इन्टरनेटमा मानिसभन्दा बढी एआई एजेन्ट सक्रिय: १ वर्षमै ८०००% वृद्धि, बदलिँदै वेबको बिजनेस मोडेल
साउन ११, २०८३ १४:५६
- मिया ओस्मोनबेकोभ
‘डेड इन्टरनेट थ्योरी’ सन् २०१० को दशकदेखि नै विभिन्न इन्टरनेट फोरमहरूमा चर्चामा रहँदै आएको थियो । इन्टरनेटमा मानिसभन्दा गैर-मानवीय गतिविधिको प्रभुत्व रहेको भन्ने यो अवधारणालाई लामो समयसम्म अतिरञ्जित षड्यन्त्र सिद्धान्त (Conspiracy Theory) का रूपमा खारेज गरिन्थ्यो । तर अहिले यो मापन गर्न सकिने वास्तविक तथ्यमा परिणत भएको छ ।
धेरै साइबर सुरक्षा कम्पनीहरूले अहिले इन्टरनेटमा मानिसभन्दा बट (स्वचालित प्रोग्राम) हरूको सङ्ख्या बढी रहेको स्वीकार गरेका छन् । तर यस्तो अवस्था ठ्याक्कै कहिलेबाट सुरु भयो वा यसलाई कुन मापदण्डका आधारमा मापन गर्ने भन्ने विषयमा भने उनीहरू स्वयं स्पष्ट निष्कर्षमा पुग्न सकेका छैनन् ।
विश्वभरका लाखौं वेबसाइटले प्रयोग गर्ने इन्टरनेट सुरक्षा तथा कार्यसम्पादन सेवा प्रदायक कम्पनी ‘क्लाउडफ्लेयर’ का अनुसार यो परिवर्तन गत जुन महिनामा आएको हो, जहाँ वेबपेजमा आउने कुल अनुरोध (वेबपेज रिक्वेस्ट) मध्ये ५७.५ प्रतिशत बोटहरूबाट उत्पन्न भएका थिए ।
यस्तै, संस्था तथा सरकारहरूको डेटा सुरक्षा गर्ने फ्रान्सेली प्रविधि कम्पनी ‘थेल्स’ ले भने यो परिवर्तन सन् २०२३ मै भएको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको ‘ब्याड बट रिपोर्ट’ अनुसार सन् २०२६ मा इन्टरनेट ट्राफिकको ५३ प्रतिशत हिस्सा बटहरूबाट आएको छ ।
तथ्याङ्कमा देखिएको यो भिन्नताले बट ट्राफिक मापन गर्ने कुनै एउटै मानक विधि नरहेको देखाउँछ । किनभने सम्पूर्ण इन्टरनेटमा हुने गतिविधिको पहुँच कुनै एक सेवा प्रदायकसँग नहुने पिचबुकका इन्टरप्राइज तथा रिटेल फिनटेक विश्लेषक रुडी याङ बताउँछन् । “यसबारे अझै धेरै जानकारी अपूर्ण छन् । तर अहिलेसम्म प्राप्त अधिकांश तथ्याङ्कले एउटै कुरा सङ्केत गर्छन्, त्यो हो इन्टरनेटमा बटहरूको गतिविधि बढिरहेको छ”, याङले बताएका छन् ।
याङका अनुसार अहिले वेब ब्राउजरमा देखिने गतिविधिको ठुलो हिस्सा एजेन्टिक एआई (आफैं निर्णय गरेर काम गर्ने एआई प्रणाली) द्वारा सञ्चालित भइरहेको छ ।
जहाँसुकै हेरे पनि एआई एजेन्टहरूको गतिविधि तीव्र रूपमा बढिरहेको देखिन्छ । साइबर सुरक्षा कम्पनी ‘ह्युमन सेक्युरिटी’ ले सार्वजनिक गरेको ‘२०२६ स्टेट अफ एआई ट्राफिक एन्ड साइबरथ्रेट बेन्चमार्क रिपोर्ट’ अनुसार वेबमा लिंक क्लिक गर्ने, फारम भर्ने जस्ता काम आफैं गर्ने एआई एजेन्टहरूबाट उत्पन्न ट्राफिक एक वर्षमै करिब ७,८५१ प्रतिशतले बढेको छ ।
तुलनात्मक रूपमा, वेबसाइटबाट डेटा सङ्कलन गर्ने स्क्रेपर ट्राफिक सोही अवधिमा ५९७ प्रतिशतले बढेको छ । अर्कोतर्फ, एआई मोडेललाई प्रशिक्षण दिन वेबसाइट स्क्यान गर्ने एआई ट्रेनिङ क्रलरहरूले अझै पनि एआई आधारित ट्राफिकको ६७.५ प्रतिशत हिस्सा ओगटेका छन् । तर समग्र एआई ट्राफिकमा उनीहरूको अनुपात भने क्रमशः घट्दै गएको प्रतिवेदनले देखाएको छ ।
यो परिवर्तनले बटहरूको गतिविधि नियालिरहेका विज्ञहरूलाई समेत अचम्ममा पारेको छ । क्लाउडफ्लेयरका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु प्रिन्सले गत मार्चमा बटहरूले इन्टरनेट ट्राफिकको ५० प्रतिशत हिस्सा सन् २०२७ को अन्त्यतिर मात्र पार गर्ने अनुमान गरेका थिए । तर वास्तविकता भने फरक रह्यो । बट ट्राफिकले एक वर्षभन्दा अगावै मानिसबाट उत्पन्न हुने ट्राफिकलाई उछिन्दै बहुमत हासिल गर्यो ।
“कम्पनीहरू र डेभलपरहरूका लागि अब एआई एजेन्टबाट आउने ट्राफिकलाई ध्यानमा राखेर सेवा तथा प्रणाली निर्माण गर्नु विकल्प होइन, अनिवार्य आवश्यकता बनिसक्यो”, याङले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।
इन्टरनेटको बिजनेस माेडेलमा परिवर्तन
इन्टरनेटको व्यावसायिक मोडेल - जस्तै विज्ञापनबाट हुने आम्दानी (एड इम्प्रेसन), ग्राहकलाई खरिदसम्म पुर्याउने कन्भर्जन फनेल वा पेजभ्युमा आधारित विश्लेषण - सबैको आधार वेबसाइटमा आउने आगन्तुक मानिस नै हुन्छ भन्ने मान्यता थियो । तर अहिले अधिकांश आगन्तुक एआई एजेन्ट वा बट नै हुन थालेका कारण यो आधारभूत मान्यता नै उल्टिएको छ । यसले कम्पनीहरूले वेब ट्राफिकबाट कसरी आम्दानी गर्ने भन्ने मोडेललाई समेत पुनःपरिभाषित गरिरहेको छ ।
यही एजेन्टिक एआईलाई स्वायत्त रूपमा काम गर्न सक्षम बनाउने प्रविधिले गत साता ओपनएआईको एउटा एआई एजेन्टले नियन्त्रणको सीमाभन्दा बाहिर गएर काम गरेको घटनालाई पनि सम्भव बनाएको थियो । यसको अर्थ, एआई एजेन्ट ट्राफिकमा आएको तीव्र वृद्धि केवल देखिने सङ्केत मात्र हो । वास्तविक परिवर्तन भने यस्तो दिशामा भइरहेको छ, जसलाई व्यवसायहरूले अझै पूर्ण रूपमा मापन गर्न वा नियन्त्रण गर्न सकेका छैनन् ।
एआई एजेन्टहरूले इन्टरनेट प्रयोग गर्ने तरिका मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुने बताउँदै याङ भन्छन्, “यो मानौं पूरै नयाँ प्रकारको ग्राहक वर्ग (कस्टमर सेग्मेन्ट) नै सिर्जना भएको जस्तै हो ।”
उनका अनुसार यो परिवर्तन व्यवसायहरूका लागि निकै महत्वपूर्ण छ । “कुनै पनि व्यावसायीले यति ठुलो नयाँ ग्राहक वर्गलाई आफ्ना सेवा वा उत्पादनबाट वञ्चित गर्न चाहँदैन । त्यसैले अब कम्पनीहरूले एआई एजेन्टलाई पनि सेवा दिन सक्ने गरी आफ्ना वेबसाइट र डिजिटल सेवा तयार गर्नुपर्ने अवस्था आएको छ ।”
‘मेसिन अर्थतन्त्र’ का लागि रणनीतिमा परिवर्तन र एआई एजेन्टका सीमाहरू
कम्पनीहरूले यो परिवर्तनलाई महसुस गर्न थालेका छन् र डेभलपरहरूले पनि यही नयाँ वास्तविकतालाई ध्यानमा राख्दै आफ्ना वेबसाइट, सेवा र सफ्टवेयरलाई अनुकूल बनाउने काम सुरु गरिसकेका छन् । यो परिवर्तनको प्रभाव व्यावसायिक सेवाहरूमा पनि देखिन थालेको छ ।
फिनटेक कम्पनी स्ट्राइपका अनुसार कम्पनीको एपीआईमार्फत डेटा पहुँच गर्न पठाइने कुल आदेशमध्ये ७० प्रतिशत अहिले एआई एजेन्टहरूबाट पठाउने गरिएको छ ।
त्यस्तै, एपीआई ब्रोकर कम्पनी अल्पाकाले सन् २०२५ को चौथो त्रैमासिकमा एकल अङ्कमा रहेको मासिक एपीआई कल सन् २०२६ को पहिलो त्रैमासिकमा ३० प्रतिशत पुगेको जनाएको छ । यसको मुख्य कारण एआई एजेन्टहरू नै हुन् ।
यस परिवर्तनलाई ध्यानमा राख्दै अहिले करिब २५ प्रतिशत डेभलपरहरूले आफ्ना एपीआईहरू मानिसभन्दा पनि एआई एजेन्टलाई मुख्य प्रयोगकर्ता मानेर डिजाइन गर्न थालेका छन् । यद्यपि, आधाभन्दा बढी डेभलपरले अनधिकृत एआई एजेन्टद्वारा एपीआईमा पहुँच हुन सक्ने जोखिमलाई प्रमुख साइबर सुरक्षा चिन्ताका रूपमा औँल्याएका छन् ।
याङले भिसा, र्याम्प, मर्करी, इलेभेनल्याब्स, स्ट्राइप, कोइनबेस, मुनपे र डोरड्यास जस्ता कम्पनीहरूले एआई एजेन्टलाई लक्षित गरेर कमान्ड लाइन इन्टरफेस (सीएलआई) सार्वजनिक गरिसकेको उल्लेख गरेका छन् । यी सीएलआईहरूले एआई एजेन्टलाई एपीआई मार्फत आवश्यक डेटा स्वतः प्राप्त गर्न र त्यसका आधारमा विभिन्न कार्य गर्न सहज बनाउँछन् । अर्थात्, अब यी उपकरणहरू मुख्यतः मानिसभन्दा पनि एआई एजेन्टले प्रयोग गर्ने गरी डिजाइन हुन थालेका छन् ।
“धेरै कम्पनीहरूले एआई एजेन्टका लागि विशेष रूपमा तयार गरिएका एजेन्ट-नेटिभ सीएलआई सार्वजनिक गर्दै जाँदा एआई एजेन्टहरूले विभिन्न काम गर्न पाउने पहुँच अझ व्यापक हुँदै जानेछ, जसले उनीहरूको प्रयोगलाई थप तीव्र बनाउनेछ”, याङले प्रतिवेदनमा लेखेका छन् ।
उनका अनुसार त्यसको प्रत्यक्ष प्रभावस्वरूप कम्पनीहरूले एआई एजेन्टलाई प्राथमिक प्रयोगकर्ता मानेर (एजेन्ट फर्स्ट) पूर्वाधार, सेवा र प्रणाली निर्माण गर्न थाल्नेछन् । यसले एआई एजेन्टको प्रयोग बढ्ने र त्यसअनुसार थप एजेन्ट मैत्री पूर्वाधार विकास हुने चक्रलाई अझ तीव्र बनाउनेछ ।
यद्यपि समस्या के छ भने, अहिलेका बट पत्ता लगाउने प्रणालीहरूले आफू स्वचालित (बट) भएको स्पष्ट चिनारी दिने वा पहिल्यै पहिचान गरिएका सङ्केत (सिग्नेचर) सँग मेल खाने ट्राफिक मात्र मापन गर्न सक्छन् । तर मानिसजस्तै व्यवहार गर्ने एजेन्टिक ब्राउजरहरू भने परम्परागत बट पहिचान प्रणालीलाई सजिलै छल्न सक्षम हुन्छन् ।
बाम्बर्ग विश्वविद्यालयले गरेको हालैको एक शैक्षिक अध्ययनले बट पहिचान प्रणालीहरूले वास्तविक मानव ट्राफिकलाई समेत गल्तीवश बट ठानेर ७ देखि १५ प्रतिशतसम्म ‘सफ्ट ब्लक’ गर्ने गरेको देखाएको छ । यस्तो अवस्थामा मानिसलाई बट ठान्ने समस्या त छँदैछ, मानिसजस्तै व्यवहार गर्ने एआई एजेन्टहरू पूर्ण रूपमा पहिचानबाहिर रहने समस्या अझ गम्भीर रहेको अध्ययनले औँल्याएको छ ।
यस्तै, डिजिटल मार्केटिङ कम्पनी सिअर इन्टरएक्टिभले सन् २०२३ देखि नै आफ्ना ग्राहकलाई एआई एजेन्टद्वारा सञ्चालित ब्राउजरहरूले वेबसाइटको इन्गेजमेन्ट कृत्रिम रूपमा बढाइदिन सक्ने, बाउन्स रेटलाई वास्तविकभन्दा कम देखाउन सक्ने तथा प्रयोगकर्ताले साइटमा बिताएको समय (सेसन ड्युरेसन) लाई विकृत बनाउन सक्ने चेतावनी दिँदै आएको छ । कम्पनीका अनुसार परम्परागत वेब एनालिटिक्स उपकरणहरूले यस्ता प्रभावलाई सही रूपमा छुट्याउन सक्दैनन् ।
यद्यपि, पिचबुकले ‘मसिन अर्थतन्त्र’ नाम दिएको यो प्रवृत्ति अहिलेको अवस्थामा समग्र विश्व अर्थतन्त्रको तुलनामा अझै सानो आकारमै रहेको याङले बताएका छन् । उनका अनुसार यसको प्रभाव तीव्र रूपमा बढिरहेको भए पनि, अहिलेका लागि यो परम्परागत अर्थतन्त्रको तुलनामा सीमित दायरामै रहेको छ ।
पिचबुकका अनुसार एआई एजेन्टलाई जिम्मा दिन सकिने अनुमानित २० ट्रिलियन अमेरिकी डलर बराबरको काममध्ये अहिले करिब १ प्रतिशत मात्र वास्तवमा एआई एजेन्टमार्फत भइरहेको छ ।
यस्तै, स्टार्टअप फोर्सीको छुट्टै अनुमानअनुसार विश्वभर परिचालनमा रहेका एआई एजेन्टहरूले प्रत्यक्ष रूपमा सिर्जना गरिरहेको आर्थिक मूल्य अर्थात् ‘एजेन्ट जीडीपी’ हाल वार्षिक रूपमा करिब ३६ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।
- फर्च्युन
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १५:०
