close

बाढी पीडित बालबालिकालाई एनसेलको शैक्षिक सामग्री, विभिन्न प्रभावित ठाउँमा राहत वितरण

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ १०:२५

बाढी पीडित बालबालिकालाई एनसेलको शैक्षिक सामग्री, विभिन्न प्रभावित ठाउँमा राहत वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परेको बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुसार कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्नो किताब, कापी लगायत आफ्ना शैक्षिक सामाग्रीहरू गुमाएका थिए ।

सीएसआर अन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसै अनुसार एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरूलाई राहत वितरण गरेको छ ।

फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ ।

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो। यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ ।

“विगतमा पनि बाढी, पहिरो, भुईचालो, कोभिड जस्ता विपद्मा प्रतिकार्य स्वरूप हामीले यथासक्य सहयोग र साथ दिएका छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् । “यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालन गर्न प्रतिबद्ध छौं ।”

एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको थियो । कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरूमा रु २ अर्बभन्दा बढी योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड ३० लाखभन्दा बढीलाई लाभ प्रदान गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १०:२५