युरोपका नेपाली उद्यमीहरूलाई जोड्न १३ मार्चमा हेलसिन्कीमा ‘बाटो समिट २०२६’ आयोजना हुँदै
फागुन ९, २०८२ २३:१
काठमाडौँ । युरोप र नर्डिक मुलुकहरूमा रहेका नेपाली उद्यमी, लगानीकर्ता र स्टार्टअप उत्साहीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आगामी १३ मार्चमा फिनल्याण्डको राजधानी हेलसिन्कीमा ‘बाटो समिट २०२६’ आयोजना हुने भएको छ ।
‘नेपाली उद्यमशील सोच निर्माण’ (Building the Nepali Entrepreneurial Mindset) भन्ने मुख्य नाराका साथ ‘बाटो’ नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा १५० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय फाउन्डर र लगानीकर्ताहरूको सहभागिता रहने बताइएको छ ।
नेपाली डायस्पोरामा उद्यमशीलतालाई सुदृढ बनाउने लक्ष्य राखेको यस समिटले विशेषगरी युरोपमा रहेका नेपालीहरूलाई स्टार्टअप इकोसिस्टममा सक्रिय बनाउन र जोखिम लिँदै नयाँ कम्पनी निर्माण गर्न प्रेरित गर्ने उद्देश्य लिएको छ ।
समिटमा स्टार्टअप, लगानी र प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूले सम्बोधन गर्नेछन् । वक्ताहरूमा डेनमार्कको नर्डिक मेकर्सकी म्यानेजिङ पार्टनर निमा सोफिया टिस्डल, नर्डिक क्षेत्रकै ठुलो स्टार्टअप क्याम्पस ‘मारिया०१’ की सीईओ सरिता रुनेबर्ग र एन्टलर फिनल्याण्डका जनरल पार्टनर जुसी कलास्वो रहेका छन् ।
त्यसैगरी, अमेरिकाबाट मोमो भीसीकी प्रीति अधिकारी र सिसुकेयरका फाउन्डर विजय बानिया तथा फिनल्याण्डका प्रविधि उद्यमी बरुण बश्यालले पनि आफ्नो अनुभव र अन्तर्राष्ट्रिय लगानी वातावरणका बारेमा जानकारी दिनेछन् ।
समिटमा फिनल्याण्ड बाहेक डेनमार्क, जर्मनी, बेलायत र अमेरिकाबाट समेत सहभागीहरू आउने निश्चित भएको छ । यसले युरोपमा उदाउँदै गरेको नेपाली स्टार्टअप इकोसिस्टमप्रति बढ्दो अन्तर्राष्ट्रिय चासोलाई प्रतिविम्बित गरेको आयोजकको ठहर छ ।
समिटका क्रममा विभिन्न प्यानल छलफल, नेटवर्किङ सत्र र स्टार्टअप शोकेसहरू आयोजना गरिनेछ । यसले नयाँ पुस्ताका नेपाली फाउन्डरहरूलाई व्यवहारिक ज्ञान, मार्गदर्शन र लगानीकर्ताहरूसँग जोडिने अवसर प्रदान गर्नेछ ।
यो समिटको आयोजक ‘बाटो’ सन् २०२५ मा स्थापना हो । नेपाली उद्यमीहरूलाई विश्वव्यापी बजार सुहाउँदो व्यवसाय निर्माण गर्न सहयोग गर्न खोलिएको ‘बाटो’ का संस्थापक विकास गुरुङ हुन् । गुरुङ विगत २० वर्षदेखि फिनल्याण्डमा स्टार्टअप र लगानीकर्ता सम्बन्ध व्यवस्थापनको क्षेत्रमा सक्रिय छन् ।
इच्छुक सहभागीहरूले बाटोको आधिकारिक वेबसाइटमार्फत दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ ८:२९
