close

धमाधम उच्च-पदस्थ कर्मचारी तथा विशेषज्ञले एप्पल कम्पनी छोड्न थालेपछि आईफोनको आधिपत्य खतरामा

टेकपाना टेकपाना

मंसिर २१, २०८२ ११:३३

धमाधम उच्च-पदस्थ कर्मचारी तथा विशेषज्ञले एप्पल कम्पनी छोड्न थालेपछि आईफोनको आधिपत्य खतरामा

काठमाडौँ । सिलिकन भ्यालीमा स्थिरताको नमुना मानिने एप्पल इंकले दशकौँपछि सबैभन्दा ठुलो कर्मचारी फेरबदलको सामना गरिरहेको छ । पछिल्लो समय वरिष्ठ कार्यकारी र मुख्य इन्जिनियरहरूले कम्पनी छाड्ने क्रम बढेको हो । यो परिवर्तन टिम कुकको नेतृत्वकालको सबैभन्दा कठिन अवधि मध्ये एक मानिएको छ ।

पछिल्लो केही हप्तामै एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई सिधा रिपोर्ट गर्ने चार जना उच्च-स्तरीय कार्यकारीले राजीनामा दिएका छन् । यसरी बहिर्गमित हुनेहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रमुख जोन गियानन्ड्रिया र इन्टरफेस डिजाइन प्रमुख एलन डेई समावेश छन् । यसका साथै कम्पनीले आफ्नो जनरल कानुनी सल्लाहकार (General Counsel) केट एडम्स र सरकारी मामिला प्रमुख (Head of Governmental Affairs) लिसा ज्याक्सनले पनि अवकाश लिने घोषणा गरेको छ ।

चिप प्रमुखको सम्भावित बहिर्गमन

यी उच्च-पदस्थ कर्मचारीहरू बाहेक कम्पनीमा उच्च ओहोदाका अन्य कर्मचारीले समेत कम्पनी छोड्ने सम्भावना छ । एप्पलका सबैभन्दा सम्मानित कार्यकारीहरू मध्ये एक हार्डवेयर टेक्नोलोजीका वरिष्ठ उपाध्यक्ष जोनी स्रुजीले निकट भविष्यमा कम्पनी छोड्ने बारे कुकसँग गम्भीरतापूर्वक छलफल गरिरहेका छन् । स्रुजीलाई एप्पलको बहुमूल्य इन-हाउस चिप्स इनिसियटिभ्सको आर्किटेक्चरर मानिन्छ ।

उनले कम्पनी छाडेर अर्को कम्पनीमा जाने मनसाय रहेको कुरा आफ्ना सहकर्मीहरूलाई बताएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । कुकले उनलाई कम्पनीमै राख्नको लागि ठुलो तलब प्याकेज र सम्भवतः प्रमुख प्रविधि अधिकृत (Chief Technology Officer) जस्तो ठुलो जिम्मेवारी दिने प्रयास गरिरहेको बताइएको छ ।

एआई प्रतिभाको पलायन

यस किसिमको बहिर्गमनले कम्पनीभित्र गहिरो चिन्ता पैदा गरेको छ । विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा 'ब्रेन ड्रेन' (प्रतिभा पलायन) बढेकोमा कम्पनीका कर्मचारीहरू चिन्तित छन् । मेटा प्लेटफर्म इंक, ओपनएआई र विभिन्न स्टार्टअप लगायतका प्रतिस्पर्धीहरूले एप्पलका धेरै इन्जिनियरहरूलाई लोभ्याएर लगिरहेका छन् । यो पलायनले एआईमा पकड बनाउने एप्पलको प्रयासलाई कमजोर पार्ने खतरा छ ।

जेनेरेटिभ एआईमा भएका धेरै गडबडीपछि एप्पलका एआई प्रमुख जोन गियानन्ड्रियाको बहिर्गमन भएको हो । कम्पनीको एप्पल इन्टेलिजेन्स प्लेटफर्ममा ढिलाइ हुनुका साथै पर्याप्त सुविधाहरू आउन सकेका छैनन् । सिरी (Siri) भ्वाइस असिस्टेन्टको सुधार पनि लगभग डेढ वर्ष पछि धकेलिएको छ । यसबाहेक एआई रोबोटिक्स सफ्टवेयर टिमका लिडर जियान झाङ र एआई मोडेल प्रमुख रुओमिङ पाङ लगायतका दर्जनौँ शीर्ष एआई अनुसन्धानकर्ताहरूले कम्पनी छाडेका छन् । जसमध्ये धेरै जसो फेसबुकको मातृ कम्पनी मेटामा सामेल भएका छन् ।

कर्मचारी पलायनबाट डिजाइन विभाग पनि अछुत छैन । लामो समयदेखिका डिजाइन प्रमुख एलन डाई (Alan Dye) एप्पलको कडा प्रतिद्वन्द्वीमध्ये एक मेटाको रियालिटी ल्याब्स युनिटमा प्रमुख डिजाइन अधिकारीको रूपमा आबद्ध हुँदैछन् ।

नयाँ नेतृत्व र पुनर्गठन

सङ्कटको सामना गर्न एप्पलले आक्रामक कदम चालेको छ । कम्पनीले तुरुन्तै मेटाकी प्रमुख कानुन अधिकृत जेनिफर न्युस्टेडलाई आफ्नो नयाँ जनरल कानुनी सल्लाहकारको रूपमा नियुक्त गर्ने घोषणा गरेको छ । न्युस्टेडले सन् २०२६ को मार्च १ देखि कार्यभार सम्हाल्ने छिन् र उनलाई कानुनी तथा सरकारी मामिलाको जिम्मेवारी दिइएको छ ।

एप्पलले एआईको रिक्तता भर्नका लागि गुगल र माइक्रोसफ्ट कर्पका पूर्व कर्मचारी अमर सुब्रमण्यलाई आर्टिफिसियल इन्टेलिजेन्सको उपाध्यक्षको रूपमा भर्ती गरेको छ । यसरी कम्पनीले आन्तरिक शक्ति संरचनालाई पुनर्गठन गर्दैछ । सफ्टवेयर प्रमुख क्रेग फेडेरिघी अब कम्पनीको वास्तविक एआई प्रमुख (de facto AI chief) बनेका छन् ।

६५ वर्षका टिम कुकले तत्काल कम्पनी नछाड्ने सम्भावना रहे पनि उनको उत्तराधिकारी तयार पार्ने योजना वर्षौँदेखि चलिरहेको छ । कर्मचारीहरूका बीचमा ५० वर्षीय हार्डवेयर इन्जिनियरिङ प्रमुख जोन टर्नसलाई सीईओ पदका लागि मुख्य दाबेदार मानिएको छ । एप्पलले फोल्डेबल आईफोन र रोबोट जस्ता नयाँ उत्पादन लाइनअपमा काम गरिरहेको कुकले बताए पनि कम्पनीले एक दशकदेखि कुनै पनि नयाँ सफल प्रोडक्ट-लाइन बजारमा ल्याउन सकेको छैन । यो नेतृत्व फेरबदल र प्रतिभा पलायनले एप्पललाई एआई युगमा फस्टाउनका लागि ठुलो चुनौती सिर्जना गरेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ ११:३३