स्पोटिफाईका ८ करोड ६० लाख गीत चोरेको दाबी गर्ने पाइरेट ग्रुप भन्छः अब टोरेन्टमार्फत बाँड्छौँ
पुस ९, २०८२ १३:०
काठमाडौँ । पाइरेट एक्टिभिस्ट समूह अन्नाज आर्काइभ (Anna’s Archive) ले म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईको सम्पूर्ण म्युजिक लाइब्रेरी स्क्र्याप गरेको र त्यसलाई अब टोरेन्टमार्फत सार्वजनिक गर्ने योजना बनाएको दाबी गरेको छ । उक्त समूहका अनुसार उनीहरूले लगभग ८ करोड ६० लाख म्युजिक फाइलहरू आर्काइभ गरेका छन् ।
जुन स्पोटिफाईमा भएका कूल अडियो सामग्रीको लगभग ९९.६% हो । स्पोटिफाईको लाइब्रेरीमा करिब २५ करोड ६० लाख ट्र्याकहरू रहेका छन् । अन्नाज आर्काइभको कलेक्सनमा तीमध्ये ९९.९ प्रतिशतको मेटाडेटा उपलब्ध रहेको बताइएको छ । यो सङ्कलन गरिएको डेटाको कूल आकार झन्डै ३०० टेराबाइट रहेको छ ।
हालसम्म उक्त समूहले मेटाडेटा मात्र सार्वजनिक गरेको छ र वास्तविक म्युजिक फाइलहरू रिलिज हुन बाँकी छ । अन्नाज आर्काइभले सामान्यतया पुस्तक र शोधपत्रहरू जस्ता पाठ्य सामग्रीहरूमा ध्यान केन्द्रित गर्ने गर्दथ्यो ।
तर, उसले म्युजिकको लागि यस्तो 'प्रिजर्भेसन अर्काइभ' सुरु गर्नुको उद्देश्य मानवताको ज्ञान र संस्कृतिलाई सुरक्षित राख्नु भएको बताएको छ । यस घटनाको प्रतिक्रिया दिँदै स्पोटिफाईले यो स्क्र्यापिङ कार्यमा संलग्न युजर अकाउन्टहरू पहिचान गरी डिसेबल बनाइसकिएको जनाएको छ ।
स्पोटिफाईका प्रवक्ताका अनुसार, कम्पनीले यस्ता प्रतिलिपि अधिकार विरोधी आक्रमणहरू विरुद्ध नयाँ सुरक्षा उपायहरू लागु गरेको छ । साथै शङ्कास्पद गतिविधिहरूमाथि सक्रिय रूपमा निगरानी गरिरहेको छ ।
कम्पनीले आफू सधैँ कलाकार समुदायको साथमा उभिएको र सर्जकहरूको अधिकार रक्षा गर्न र पाइरेसी विरुद्ध लड्न उद्योगका साझेदारहरूसँग मिलेर काम गरिरहेको स्पष्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १३:२
