काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवन भ्रमणका क्रममा खिचिएको भन्दै सामाजिक सञ्जालमा एआई सिर्जित भ्रामक तस्बिर भाइरल भएका छन् । चितवनमा समर्थकलाई सम्बोधन गर्ने क्रममा अस्वभाविक भीड देखाउनका लागि एआईको प्रयोग गरी तस्बिर तोडमोड गरिएको पाइएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा’ नामक फेसबुक पेजबाट समेत शेयर भएको एउटा एआई सिर्जित तस्बिरमा ३१ हजारभन्दा बढी रियाक्सन देखिएको छ । कतिपय प्रयोगकर्ताले ‘रुपन्देही कारागारमा उर्लियो जनसागर’ भन्दै गलत क्याप्सन राखेर समेत फोटो फैलाएका छन् ।
भाइरल भइरहेका ती तस्बिरलाई ‘हाइभ मोडेरेसन टुल’ मार्फत परीक्षण गर्दा ९९.६ प्रतिशत एआई सिर्जित वा ‘डिपफेक’ भएको पुष्टि भएको छ ।
सिधाकुरा डटकम, देशसञ्चार र लामिछानेकी पत्नी निकिता पौडेलले सार्वजनिक गरेका वास्तविक तस्बिरसँग तुलना गर्दा भाइरल बनाइएका तस्बिर डिजिटल रूपमा तोडमोड गरिएको स्पष्ट हुन्छ ।