close

नेपालबाटै सस्तोमा रकेट प्रक्षेपण गर्ने योजनामा ‘म्याक २४ अर्बिटल्स’, यसरी भइरहेको छ काम

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

मंसिर २२, २०८२ १८:५१

नेपालबाटै सस्तोमा रकेट प्रक्षेपण गर्ने योजनामा ‘म्याक २४ अर्बिटल्स’, यसरी भइरहेको छ काम

काठमाडौँ । कुनै समारोह वा संस्थामा आफ्नो परिचय दिने क्रममा स्पेस टेक स्टार्टअप ‘म्याक २४ अर्बिटल्स’ का संस्थापक मोहन तामाङले धेरै प्रश्नको सामना गरिरहन्छन् । तीमध्ये धेरैले उनलाई सोध्छन्, “नेपालमा पनि रकेट बनाउने कम्पनी छ र ? नेपालबाट किन रकेट लन्च गर्नुपर्‍यो ?”

तामाङले यी प्रश्नको जवाफ नेपालबाट नै सफलतापूर्वक रकेट प्रक्षेपण गरेर देखाउने सङ्कल्प गरेका छन् ।

हुन त नेपालमा रकेट वा स्याटलाइट प्रक्षेपणका काम खासै भएका छैनन् । 

नेपाल सरकारले ६ वर्ष पहिले अर्थात् सन् २०१९ मा एक केजी तौलको नानो स्याटलाइट अमेरिकाको भर्जिनिया स्थित प्रक्षेपण केन्द्र मार्फत् प्रक्षेपण गरेको थियो । पछि जनवरी २०२२ मा सानो स्याट वान प्रक्षेपण भएको थियो । तर, यसरी विदेशबाट स्याटलाइट लन्च गर्नु धेरै महँगो हुने गरेका छन् । त्यसैले नेपालमा नै ‘म्याक २४ अर्बिटल्स’ लाई स्थापित गराएर सस्तोमा स्याटलाइट लन्च गर्ने उद्देश्य उनीहरूले राखेका छन् ।  

उनी भन्छन्, “नेपालको पहिलो स्याटलाइट जस्तो १ केजीको सानो स्याटलाइटलाई ५०० किलोमिटरमाथि प्रक्षेपण गर्नका लागि अरू कम्पनीबाट गर्दा ४० हजार डलरदेखि एक लाख डलरसम्म खर्च लाग्न सक्छ । महँगो भएकै कारण नेपालले अब अर्को स्याटलाइट कहिले पठाउँछ भन्ने टुङ्गो छैन ।” म्याक २४ अर्बिटल्सले सन् २०२८ भित्र ५०० केजीसम्मका साना स्याटलाइटहरूलाई सस्तो मूल्यमा ५०० किलोमिटर माथिसम्म (अन्तरिक्षमा) पुर्‍याउने लक्ष्य राखेको उनले बताए ।

तर, उक्त उद्देश्य पूरा गर्न लामो समय लाग्ने र त्यसअघि साना किसिमका धेरै रकेट प्रक्षेपण गर्नुपर्ने उनले बताए । यसका लागि हाल कम्पनीले ‘साउन्डिङ रकेट’ (सब-अर्बिटल) बनाइरहेको छ ।

साउन्डिङ रकेट त्यस्ता रकेट हुन्, जुन अर्बिटल रकेटको तुलनामा अन्तरिक्षमा कम दुरीसम्म मात्र पुग्न सक्छन् । यसले अर्बिटल रकेटले जस्तो अन्तरिक्षमा पुगेर स्याटलाइट छाड्ने र पृथ्वीको परिक्रमा गर्ने काम गर्दैन । यो केही समय मात्र अन्तरिक्षमा रहेर पुनः पृथ्वीमा फर्कन्छ ।

अर्बिटल रकेट बनाउन र प्रक्षेपण महँगो पर्ने भएकाले पहिलो चरणमा सब-अर्बिटल प्रक्षेपण गर्न लागिएको उनले बताए । यस्ता रकेट छोटो अवधिको अनुसन्धान गर्न, स्याटलाइटका पार्टपुर्जाहरू तथा अन्य प्रयोगात्मक उपकरणहरूको परीक्षणका लागि प्रयोग गर्न सकिन्छ ।​

उनका अनुसार कम्पनीले सब अर्बिटल्स रकेटका लागि मैनबत्तीमा प्रयोग हुने प्याराफिन वाक्स, पोलियुरेथेन लगायतको इन्धन प्रयोग गरेर नेपालमा पहिलोपटक हाइब्रिड रकेट इन्जिन तयार गरेको छ । यो इन्जिनको प्रमाणित गर्ने काम लगभग पूरा भइसकेको उनले बताए । 

गत वर्षबाट सञ्चालनमा आएको यो कम्पनीले सन् २०२५ को अन्त्यसम्म साउन्डिङ रकेट प्रक्षेपणको काम पूरा गरिसक्ने योजना बनाएको थियो । तर, वित्तीय समस्यादेखि नीतिगत व्यवस्थाको अभावका कारण यो उद्देश्य पूरा गर्ने समयसीमा एक वर्ष पछाडि धकेलिएको छ ।

उनले भने, “हामीले कम्पनी सुरु गरेदेखि नै लगानीकर्ता, स्थानदेखि नीतिगत व्यवस्थामा समस्या भोगेका छौँ । नेपालमा नै पहिलो रकेट कम्पनी भएकाले यसको बारेमा सबैलाई बुझाउँदै अघि बढ्न समस्या भइरहेको छ ।”

नेपालमा स्पेस टेक्नोलोजीको महत्त्व सरकारी कर्मचारी, लगानीकर्तादेखि सर्वसाधारणसम्मलाई बुझाउनुपर्ने अवस्था आएको उनले बताए । उनले भने, “नेपालजस्तो विकासशील देशमा स्पेस टेक्नोलोजी किन आवश्यक पर्छ भनेर मानिसहरू सोधिरहेका हुन्छन् । तर, हामीलाई यसको प्रयोग कति महत्त्वपूर्ण हुन्छ भन्ने थाहा नपाएर मात्र यस्तो प्रश्न आएको हो । गुगल म्याप्स, कम्युनिकेसन, नेटवर्क, विपद् व्यवस्थापन, फरेस्ट्री, मौसम पूर्वानुमानजस्ता क्षेत्रमा यसको ठुलो प्रयोग छ । हामीले गर्ने फोन कलदेखिका काम आफ्नै स्याटलाइट हुने हो भने निकै सस्तो पर्न सक्छन् ।”

नेपालमा एरोस्पेस र मेकानिकल इन्जिनियरिङ पढेका युवाहरूले अन्तरिक्षमा काम गर्ने अवसर कम रहेको उनले सुनाए । “अमेरिकाको नासामा काम गर्न त्यहीँको नागरिक हुनुपर्छ । भारतका अन्तरिक्ष संस्थाहरूमा काम गर्न पनि भारतीय नै हुनुपर्छ । नेपालमा अन्तरिक्ष कम्पनी नहुँदा एरोस्पेस र मेकानिकल इन्जिनियरिङ पढेका साथीहरू एयरलाइन्स वा हाइड्रोपावरमा सीमित हुनुपर्ने अवस्था छ,” उनले भने । अन्तरिक्ष क्षेत्रमा काम गर्ने अवसर नेपाली युवाहरूलाई प्रदान गर्न पनि म्याक २४ अर्बिटल्सजस्ता कम्पनी आवश्यक रहेको उनको भनाइ छ ।

पहिला तोकिएको समयमा लक्ष्य पूरा नभएपछि हाल कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा ८० देखि १५० किलोमिटर माथिसम्म पुग्न सक्ने साउन्डिङ रकेट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । उक्त साउन्डिङ रकेट ८ मिटर लामो र ०.२ मिटर व्यासको हुनेछ । एक पटकमा १० केजीदेखि ४० केजीसम्मको प्रयोगात्मक सामान बोक्न सक्ने क्षमता उक्त रकेटको रहने सीईओ तामाङ बताउँछन् । यो रकेटको सफल प्रक्षेपण भएमा कम्पनीलाई भविष्यमा ५०० केजी तौलसम्मका विभिन्न स्याटलाइटहरू अन्तरिक्षमा पुर्‍याउने दिशा निर्धारण गर्न सघाउ पुग्ने उनले बताए ।

यसका लागि ठुलो लगानी लाग्ने भएकाले सरकारकै तर्फबाट सहयोग आवश्यक पर्ने कम्पनीकी सह-संस्थापक रूबिता मगर बताउँछिन् । उनले भनिन्, “सरकारमा यसको आवश्यकता बुझ्न सक्ने जनप्रतिनिधि हुँदा सहज हुन्छ । यसअघि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग हामीले रकेट प्रक्षेपणका लागि लगानीका कुरा गरेका थियौँ । उहाँ निकै सकारात्मक हुनुहुन्थ्यो र प्रक्रिया पनि अघि बढाएका थियौँ । तर, मन्त्री फेरिएपछि काम बीचमै रोकियो ।” हाल मन्त्री पदमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन रहेकाले सरकारबाट सहयोग पाउने आशा राखिएको र छलफलको तयारी भइरहेको उनले सुनाइन् । 

कम्पनीले १०० किमिमाथि उड्ने साउन्डिङ रकेटभन्दा पहिला जमिनबाट २ किमि माथिसम्म साउन्डिङ रकेट प्रक्षेपणको योजना बनाएको छ । उक्त प्रक्षेपण एक-दुई महिनाभित्र नै पूरा गरिने उनले बताइन् । हाल उक्त प्रक्षेपणका लागि उचित स्थानको खोजी भइरहेको छ ।

नेपालको पहिलो रकेट प्रक्षेपणदेखि रकेट कम्पनीसम्म

म्याक २४ अर्बिटल्स सञ्चालनमा आएको छोटो समय भए पनि सीईओ तामाङले रकेट र स्पेसका बारेमा काम गर्न थालेको भने दशक बितेको छ । नेपालमा रकेट कम्पनीलाई स्थापित बनाएरै छाड्ने सपनाका पछाडि मोहनको विद्यार्थी उमेरमा भएको जापान भ्रमण जोडिएको छ । सन् २०१४ मा कक्षा १० मा पढ्दै गर्दा तामाङ नेपाली टोलीको प्रतिनिधित्व गर्दै जापानमा रकेट प्रक्षेपण अवलोकनका लागि पुगेका थिए ।

त्यहाँ उनले खनिज पदार्थका बारेमा अनुसन्धानका लागि ‘हायाबुसा २’ यान एस्ट्रोइडतर्फ प्रक्षेपण भएको देखे । आफ्नै आँखा अगाडि रकेट लन्च भएको देखिरहँदा मोहनलाई आफ्नै देशमा कहिले स्पेस टेक्नोलोजी होला भन्ने प्रश्नले सताउन थाल्यो । उनी भन्छन्, “पहिला त किताबमा मात्र रकेट उडेको देखेको थिएँ । तर त्यहाँ वास्तवमा देखेपछि हामी अरू देशभन्दा कति पछाडि छौँ भन्ने महसुस भयो ।”

नेपाल फर्किएपछि उनले अन्तरिक्ष र रकेटका बारेमा स्वाध्ययन अघि बढाए । सन् २०२१ मा उनी स्नातक तहमा अध्ययनरत थिए । सोही बेला उनले रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप २०२१’ मा सहभागिताका लागि रकेट बनाउने नेपाली विद्यार्थी टोलीको नेतृत्व गर्ने मौका पाए । उक्त टोलीले लन्च गरेको ‘गरुडा रकेट’ नेपालको पहिलो प्रक्षेपण गरिएको रकेट समेत हो ।

यो रकेट काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका विद्यार्थीहरूले तयार पारेका थिए । काठमाडौँ विश्वविद्यालयले रकेट तयार पार्नका लागि आवश्यक स्थान र प्रविधि उपलब्ध गराउन सहयोग गरेको थियो । त्यसपछि राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा धनुषामा गरुडाको पहिलो पटक परीक्षण गरियो । पहिलो परीक्षणमा गरुडा १० सेकेन्ड आकाशमा उडेर क्र्यास भएको थियो ।

उक्त प्रतियोगितापछि यो विद्यार्थी टोलीले करिब तीन वर्षसम्म राष्ट्रिय आविष्कार केन्द्रमा रहेर विभिन्न परियोजनामा काम गर्‍यो । यस क्रममा १५ भन्दा बढी साउन्डिङ रकेटहरू १० किलोमिटर उचाइसम्म प्रक्षेपण गरिएको उनले सुनाए । 

निजी कम्पनी खोलेपछि नास्टसँग सहकार्य

राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यपछि मे २०२४ बाट भने उनीहरूले रकेट स्पेस कम्पनीको रूपमा ‘म्याक २४ अर्बिटल्स’ दर्ता गरे ।

कम्पनीको संस्थापक मोहन तामाङ रहेको म्याक २४ अर्बिटल्समा रूबिता मगरसहित सुनिल विष्ट र हिमालयन अधिकारी फाउन्डिङ मेम्बर छन् । हाल कम्पनीमा कर्मचारी र इन्टर्न गरेर १० जना कार्यरत छन् ।

कम्पनी सुरु गर्ने बेलामा पर्याप्त लगानी नभएकाले कार्यालय सञ्चालन गर्ने स्थानको समस्या भएको सह-संस्थापक रूबिताले सुनाइन् । उनीहरूले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पत्र लेखेर सहयोगका लागि अनुरोध गरे । उनी भन्छिन्, “उहाँहरू हाम्रो कम्पनीलाई लिएर सकारात्मक हुनुभयो । नास्टमा नै कार्यालय राख्न अनुमति दिने र ल्याब प्रयोग समेत गर्न दिने गरी सम्झौता पत्रमा हस्ताक्षर भयो ।”

त्यसपछि नास्टको मुख्य भवनमा नै अफिस राख्न र ल्याबहरू प्रयोग गर्न पाएको उनले सुनाइन् । तर, विभिन्न परीक्षण गर्ने क्रममा ठुलो आवाज आएर नास्टका कर्मचारीहरूलाई बाधा पुग्न थाल्यो । त्यसपछि अन्य कर्मचारीलाई सहज होस् भनेर मुख्य भवनबाट पर छुट्टै सानो भवनबाट उनीहरूले कम्पनी सञ्चालनमा ल्याएका छन् ।

सम्झौताअनुसार कम्पनीले आफ्नो प्रगतिका बारेमा समय-समयमा नास्टलाई रिपोर्ट बुझाउने गरेको छ । प्रगति रिपोर्टअनुसार सम्झौता पत्र नवीकरण गरेर नास्टले कार्यालय सञ्चालनका लागि अवधि थप्दै गएको उनले बताइन् । तर प्रोजेक्ट परीक्षणका लागि उचित स्थानको समस्या भने खट्किएको छ ।

उनले ललितपुरको खुमलटारमा रहेको नास्ट कार्यालयमा हाइब्रिड इन्जिन परीक्षण गर्दा प्रहरी नै आइपुगेको घटना सुनाउँदै भनिन्, “केही समयपहिला हामीले नास्टकै खाली भागमा परीक्षण गरिरहेका थियौँ । यसले धेरै ठुलो आवाज निकाल्छ । यहाँका स्थानीय जनप्रतिनिधि प्रहरी नै लिएर के भएको रहेछ भनी हेर्न आइपुग्नुभयो । हामीले रकेटका पार्टपुर्जा परीक्षण भइरहेको जानकारी गराएर फिर्ता पठायौँ ।”

हालसम्म कम्पनीले साउन्डिङ रकेटका इन्जिनहरू जमिनमा मात्रै परीक्षण गरेको र आकाशमा उड्न कत्तिको सम्भव हुन्छ भनेर परीक्षण गर्न बाँकी रहेको उनले सुनाइन् । त्यसैले यसको प्राविधिक पक्षको जाँच गर्न २ किलोमिटरमाथि उड्ने गरी साउन्डिङ रकेट उडाउन तयारी भइरहेको उनको भनाइ छ । उक्त रकेट प्रक्षेपणबाट लगानीकर्तालाई आकर्षित गर्न पनि थप सहज हुने उनीहरूको अपेक्षा छ ।

पछिल्लो समय कम्पनीले लगानीकर्ता खोजिरहेको समयमा ‘शार्क ट्याङ्क’ र स्टार्टअप कर्जाले पनि लगानीका लागि आशावादी बनाएको मोहन बताउँछन् । तर स्टार्टअप कर्जाको अधिकतम सीमा निकै कम भएको उनको टिप्पणी छ ।

उनले भने, “स्टार्टअप कम्पनीमा अधिकतम सीमा २० लाख छ । हाम्रो जस्तो ‘डिप टेक’ स्टार्टअपलाई धेरै लगानी चाहिन्छ । एउटा कार्बन फाइबरको ट्याङ्क विदेशबाट ल्याउन नै पाँचदेखि १० लाख पर्छ । २० लाखले त एउटा प्रोजेक्टको लागि अलि-अलि सामान किन्दै सकिन्छ । त्यति लगानीले के-के गर्नु ?”

हालसम्म आफूहरू लगानीका लागि धेरै लगानीकर्ताकहाँ पुगे पनि नेपालमा पहिलो पटक स्पेस टेक कम्पनी खुलेको भन्दै लगानी गर्न डराएको उनले सुनाए । उनले भने, “सरकारी वा निजी तहबाट (लिडिङ) लगानी भयो भने हामी पनि लगानी गर्न तयार छौँ भन्नेहरू धेरै छन् ।”

अन्तर्राष्ट्रिय लगानीकर्ताले भने कम्पनीको बारेमा चासो देखाए पनि नेपालमा आधारित कम्पनी भएकाले लगानी गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । उनले भने, “भारतमा भएको ‘स्टार्टअप महाकुम्भ’ मा पनि हामीले हाम्रो रकेट देखाएका थियौँ । त्यहाँ नेपाली कम्पनी भएकाले लगानी गर्न चासो देखाएनन् । भारतमा कम्पनी सारेमा लगानी गर्न तयार भएको बताएका छन् ।” हालै उनीहरू अस्ट्रेलियाको सिड्नीमा इन्टरनेसनल एस्ट्रोनटिङकल फेडेरेसन (आईएएफ) द्वारा ‘इमर्जिङ स्पेस लिडर २०२५’ अवार्डद्वारा सम्मानित भएका थिए ।

तर नेपालमा नै स्याटलाइट र रकेटमा काम गर्ने उद्देश्यले सुरु भएकाले यहीँ भविष्य खोज्ने उनीहरूको योजना छ । उनीहरू भन्छन्, “हामी साउन्डिङ रकेट लन्च त यहीँबाट गर्छौँ । कतैबाट लगानी पाइएन भने ‘क्राउड फन्डिङ’ बाट लगानी जुटाएर भए पनि एक वर्षभित्र लन्च गर्छौँ । तर, त्यो पछि ५०० केजीका स्याटलाइटहरू लन्च गर्न चाहँदा नीतिगत र वित्तीय समस्या यस्तै रह्यो भने बाध्यतावश अरु देश पलायन हुनुपर्ने अवस्था पनि आउन सक्छ ।”

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १२:४५