close

फ्याक्टचेक: के ओलीले काङ्ग्रेसले मदन भण्डारी मार्ने जिम्मा आफूलाई दिएको दाबी गरेका हुन् ?

हिक्मत आचार्य हिक्मत आचार्य

पुस १२, २०८२ १७:५४

फ्याक्टचेक: के ओलीले काङ्ग्रेसले मदन भण्डारी मार्ने जिम्मा आफूलाई दिएको दाबी गरेका हुन् ?

काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन भण्डारीको हत्या नेपाली काङ्ग्रेसले गरेको’ दाबी गरेको भनिएको एउटा भिडिओ चर्चामा छ । २७ सेकेन्डको उक्त क्लिपमा काङ्ग्रेस नेताहरूले आफूलाई मदन भण्डारीको हत्या गर्ने जिम्मा दिन खोजेको, तर आफूले नमानेको ओलीले बताएको देखाइएको छ । तर, टेकपाना फ्याक्टचेकको अनुसन्धानबाट यो भिडिओ भ्रामक रहेको पुष्टि भएको छ । तीन वर्षअघि सञ्चारकर्मी ऋषि धमलालाई दिएको अन्तर्वार्तामा ओलीले नेपाली काङ्ग्रेसका नेता उमेश गिरीको भनाइ उद्धृत गरेका थिए, जसलाई अहिले एडिट गरेर ओलीकै दाबी जस्तो देखिने गरी फैलाइएको पाइएको छ ।

दाबी

टिकटकमा ‘@nepolitics_’ युजरनेम भएको टिकटक अकाउन्टबाट २६ डिसेम्बर २०२५ दिउसो १ः५५ बजे २७ सेकेन्डको भिडिओ क्लिप पोस्ट भयो । उक्त भिडिओमा तलपट्टि टेक्स्ट र माथिपट्टि एमाले अध्यक्ष ओली बोलेको भिडिओ राखिएको छ । तल अङ्ग्रेजीमा ‘Congress Behind Bhandari’s D’e’a’t’h’ लेखिएको छ । र, तलपट्टि ‘UML Chairperson KP Sharma Oli Claims in an interview with Rishi Dhamala that Congress was involved in the death of Madan Bhandari.’ लेखिएको छ । यसको नेपाली भावानुवाद हुन्छ, “ऋषि धमलासँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको मृत्युमा काङ्गेस संलग्न भएको दाबी गरेका छन् ।”

उक्त २७ सेकेन्डको क्लिपमा ओलीले बोकेको अंश राखिएको छ । त्यसमा ओलीले भनेका छन्, “...मदन भण्डारी मार्न मलाई जिम्मा दिन खोजेका थिए काङ्ग्रेसका नेताले । मैले मानिनँ । त्यतिबेर मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो । तँलाई मार्छन् यो कुरा नगर भने । मैले गर्न सकिनँ । अब बुढो पनि भएँ, मरेर बाँचेको मान्छे, अब चाहिँ म भन्छु । यो रहस्य त मैले भन्नुपर्छ । मदन भण्डारीको हत्याका पछाडि काङ्ग्रेसको हात छ, काङ्ग्रेसको सरकारले मराएको हो ।”

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १३ हजार ८०० बढी रियाक्सन, ३०६ ओटा कमेन्ट आएका छन् । ८८३ पटक सेभ भएको उक्त भिडिओ १११६ पटक शेयर भएको छ भने यसमा साढे तीन लाख हाराहारी भ्युज छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले सोही प्रकृतिका भिडिओ फेला पार्न टिकटकमा भिडिओ जुन युजरनेमबाट राखिएको थियो त्यही नामको फेसबुक पेज खोज्यो । सो पेजमा टिकटकमै भिडिओ अपलोड गरेकै समयमा केपी ओलीसँग सम्बन्धित उक्त भिडिओ क्लिप राखेको फेला पर्‍यो । तर, क्याप्सन भने ‘बलानन्द शर्मा’ को हुन् भन्ने क्याप्सन राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

त्यही प्रकृतिका भिडिओ फेला पार्न डेस्कले फेसबुकमा ‘केपी शर्मा ओली’, ‘मदन भण्डारी’, ‘मदन भण्डारी हत्या’ लगायतका कीवर्ड खोज्यो । त्यस क्रममा ‘पूर्णसिंह बम ठकुरी’ले नामका फेसबुक प्रयोगकर्ताले २४ जुलाई २०२४ मा ‘मदन भण्डारी मार्न पछाडी काङ्ग्रेसको हात छ ! ...... केपी शर्मा......🤔’ क्याप्सनसहित २७ सेकेन्डको सोही क्लिप राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

त्यस्तै लोकसेवा गोल नामक फेसबुक पेजले २२ डिसेम्बर २०२५ मा सोही क्लिप राकेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

फेसबुकमा अन्य अकाउन्टले पनि यही क्लिप शेयर गरिरहेका छन् । भिडिओमा सञ्चारकर्मी ऋषि धमला देखिन्छन् । साथै भिडिओ अपलोड गर्ने विभिन्न अकाउन्टले केपी ओलीले धमलालाई दिएको अन्तर्वार्ताबाट लिएको उल्लेख गरेका छन् । यसैलाई आधार बनाएर युट्युबमा ‘Rishi Dhamala, KP Sharma Oli’ कीवर्ड राखेको भिडिओ खोज्दा ओलीले लगाएको लुगा प्राइम टेलिभिजनले १६ नोभेम्बर २०२२ मा अपलोड गरेको अन्तर्वार्तामा मिलेको फेला पर्‍यो ।

ओलीले प्रचण्ड-माधवलाई यसरी नङ्ग्याए, 'रअ' प्रमुखदेखि जनयुद्धसम्मको उत्खनन, रावल-भुसालको भण्डाफोर शीर्षकको सो भिडिओको ५६ मिनेट १९ सेकेन्डदेखि ५६ मिनेट ४६ सेकेन्डसम्म ओलीले माथिको वाक्य बोलेका छन् । तर, त्यसभन्दा अगाडि बोलिएको ‘...नेपाली काङ्ग्रेसका नेता उमेश गिरी’ र पछाडि बोलिएको ‘...भनेर काङ्ग्रेसका नेता उमेश गिरीले सार्वजनिक टेलिभिजनमा बोल्नु भएको मैले हेरेँ’ भन्ने अंश हटाइएको छ । यी अंश भिडिओमा नसमेट्दा ‘काङ्ग्रेसले नै ओलीलाई मदन भण्डारीको हत्या गर्ने जिम्मा दिएको र उनले अस्वीकार गरेको, तर बुढेसकालमा वास्तविकता भन्न आँटेको’ भन्ने आशय आएको छ । उक्त भिडिओमा ओलीले यस विषयमा तत्कालिन गृहमन्त्री शेरबहादुर देउवा रहेको र उनलाई सोध्न नपाएको बताएका छन् । त्यसपछिको सन्दर्भमा ओलीले ‘अमर लामा’ मार्नुपर्ने कारणबारे शंका व्यक्त गर्दै आफ्नो भनाइ राखेका छन् ।

यी तथ्यबाट के पुष्टि हुन्छ भने, ओलीले टेलिभिजन कार्यक्रम 'जनता जान्न चाहन्छन्‌' मा नेपाली काङ्ग्रेसका नेता उमेश गिरीको भनाइलाई उद्धृत मात्र गरेका थिए । त्यो पनि गिरीले कुनै सार्वजनिक टेलिभिजन कार्यक्रममा भनेको ओलीको भनाइ थियो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भनाइको सन्दर्भ हटाइदिँदा ओली आफैँले ‘काङ्ग्रेस नेताले मदन भण्डारी मार्ने जिम्मा आफूलाई दिइएको’ दाबी गरेको आशय झल्किने गरी भिडिओ भाइरल भयो । यसरी गिरीको भनाइलाई ओलीको आफ्नै अभिव्यक्तिका रूपमा प्रस्तुत गरेर भ्रम फैलाइएको पुष्टि हुन्छ ।

दाबी

सामाजिक सञ्जालमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्या नेपाली काङ्ग्रेसले गरेको र आफूलाई समेत सो हत्याको जिम्मा दिन खोजिएको भनेका छन् ।

दाबीकर्ता

‘@nepolitics_’ नामक टिकटक अकाउन्ट र फेसबुक पेज, पूर्णसिंह बम ठकुरी, लोकसेवा गोल जस्ता फेसबुक पेज तथा अन्य व्यक्तिगत फेसबुक अकाउन्ट । 

तथ्य

सामाजिक सञ्जालमा फैलाइएको उक्त भिडिओ क्लिप भ्रामक र सम्पादित हो । वास्तवमा सो भिडिओ १६ नोभेम्बर २०२२ मा प्राइम टेलिभिजनमा ऋषि धमलाले लिएको अन्तर्वार्ताको एउटा सानो अंश हो । उक्त अन्तर्वार्ताको पूर्ण भिडिओ हेर्दा ओलीले सो कुरा आफ्नो तर्फबाट दाबी नगरेर नेपाली काङ्ग्रेसका नेता उमेश गिरीले एउटा सार्वजनिक टेलिभिजन कार्यक्रममा बोलेको कुरालाई उद्धृत मात्र गरेको स्पष्ट हुन्छ । भिडिओ सम्पादन गर्ने व्यक्तिले ओलीले वाक्यको सुरुमा भनेको ‘नेपाली काङ्ग्रेसका नेता उमेश गिरी’ र अन्त्यमा भनेको ‘भनेर उमेश गिरीले बोलेको मैले हेरेँ’ भन्ने मुख्य अंश हटाएर ओली आफैले सो दाबी गरेको जस्तो देखिने गरी भ्रामक सामग्री तयार पारेको भेटिएको छ ।

निष्कर्ष

एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्यामा काङ्ग्रेसको संलग्नता रहेको भनी आफ्नै तर्फबाट कुनै नयाँ दाबी वा खुलासा गरेका छैनन् । तीन वर्षअघि अर्काको भनाइ उद्धृत गरिएको भिडिओबाट अगाडि र पछाडिको सन्दर्भ हटाएर ओलीको आफ्नै अभिव्यक्तिका रूपमा फैलाइएको यो सामग्री भ्रामक पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १९:४७