close

इसेवामा अस्गर अली मुख्य शेयरधनी बन्दा विश्वास ढकाल र सम्भव सिरोहियाको हिस्सा घट्यो

टेकपाना टेकपाना

पुस ५, २०८२ १३:५९

इसेवामा अस्गर अली मुख्य शेयरधनी बन्दा विश्वास ढकाल र सम्भव सिरोहियाको हिस्सा घट्यो

काठमाडौँ । डिजिटल वालेट इसेवा कम्पनी लिमिटेडको शेयर स्वामित्व संरचनामा उल्लेख्य फेरबदल देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० भदौपछिको तथ्याङ्कलाई हेर्दा कम्पनीका मुख्य लगानीकर्ताको शेयर हिस्सा र सङ्ख्यामा ठुलो उतारचढाव आएको छ । 

विशेषगरी कम्पनीका प्रमुख लगानीकर्ताहरूबिच शेयरको आन्तरिक खरिदबिक्री भएपछि नयाँ स्वामित्व संरचना कायम भएको हो ।

यस फेरबदलमा सबैभन्दा बढी फाइदा अस्गर अलीलाई भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २०.४० प्रतिशत शेयर स्वामित्वसहित सात लाख ७५ हजार २०० कित्ता शेयर कायम रहेका अलीको हिस्सा चालु आर्थिक वर्षमा बढेर २७.९५ प्रतिशत पुगेको छ । अहिले उनीसँग इसेवाको १० लाख ६२ हजार १७३ कित्ता शेयर रहेको छ । यससँगै अली इसेवाका सबैभन्दा ठुला शेयरधनीका रूपमा रहेका छन् ।

अर्कातर्फ कम्पनीका संस्थापक अध्यक्ष विश्वास ढकालको शेयर हिस्सामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा २८ प्रतिशत स्वामित्वसहित १० लाख ६४ हजार कित्ता शेयर होल्ड गरेका ढकालको हिस्सा चालु आर्थिक वर्षमा घटेर २३.८३ प्रतिशतमा सीमित भएको छ । हाल उनीसँग नाै लाख पाँच हजार ४७० कित्ता शेयर मात्र बाँकी रहेको छ ।

कम्पनीका अर्का लगानीकर्ता सम्भव सिरोहियाको शेयर स्वामित्व पनि घटेको छ । अघिल्लो वर्ष १६ प्रतिशत स्वामित्वसहित ६ लाख ८ हजार कित्ता शेयर रहेका सिरोहियाको अहिले १३.६२ प्रतिशत अर्थात् पाँच लाख १७ हजार ४१२ कित्ता मात्र कायम छ ।

यसैगरी सुवास शर्माको शेयर स्वामित्व पनि अघिल्लो वर्षको ७.६८ प्रतिशतबाट घटेर ६.५४ प्रतिशतमा पुगेको छ । उनको शेयर सङ्ख्या दुई लाख ९१ हजार ८४० बाट झरेर दुई लाख ४८ हजार ३५८ कित्ता कायम भएको छ । उता संस्थागत लगानीकर्ताको रूपमा रहेको एफवन सफ्ट इन्टरनेसनलको स्वामित्व भने स्थिर देखिएको छ । अघिल्लो वर्षझैँ यस वर्ष पनि एफवन सफ्टको २० प्रतिशत हिस्सा अर्थात् सात लाख ६० हजार कित्ता शेयर यथावत् रहेको छ ।

साना लगानीकर्ताहरूको हकमा भने केहीको स्वामित्व बढेको छ भने केहीको स्थिर रहेको छ । रोशन लामिछानेको अघिल्लो वर्ष ०.४० प्रतिशत रहेको शेयर हिस्सा सामान्य बढेर ०.५५ प्रतिशत पुगेको छ । यसरी उनको शेयर सङ्ख्या १५ हजार २०० बाट बढेर २० हजार ८२७ कित्ता पुगेको छ । यद्यपि अन्य शेयरधनी सुवास सापकोटा (३.८४ प्रतिशत / एक लाख ४५ हजार ९२० कित्ता), कैलाश श्रेष्ठ (१.४४ प्रतिशत / ५४ हजार ७२० कित्ता) र योगेश भट्टराई (१.४४ प्रतिशत / ५४ हजार ७२० कित्ता) को लगानी र शेयर सङ्ख्यामा कुनै परिवर्तन भएको छैन ।

कम्पनीका अन्य शेयरधनी अकबर खान र अद्वैत तुलाधरको हिस्सा पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ । खानको ०.४८ प्रतिशत अर्थात् १८ हजार २४० कित्ता र तुलाधरको ०.३२ प्रतिशत अर्थात् १२ हजार १६० कित्ता शेयर जस्ताको तस्तै कायम छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८२ ५:१०