close

लालबन्दी-बर्दिबास सडक खण्डको जङ्गल क्षेत्रमा एनसेलको मोबाइल सेवा विस्तार

टेकपाना टेकपाना

पुस ३, २०८२ १९:५८

लालबन्दी-बर्दिबास सडक खण्डको जङ्गल क्षेत्रमा एनसेलको मोबाइल सेवा विस्तार

काठमाडौँ । पूर्वपश्चिम राजमार्गको लालबन्दी-बर्दिबास सडक खण्डको जङ्गल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरूले अब मोबाइलमा नेटवर्क नआउने समस्याबाट छुटकारा पाउने भएका छन् ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गरेको छ । जसका कारण अब यो राजमार्ग हुँदै यात्रा गर्नेले नेटवर्क कभरेज पाउने भएको एनसेलले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गको जङ्गल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानमा टावर जडान गरेर सञ्चालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ । वन क्षेत्रमा नयाँ टावर राख्न विभिन्न कारणले तत्काल सम्भव नभएकाले एनसेलले गढन्ता र लक्ष्मिनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसनको प्रयोगमार्फत सेवा उपलब्ध गराएको छ  ।

यो खण्ड जङ्गलको क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो सडक खण्ड हो जसको दुरी २१ किलोमिटर छ ।

साधारणतया राजमार्ग तथा वन क्षेत्रमा विद्युत आपूर्ति र टावर व्यवस्थापनको समस्याले नेटवर्क नभएर फोन नलाग्ने समस्या आउँछ । एनसेलले सेवा उपलब्ध गराएसँगै अब यात्रु तथा स्थानीय सञ्चार सेवाबाट लाभान्वित भएको जनाएको छ । 

यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो सडक खण्डमा सेवा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यालय (महोत्तरी), गढन्ता सब डिभिजन कार्यालय र बाँके सब डिभिजन वन कार्यालयले सहयोग तथा सहजीकरण गरेका थिए ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १९:५८