टेलिनेट बन्यो सेल्सफोर्स सफ्टवेयरको नेपाल साझेदार, अब व्यवसायहरूको डिजिटल रूपान्तरणमा सघाउने
मंसिर २९, २०८२ १७:३८
काठमाडौँ । नेपाली कम्पनी रमेश कर्पअन्तर्गतको टेलिनेट प्रालिले विश्वकै अग्रणी कस्टमर रिलेसनशिप म्यानेजमेन्ट (सीआरएम) सेल्सफोर्सको स्थानीय साझेदार बनेको छ । नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने उद्देश्यका साथ टेलिनेट सेल्सफोर्ससँग आबद्ध भएको हो ।
यस साझेदारीले नेपाली व्यवसाय सञ्चालनको तरिकालाई आधुनिक बनाउँदै विश्व स्तरीय डिजिटल सोलुसन तथा विशेषज्ञताका लागि लोकल सपोर्ट उपलब्ध गराउने छ । यससँगै अब नेपाली व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई प्रभावकारी बनाउन सक्नेछन् ।
टेलिनेट प्रालि स्थानीय कार्यान्वयन तथा सपोर्ट पार्टनरको रूपमा रहने बताइएको छ । यस साझेदारीको माध्यमबाट नेपालका कम्पनीहरूले सेल्सफोर्सका सबै प्रमुख टुलहरू सजिलै अपनाउन सक्नेछन् । टेलिनेटले नेपालमै सेल्सफोर्सको सपोर्ट र इम्प्लिमेन्टेसन पार्टनरको रूपमा काम गर्नेछ । जसले व्यवसायहरूलाई एजेन्टफोर्स सेल्स (Agentforce Sales), स्ल्याक (Slack) र टेब्लु (Tableau) जस्ता सेवाहरू उपयोग गर्न थप सजिलो बनाउनेछ ।
एजेन्टफोर्स सेल्सले बिक्री टिमको काम सजिलो बनाउँछ । टिमले सबै ग्राहक जानकारी र अवसरहरू एकै ठाउँमा हेर्न सक्छन । जसले छिटो निर्णय लिन मद्दत गर्छ । दोहोरिने काम कम हुन्छ, ग्राहकलाई छिटो जवाफ दिन सकिन्छ र एआईले सही सुझाव दिएर व्यवसायलाई छिटो वृद्धि हासल गर्न मद्दत गर्छ ।
त्यस्तै स्ल्याकले छुट्टाछुट्टै रहेका टिमहरूलाई रियल–टाइममा जोडेर सहकार्य बढाउने, कार्यप्रवाह स्वचालित गर्ने र संस्थाभित्रका अवरोध हटाउने काम गर्छ । यसले टिमका सबै सदस्यलाई तुरुन्तै जोड्छ । चाहे कोही अफिसमा होस् वा बाहिर, सबैले मेसेज, फाइल र मिटिङ एउटै ठाउँमा व्यवस्थापन गर्न सक्छन् । यसले डिपार्टमेन्टहरूबिचको दूरी हटाउँछ, काम सजिलो बनाउँछ र सबैलाई एउटै जानकारीमा एकसाथ काम गर्न सहयोग गर्छ ।
यस्तै डेटामा आधारित टेब्लुले जटिल डेटालाई पनि धेरै सजिलो हिसाबले चार्ट, ग्राफ र ड्याशबोर्डको रूपमा देखाउँछ । यसले व्यवसायलाई कहाँ राम्रो भइरहेको छ, कहाँ सुधार गर्नु पर्नेछ र ग्राहकको ट्रेन्ड कस्तो छ भन्ने तुरुन्तै बुझ्न मद्दत गर्छ । यसरी कम्पनीहरूले अनुमानको साटो स्पष्ट डेटाको आधारमा निर्णय लिन सक्छन् ।
सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा कम्पनीको उपस्थिति विस्तार गर्न पाएकोमा उत्साह व्यक्त गरेका छन् । "एजेण्टिक एआई क्रान्तिकाबिच नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका छन् र हामी यस रूपान्तरणलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न मद्दत गर्न प्रतिबद्ध छौँ,” उनले भनेका छन् ।
टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूदले बर्षौँदेखि विश्व स्तरीय डिजिटल टुलहरूको प्रभावकारी प्रयोग नेपाली व्यवसायका लागि चुनौतीपूर्ण रहेको बताए । "अब यो चुनौती अन्त्य हुँदैछ । टेलिनेट अब नेपालमा सेल्सफोर्सको अग्र मोर्चा हो," उनले भने, "विशेषज्ञ स्थानीय परामर्श, समर्पित प्रशिक्षण र पूर्ण रूपमा कस्टमायज सोलुसन उपलब्ध गराउँदै एआईमा आधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी नेपाली व्यवसायहरूको चुनौती समाधान र ठुलो मात्रामा वृद्धिका लागि आवश्यक सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ ।”
सेल्सफोर्स र टेलिनेटले प्रारम्भिक चरणमा प्रमुख आर्थिक क्षेत्रमा लक्षित परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्दै द्रुत, प्रभावकारी अपनत्व र मापनयोग्य व्यfवसायिक परिणाम सुनिश्चित गर्ने बताइएको छ ।
टेलिनेटले सन् २००९ देखि नेपालमा प्रविधि तथा सञ्चार सेवा प्रदायकको रूपमा काम गर्दै आएको छ । १६ वर्षको अनुभवी यात्रा सहित टेलिनेटले च्याटबट तथा कल सेन्टर अटोमेसन तथा टेलिकम अपरेटरहरूका लागि एम-हेल्थ, गेमिङ, ओटीटी इङ्गेजमेन्ट जस्ता भ्यालु-एडेड सेवामार्फत सघाउँदै आएको छ ।
ह्वावे तथा अलिबाबा क्लाउडको स्थानीय क्लाउड साझेदारको रूपमासमेत टेलिनेटले लोकल क्लाउड माइग्रेसन, सोलुसन तथा आर्किटेक्चर डिजाइन, लोकल सपोर्ट तथा बिलिङ र फ्लेक्जिबल क्लाउड डिप्लोयमेन्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले वेब तथा मोबाइल एप डेभलपमेन्ट तथा कस्टमाइज डिजिटल सोलुसन विकासमा पनि दक्षता राख्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १७:३८
