close

विद्युतीय मसिनको कन्डिसन मनिटरिङ र फल्ट डायग्नस्टिकमा काम गर्ने सीकम प्रोजेक्ट

डा. वसन्त कुमार गौतम डा. वसन्त कुमार गौतम

पुस ६, २०८२ १४:२३

एआई सिर्जित फोटो एआई सिर्जित फोटो

विद्युत् उत्पादन गर्न प्रयोग हुने जेनेरेटर, भोल्टेज घटबढ गर्न प्रयोग हुने ट्रान्सफर्मर र  उद्योगधन्दा तथा ईभी लगायतका उपकरणमा प्रयोग हुने इलेक्ट्रिक मोटर महँगा हुन्छन् । हाल नेपालका नयाँ जलविद्युत् परियोजनामा जडान भइरहेका जेनेरेटरको मूल्य साइज र क्षमता हेरी केही लाखदेखि अर्बौँ रुपैयाँसम्म पर्छ भने ट्रान्सफर्मरको मूल्य २०-३० करोडसम्म हुनसक्छ । यस्तै नेपालका उद्योगधन्दामा केही लाखदेखि दुई करोड रुपैयाँसम्मका इलेक्ट्रिक मोटर प्रयोग भइरहेका छन् । 

विद्युतीय यन्त्रलाई हामी मानव शरीरसँग तुलना गरेर पनि हेर्न सक्छौँ । उमेर र शारीरिक-मानसिक श्रमका कारण मानिसको शरीरका विभिन्न भाग कमजोर हुँदै जान्छन् । त्यससँगै विभिन्न रोग लागिसकेको पनि हुनसक्छ । तर तिनका लक्षण हामीले थाहा पाउने गरी नदेखिइसकेको हुनसक्छ । पछि असाध्य स्थितिमा पुगेपछि मात्र थाहा हुनसक्छ । तर त्यतिखेर उपचार गर्दा खासै प्रभावकारी नहुन सक्छ । 

त्यसैले नियमित स्वास्थ्य जाँच गर्ने चलन छ । यस्ता नियमित स्वास्थ्यजाँचमा शरीरको तापक्रम, मुटुको चाल, श्वाश-प्रश्वाशको सजिलो-अप्ठेरो आदि हेरिन्छ भने रगत, दिसा-पिसाब आदिको जाँच पनि गरिन्छ । यी जाँचहरूबाट आएका परिणामका आधारमा शरीर भित्र कुनै ठुलो समस्या छ कि छैन वा निकट भविष्यमा त्यस्तो समस्या आउने सम्भावना छ कि छैन भन्ने कुराको निर्क्यौल गरिन्छ र त्यसै अनुसार निरोधक उपचार (preventive treatment) गरिन्छ । यसले गर्दा शरीर स्वस्थ रहिरहन्छ र स्वास्थ्यमा ठुलो समस्या आउँदा हुने ठुलो खर्च पनि जोगिन्छ ।

इलेक्ट्रिक मसिनलाई पनि हामी यसैगरी हेर्न सक्छौँ । अहिलेका इलेक्ट्रिक मसिनहरू सयौँ पार्टपुर्जा मिलेर बनेका जटिल प्रणाली हुन् । यिनीहरूको स्वास्थ्य पनि मानव शरीरको स्वास्थ्य जस्तै निरन्तर ‘स्थिति अनुगमन’ (condition monitoring) गर्न सकिन्छ । अनुगमन गर्दा मसिनका विभिन्न भागमा बगिरहेको करेन्ट, मसिनका संवेदनशील भागमा उत्पन्न हुने तापक्रम, मोटर वा जेनेरेटर घुम्ने क्रममा उत्पन्न भएको थरथराहट (vibration) मा आइरहेको परीवर्तन, ट्रान्सफर्मर आयलमा सुक्ष्म पानीका कण छन् कि छैनन् आदिजस्ता कुराहरू हेरिन्छ । 

यस्ता मापकको आधारमा मसिनको स्वास्थ्य अवस्थाको आकलन गरिन्छ र मसिन ठप्प हुने गरी ठुलो समस्या आउनु अघि नै सानोतिना पार्टपुर्जा फेरेर वा सामान्य मर्मत सम्भार गरेर मसिनको आयु बढाउन सकिन्छ । यसलाई हामी ‘निरोधक सम्भार’ (preventive maintenance) का रूपमा लिन सक्छौँ । तर यो सामान्य निरोधक सम्भारभन्दा फरक यस अर्थमा छ कि सामान्य निरोधक सम्भारमा माथि उल्लेख गरिएका सूचकहरूको नियमित नाप र अनुगमन भन्दा पनि निश्चित समयावधिमा विभिन्न पार्टपूर्जाहरू फेर्ने गरिन्छ । यसरी स्वास्थ्य सूचकहरू नहेरी काम गर्दा कहिलेकाहीँ आवश्यक भन्दा अनावश्यक पार्टपूर्जाहरू फेरिने स्थिति पनि आउन सक्छ । 

माथि उल्लेख गरिएजस्ता महँगा यन्त्रहरू कुनै नाप र अनुगमन बिना चलाइरहने हो भने यिनीहरू लामो समय लगाएर मर्मत गर्नुपर्ने गरी वा कहिलेकाहीँ त मर्मत नै हुन नसक्ने गरी बिग्रिन सक्छन् । यस्तो बेलाको खर्च त आफ्नो ठाउँमा छँदैछ, यी उपकरणहरू बन्द भएर विद्युत्‌उत्पादन, प्रसारण वा औद्योगिक उत्पादन ठप्प हुँदाको घाटा पनि करोडौँ-अर्बौँसम्म पुग्नसक्छ ।

निरोधक सम्भारको आधार भनेको कन्डिसन मनिटरिङ (condition monitoring) हो । यसका लागि करेन्ट, भोल्टेज, तापक्रम, थरथराहट, आदिजस्ता सूचकहरू नाप्ने र कम्प्युटरले पढ्न मिल्ने गरी तथ्याङ्क दिने उपकरण चाहिन्छ भने नापबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गर्ने सफ्टवेयर पनि आवश्यक पर्छ । अर्को तिर, विशेष गरी कार्यस्थलमै रहेका यन्त्रहरूका आन्तरिक भागमै सेन्सर राख्न र नाप लिन नसकिने अवस्थामा तिनका डिजिटल मोडेल बनाएर पनि अध्ययन गर्न सकिन्छ । यस्ता डिजिटल मोडेलहरू बनाउन पनि महँगा सफ्टवेयरहरूको आवश्यकता पर्छ । 

कन्डिसन मनिटरिङबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरेर यन्त्रको कुन भागमा कस्तो समस्या छ भनेर पत्ता लगाउने कामचाहिँ फल्ट डायग्नस्टिक (fault diagnostics) हो । विकसित देशहरूमा कन्डिसन मनिटरिङ र फल्ट डायग्नस्टिक १९३० को दशकदेखि नै सुरु भएको हो । 

१९५० देखि १९७० को दशकसम्ममा स्काडा (SCADA) को प्रयोग व्यापक भयो भने १९८० को दशकपछि विभिन्न सेन्सर र डेटा एक्विजिसन सिस्टम (data acquisition system) को प्रयोगबाट कन्डिसनिङ मनिटरिङ अझ विकसित हुनपुग्यो । अहिले आएर कम्प्युटर र सञ्चार प्रविधिको व्यापक विकास र आईओटीको प्रयोगले कन्डिसन मनिटरिङ अझ प्रभावकारी बन्न पुगेको छ ।  

विश्वव्यापी रूपमा यो स्थिति भएतापनि नेपालमा भने कन्डिसनिङ मनिटरिङ अझै प्रारम्भिक चरणमै छ । कतिपय जलविद्युत्‌गृह, सव-स्टेसन र उद्योगमा स्काडाको प्रयोग भइरहेता पनि कन्डिसन मनिटरिङको मूलभूत अवधारणा र यसबाट हुने फाइदाको बारेमा नेपाली प्राविधिक जगतलाई अझै खासै धेरै जानकारी छैन । अर्को तिर, कन्डिसन मनिटरिङका बारेमा शिक्षा  र तालिम दिन आवश्यक पर्ने पूर्वाधारहरू नेपालका शैक्षिक संस्थानमा उपलब्ध छैनन् । ती पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने ठुलो रकम जुटाइहाल्न पनि सजिलो छैन ।

विगत तीन वर्षदेखि सञ्चालित सीकम (CEEECoM) परियोजनाले यो स्थितिलाई चिर्दै नेपालमा कन्डिसन मनिटरिङको प्रविधिलाई परिचित गराएको छ र केहि पूर्वाधार खडा गरिसकेको छ । सीकमको पूरा रूप क्यापासिटी इन्ह्यान्समेन्ट इन इलेक्ट्रिकल इक्विपमेन्ट कन्डिसन मनिटरिङ एन्ड फल्ट डायग्नस्टिक (Capacity Enhancement in Electrical Equipment Condition Monitoring and Fault Diagnostics) हो । यो युरोपियन युनियनको इरास्मस प्लस (ERASMUS+) कार्यक्रम अन्तर्गत सञ्चालित परियोजना हो । 

सीकम परियोजनाले नेपाल र भुटानमा कन्डिसन मनिटरिङ तथा फल्ट डायग्नस्टिकको क्षमता निर्माण गर्ने लक्ष्य राखेको छ । परियोजनाको संयोजक फिनल्याण्डको अल्टो युनिभर्सिटी (Aalto University) हो भने इस्टोनियाको टलिन युनिभर्सिटी अफ टेक्नोलोजी - टल्टेक (Tallin University of Technology - Taltech) दोस्रो युरोपेली साझेदार हो । परियजनामा नेपालबाट त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान र काठमाडौँ विश्वविद्यालय तथा भुटानबाट रोयल युनिभर्सिटी अफ भुटानको जिग्मे नाम्गेल इन्जिनियरिङ कलेज लाभार्थी साझेदारको रूपमा रहेका छन् । अल्टो र टल्टेकको प्राविधिक क्षमता र यो क्षेत्रको शिक्षण र अनुसन्धानको लामो अनुभवलाई प्रयोग गर्दै नेपाल र भुटानको क्षमता बढाउने प्रयास सीकम परियोजनाले गरेको छ ।

अब सीकम परियोजनाले नेपालमा सम्पन्न गरेका कामहरूको चर्चा गरौँ ।

१) वृहत् सर्वेक्षणः नेपालका उद्योगधन्दामा कन्डिसन मनिटरिङ सम्बन्धमा कस्तो जानकारी छ र उनीहरू के-कस्ता दक्षता भएका इलेक्ट्रिकल इन्जिनियर र प्राविधिकहरू चाहन्छन् भन्ने बुझ्नका लागि नेपालका उद्योगहरूमा एउटा वृहत् सर्वेक्षण (need assessment survey) गरिएको थियो । यो सर्वेक्षणमा नेपालका धेरै जलविद्युत्‌गृह र वस्तु उत्पादन उद्योगहरूलाई समेटिएको थियो । 

यस सर्वेक्षणबाट प्राप्त नतिजालाई इलेक्ट्रिकल इन्जिनियरिङ विषयका सबै सरोकारवालाहरूको प्रतिनिधित्व रहेको एक कार्यशालामा व्यापक छलफल गराइयो । यो कार्यशालामा फिनल्याण्ड र इस्टोनियाका विज्ञहरूको पनि सहभागिता थियो । यही कार्यशालाका सुझावहरूका आधारमा पाठ्यक्रम निर्माण, तालिम र ल्याबहरूको योजना बनाइयो ।

२) पाठ्यक्रम निर्माणः नेपालमा उत्पादित इन्जिनियरहरूलाई कन्डिसन मनिटरिङ तथा फल्ट डायग्नस्टिक विधाको ज्ञान दिनका लागि स्नातक तहमा एक पाठ्यक्रम तयार पारिएको छ । त्यस्तै, यो विधामा विशेषज्ञ तयार पार्नका लागि स्नातकोत्तर तहमा पनि एक पाठ्यक्रम निर्माण भएको छ । साथै, स्नातक र स्नातकोत्तर दुबै तहमा विद्यार्थीहरूले गर्ने प्रोजेक्ट र थेसिसमा पनि यो विधालाई प्रोत्साहन गरिएको छ ।

३) तालिमः औद्योगिक क्षेत्रमा हाल काम गरीरहेका इन्जिनियरहरूमा कन्डिसन मनिटरिङ र फल्ट डायग्नस्टिकको क्षमता अभिवृद्धिका लागि २२-२४ सेप्टेम्बर, २०२४ मा काठमाडौँमा एक तालिम आयोजना गरियो । नेपालका प्रतिनिधिमूलक उद्योगहरूबाट उत्साहजनक सहभागिता रहेको उक्त तालिम कार्यक्रममा नेपाल, फिनल्याण्ड र इस्टोनियाका प्राध्यापक र विज्ञहरू स्रोत व्यक्तिका रूपमा रहेका थिए ।​




४) अनलाइन तालिमः भौतिक रूपमा तालिममा संलग्न हुन नसक्ने इन्जिनियरहरूका लागि एक सघन अनलाइन तालिम (Intensive Online Training) सञ्चालन गरियो । १४-१९ जुन, २०२५ मा सञ्चालित उक्त तालिम कार्यक्रममा नेपाल र भुटान बाहेकका विभिन्न देशबाट समेत इन्जिनियरहरूको उत्साहजनक सहभागिता रहको थियो ।

५) काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा कन्डिस मनिटरिङ एन्ड फल्ट डायग्नस्टिक ल्याबहरू निर्माण गरिएको छ । यी ल्याबहरूमा कन्डिसन मनिटरिङका लागि आवश्यक पर्ने विभिन्न उपकरण र सफ्टवेयर उपलब्ध छन् । यी ल्याबहरूमा स्नातक तहमा आधारभूत प्रयोगहरू गर्न सकिने त छँदैछ, स्नातकोत्तर र त्यो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थी वा प्राध्यापकहरूले अनुसन्धानका लागि पनि प्रयोग गर्न सक्नेछन् । त्यस्तै, उद्योगहरूमा कार्यरत इन्जिनियरको क्षमता विकासका लागि तालिम पनि यी ल्याबहरूमा सञ्चालन गर्न सकिन्छ ।​


d



सीकम प्रोजेक्टले निर्माण गरेका मानवीय तथा भौतिक पूर्वाधारहरूबाट नेपालका प्राविधिक शैक्षिक संस्था र उद्योगहरू लाभान्वित हुने विश्वास हामीले लिएका छौँ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १४:२६