close

प्रविधिमार्फत समसामयिक समस्या समाधानका लागि मदन भण्डारी मेमोरियल कलेजमा ४८ घण्टे ह्याकाथन सुरु

टेकपाना टेकपाना

पुस ४, २०८२ १३:४४

प्रविधिमार्फत समसामयिक समस्या समाधानका लागि मदन भण्डारी मेमोरियल कलेजमा ४८ घण्टे ह्याकाथन सुरु

काठमाडौँ । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजमा तीन दिने ‘एमबीएमसी आइडिया एक्स-२०२५’ ह्याकाथन सुरु भएको छ । आइतबारसम्म चल्ने ४८ घण्टे यस कार्यक्रममा विद्यार्थीहरूले विज्ञान र प्रविधिको प्रयोग गरी समसामयिक समस्याका नवीन समाधान खोज्नेछन् ।

ह्याकाथनमा स्नातक तहमा सूचना प्रविधि कार्यक्रम अध्ययनरत र प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूको सहभागिता रहेको छ । सहभागीहरूले नेपालको वर्तमान आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि (फिनटेक), कृषि प्रविधि (एग्रिटेक), सांस्कृतिक पहिचान तथा खुला विधामा केन्द्रित रहेर प्रविधिमा आधारित समाधानका उपायहरू विकास गर्नेछन् ।

कलेजका स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका प्रमुख फूलबाबु झाले विद्यार्थीहरूलाई आफ्ना नवीन सोचको प्रोटोटाइप विकास गर्ने, कार्यान्वयन गर्ने र विज्ञहरूबाट मार्गदर्शन प्राप्त गर्न यसले कार्यक्रमले अवसर प्रदान गर्ने बताए ।

यस वर्षको संस्करणका लागि सुरुमा १३८ समूहले दर्ता गराएकोमा अनलाइन प्रस्तुतिको माध्यमबाट अन्तिम ३२ समूहलाई प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । त्यस्तै, व्यक्तिगत रूपमा दर्ता भएका ४२३ जनामध्ये ११८ जना कार्यक्रममा प्रत्यक्ष सहभागी छन् ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने आइडियाहरूलाई पुरस्कारका साथै मेन्टरशिप र नेटवर्किङको अवसर समेत प्रदान गरिने प्रमुख झाले जानकारी दिए । मदन भण्डारी मेमोरियल कलेजले वि.सं. २०८० सालदेखि सुरु गरेको यो ‘आइडिया एक्स’ को तेस्रो संस्करण हो ।

 

पछिल्लो अध्यावधिक: पुस ४, २०८२ १४:११