भारतमा बेटिङ र फेन्टासी प्लेटफर्म प्रतिबन्धपछि जिओस्टार घाटामा, टी-२० विश्वकप अघि बाहिरिने आशय
मंसिर २४, २०८२ १५:५०
काठमाडौँ । रिलायन्स इन्डस्ट्रिजको स्वामित्वमा रहेको जिओस्टारले आईसीसी टी-२० क्रिकेट विश्वकप प्रतियोगिताको मिडिया अधिकार सम्झौताबाट बाहिरिने मनसाय व्यक्त गरेको छ । विश्वकप सुरु हुनुभन्दा दुई महिना अगाडि कम्पनीले बाहिरिने आशय व्यक्त गरेपछि आईसीसी समस्यामा परेको हो ।
भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित रिपोर्टका अनुसार जिओस्टारले ठुलो आर्थिक नोक्सानीको कारण देखाउँदै यस्तो कदम चालेको बुझिएको छ । जबकी चार वर्षको सम्झौतामा अझै दुई वर्ष बाँकी छ । सन् २०२६ को टी-२० विश्वकप भारत र श्रीलङ्कामा हुने तालिका छ ।
जिओस्टारले २०२४-२५ मा आफ्नो घाटा २ खर्ब ५७ अर्ब ६० करोड भारु पुर्याएको छ । जुन अघिल्लो वर्ष १ खर्ब २३ अर्ब १९ करोड भारतीय रुपैयाँ रहेको थियो । जिओस्टारको औपचारिक सूचनापछि आईसीसीले २०२६-२९ का लागि भारतमा मिडिया अधिकारको बिक्री पुनः सुरु गरेको छ ।
यसका लागि आईसीसीले २.४ अर्ब डलर खोजिरहेको छ । आईसीसीको २०२४-२७ अधिकारको मूल्य ३ अर्ब डलर रहेको थियो । जसमा प्रत्येक वर्ष कम्तीमा एउटा पुरुष प्रतियोगिता समावेश गरिएको थियो ।
जिओस्टारले सम्झौताबाट बाहिरिने सङ्केत दिएपछि आईसीसीले सोनी पिक्चर्स नेटवर्क्स इन्डिया, नेटफ्लिक्स र अमेजन प्राइम भिडिओलाई अधिकार लिने बारे सम्पर्क गरेको छ इकोनोमिक टाइम्सले जनाएको छ । उच्च मूल्यका कारण यी कुनै पनि प्लेटफर्मले खासै रुचि नदेखाएको उल्लेख छ । जसले गर्दा काउन्सिल चुनौतीपूर्ण स्थितिमा पुगेको हो ।
सोनी पिक्चर्स भारतको एक प्रमुख प्रसारक भए पनि उसले आईसीसीको मूल्य अझै धेरै उच्च रहेको बताएको छ । नेटफ्लिक्स अहिले पनि खेलकुद तथा मनोरञ्जनका विषयवस्तु परीक्षण गर्ने प्रारम्भिक चरणमा छ । क्रिकेटबाट टाढा रहेको यो प्लेटफर्मको हाल डब्ल्यूडब्ल्यूईसँग मात्र सम्झौता रहेको छ ।
रियल–मनी गेमिङमा भारत सरकारले लगाएको प्रतिबन्धपछि जिओस्टार आर्थिक कठिनाइमा धकेलिएको बताइएको छ । जुन क्रिकेटमा सबैभन्दा ठुलो विज्ञापनदाता रहेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार ड्रिम११ र माई ११ सर्कल जस्ता रियल–मनी गेमिङ र फेन्टासी प्लेटफर्महरू बाहिरिँदा लगभग ८४० मिलियन डलर (७० अर्ब भारु) को आम्दानी खुम्चिएको छ ।
आईसीसीले नयाँ प्रसारक फेला पार्न नसके पनि जिओस्टार २०२७ सम्म बाँकी सम्झौता पूरा गर्न बाध्य हुनेछ । भारतले आईसीसीको आम्दानीको लगभग ८०% हिस्सा ओगट्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ ८:५६
