close

विकिपिडियाले ल्यायो ‘इयर इन रिभ्यु’ फिचर, एपमा हेर्न सकिनेछ वर्षभरिको गतिविधि

टेकपाना टेकपाना

मंसिर २१, २०८२ ८:५८

विकिपिडियाले ल्यायो ‘इयर इन रिभ्यु’ फिचर, एपमा हेर्न सकिनेछ वर्षभरिको गतिविधि

काठमाडौँ । विश्वको चर्चित नि:शुल्क अनलाइन विश्वकोष विकिपिडियाले आफ्नो मोबाइल एपमा ‘इयर इन रिभ्यु’ (Year in Review) फिचर सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको गतिविधिलाई समेट्दै विकिमिडिया फाउन्डेसनले स्पोटिफाईको ‘र्‍याप्ड’ (Wrapped) जस्तै ग्राफिकल शैलीमा यो नयाँ फिचर ल्याएको हो।

यस फिचरको प्रयोग गर्न प्रयोगकर्ताले मोबाइलमा विकिपिडियाको एप इन्स्टल गरी प्रयोग गरेको हुनुपर्नेछ । एपको डाउनलोड बढाउने उद्देश्यले फाउन्डेसनले यो फिचर ल्याइएको देखिन्छ ।

के छ त २०२५ को ‘इयर इन रिभ्यु’ मा ? 

यस फिचरमा प्रयोगकर्ताका लागि सीमित व्यक्तिगत विवरणहरू उपलब्ध छन् । यसले प्रयोगकर्ताले विकिपिडिया पढ्न कति समय (मिनेट) बिताए र कुन-कुन विषयमा बढी रुचि राखे भन्ने जानकारी दिन्छ ।

व्यक्तिगत विवरणबाहेक यसले विकिपिडियाका समग्र गतिविधिहरूको वार्षिक झलक पनि प्रस्तुत गरेको छ । तथ्याङ्क अनुसार यो वर्ष साइटभरि एडिटरहरूले ६ करोड ६० लाखभन्दा बढी पटक एडिट गरेका छन् ।

अंग्रेजी भाषामा सबैभन्दा बढी पढिएका लेखहरूको सूचीमा चार्ली कर्क (Charlie Kirk) र ‘डेथ्स इन २०२५’ (Deaths in 2025) शीर्ष स्थानमा रहेका छन् । विकिपिडियाले वर्षभरि धेरै पढिएका लेखहरूको पूर्ण सूची पनि सार्वजनिक गरेको छ ।

कसरी हेर्ने ?

यो फिचर हेर्नका लागि एप खोल्दा नै ‘पप-अप’ सन्देश देखिनेछ । यदि पप-अप नदेखिएमा एन्ड्रोइड प्रयोगकर्ताले ‘मोर’ (More) मेनुमा र आईओएस प्रयोगकर्ताले आफ्नो प्रोफाइल पेजमा गएर यो विवरण हेर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ ८:५८