close

क्यापकटमा अक्षर बिग्रिएर हैरान हुनुहुन्छ ? चलाउनुहोस् २६ नेपाली फन्ट भएको ‘एडिट्स’

टेकपाना टेकपाना

पुस २, २०८२ १९:२६

क्यापकटमा अक्षर बिग्रिएर हैरान हुनुहुन्छ ?  चलाउनुहोस् २६ नेपाली फन्ट भएको ‘एडिट्स’

काठमाडौँ । डेटा सुरक्षा र गोपनीयताको कारण देखाउँदै भारत सरकारले सन् २०२० को जुन महिनामा टिकटकसहित ५८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष प्रभाव नेपाली कन्टेन्ट क्रियटरमा पनि परेको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडिओ एडिटिङ एप ‘क्यापकट’ पनि सोही प्रतिबन्धमा परेको थियो । 

२० करोडभन्दा बढी प्रयोगकर्ता रहेको भारतीय बजार गुमेपछि बाइटडान्सले उक्त बजारलाई प्राथमिकतामा राख्न छोड्यो । यसको सिधा असर देवनागरी लिपिको प्रयोगमा देखियो । टिकटक र क्यापकटले भारतीय बजारमा प्रतिबन्ध ब्यहोरेपछि देवनागरी फन्ट सुधारमा चासो नदिँदा नेपाली प्रयोगकर्ताहरू लामो समयदेखि समस्या झेल्दै आएका थिए । भिडिओमा देवनागरी शब्द प्रयोग गर्न चाहने क्रियटरलाई सकस भएको थियो । 

डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकाको राष्ट्रपति पद सम्हाले लगतै टिकटक सहित योसँग जोडिएको क्यापकटमा पनि प्रतिबन्ध लाग्यो । यसैको फाइदा उठाउँदै फेसबुकको माउ कम्पनी मेटाले आफ्नो नयाँ भिडिओ एडिटिङ एप ‘एडिट्स’ बजारमा ल्यायो । विशेषगरी भारत र नेपाल जस्ता देवनागरी लिपि प्रयोग हुने मुलुकका लागि मेटाको यो नयाँ एप निकै प्रभावकारी देखिएको छ । बाइटडान्सले गुमाएको बजार र फन्ट समस्यालाई मेटाले अवसरका रूपमा लिएको देखिन्छ ।

एडिट्समा देवनागरी शब्द राख्दा यस्तो देखिन्छ

सुरुवाती चरणमा कन्टेन्ट क्रिएसनका लागि महँगा ग्याजेटको विकल्पका रूपमा क्यापकट निकै लोकप्रिय बनेको थियो । वाटरमार्क हटाउने सुविधा, इफेक्ट, ट्रान्जिसन र साउन्ड इफेक्टका कारण धेरैको रोजाइमा परेको यो एप पछिल्लो समय विज्ञापन र सशुल्क (प्रिमियम) भर्सनका कारण झन्झटिलो बन्दै गएको छ । अझ नेपाली प्रयोगकर्ताका लागि सबैभन्दा ठुलो समस्या फन्टमा रहेको छ । 

क्यापकटपमा देवनागरी शब्द लेख्दा यस्तो देखिन्छ

क्यापकटको मोबाइल एपले देवनागरी फन्ट राम्रोसँग सपोर्ट गर्दैन भने डेस्कटप भर्सनमा पनि यन्त्रमानव र पपिन्स बाहेक अन्य फन्टमा समस्या देखिने गरेको छ । प्रयोगकर्ताले फन्ट डाउनलोड गरेर राख्दा पनि अक्षर बिग्रिने समस्या यथावत् छ ।

यही समस्यालाई समाधान गर्दै मेटाले ल्याएको ‘एडिट्स’ एपमा हाल २६ ओटा देवनागरी फन्टहरू उपलब्ध गराइएको छ । यसमा नेपाली वा देवनागरीमा लेखिएका टेक्स्ट नबिग्रिने र डिफल्ट फन्ट नै आकर्षक देखिने भएकाले फन्टलाई प्राथमिकता दिने नेपाली क्रियटरका लागि यो एप क्यापकटभन्दा निकै उपयुक्त विकल्प बनेको छ । 

भारत लगायत टिकटकमाथि प्रतिबन्ध लागेका देशका प्रयोगकर्तालाई केन्द्रित गर्दै मेटाले यो एपलाई विश्व बजारमा आक्रामक रूपमा विस्तार गरिरहेको छ । यतिसम्म कि एडिट्सबाट सम्पादन गरेका भिडिओलाई बढी रिच दिने गरेको खुलासा इन्स्टाग्रामका प्रमुखले नै गरेका थिए । मेटाले आफ्नो प्रत्यक्ष प्रतिद्वन्द्वी टिकटकलाई चुनौती दिन एडिट्सलाई हाल विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराएको छ ।

क्यापकट र एडिट्सको तुलना गर्दा मेटाको एप धेरै पक्षमा प्रयोगकर्तामैत्री देखिएको छ । टिकटकमा मात्र केन्द्रित हुनेका लागि क्यापकटका टेम्प्लेट उपयोगी भए पनि त्यसमा वाटरमार्क र विज्ञापनको समस्या छ । धेरैजसो राम्रा ट्रान्जिसन र इफेक्टहरू प्रयोग गर्न पैसा तिर्नुपर्ने बाध्यता क्यापकटमा छ । तर, मेटाको एडिट्समा क्यापकटको जस्तै यूआई, इफेक्ट र ट्रान्जिसनहरू हालसम्म निःशुल्क उपलब्ध छन् । यसमा भएको विशेष ‘प्लस’ आइकन फिचरमार्फत प्रयोगकर्ताले अरूको भिडिओ हेर्दा आएको आइडिया टिपेर राख्न र पछि त्यसैमा कन्टेन्ट बनाउन सक्ने सुविधा पनि छ ।

त्यस्तै कपिराइट र म्युजिकको सन्दर्भमा पनि एडिट्स सुरक्षित मानिएको छ । क्यापकटमा प्रयोग गरिएका टिकटकका म्युजिक फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्दा कपिराइट लाग्ने उच्च सम्भावना हुन्छ । तर, मेटाको आफ्नै इकोसिस्टमभित्रको एप भएकाले एडिट्समा उपलब्ध म्युजिक, साउन्ड इफेक्ट, मिम र कमेडी अडियो फेसबुक र इन्स्टाग्राम रिल्सका लागि सुरक्षित छन् । ब्याकग्राउन्ड हटाउने सुविधा, भ्वाइस ओभर र टेक्स्ट एनिमेसनजस्ता फिचरहरू पनि यसमा सहज रूपमा उपलब्ध छन् ।

यहाँ एडिट गरिएका भिडिओ सिधै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सकिने वा डिभाइसमा सेभ गर्न सकिने सुविधाले यसलाई थप लोकप्रिय बनाएको छ । क्यापकटको प्रिमियम भर्सन प्रयोग गर्दा पनि टेलिप्रम्प्टरको सुविधामा सीमितता छ । यसमा एक पटकमा ३००० क्यारेक्टर र तीन मिनेटको समयसीमा तोकिएको छ । तर, एडिट्सले यस्तो कुनै सीमा राखेको छैन । टेलिप्रम्प्टर प्रयोग गर्न चाहने प्रयोगकर्ताका लागि एडिट्स नै भरपर्दो विकल्प हो । 

बाइटडान्सले भारतीय बजार गुमाउँदा देवनागरी फन्टमा गरेको बेवास्ताले नेपाली प्रयोगकर्तालाई निराश बनाएको थियो । तर, मेटाले सोही कमजोरीलाई लक्षित गर्दै २६ ओटा देवनागरी फन्ट सहितको ‘एडिट्स’ एप ल्याएपछि नेपाली कन्टेन्ट क्रियटरलाई भिडिओ एडिटिङमा ठुलो राहत मिलेको छ । यी फन्ट पनि कम्पनीले विस्तार गर्दै गएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस २, २०८२ १९:४३