ मा बेलायती वैज्ञानिक टिम बर्नर्स-लीले वर्ल्ड वाइड वेब (WWW) को आविष्कार गरेका थिए । जसलाई आमसर्वसाधारणसम्म पुर्याउँदै इन्टरनेटको उपलब्ध गराइएको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर २०, २०८२ २०:११
