close

'हा* हा* भिनाजु' भन्दै सामाजिक सञ्जाल ट्रेन्डिङमा अश्लीलता, पीडितको पीडामा रमाउँदै प्रयोगकर्ता

हिक्मत आचार्य हिक्मत आचार्य

पुस १३, २०८२ १९:३२

'हा* हा* भिनाजु' भन्दै सामाजिक सञ्जाल ट्रेन्डिङमा अश्लीलता, पीडितको पीडामा रमाउँदै प्रयोगकर्ता

काठमाडौँ । पछिल्लो केही समययता टिकटक लगायतका सामाजिक सञ्जालमा एउटा अडियो क्लिप निकै भाइरल बनिरहेको छ । सुदूरपश्चिमको स्थानीय लबज र शैलीमा बोलिएको यो अडियो यतिबेला केवल एउटा भाइरल सामग्री मात्र नरहेर सामाजिक बहस र कानुनी संवेदनशीलताको विषय समेत बनेको छ । विशेषगरी सुदूरपश्चिम क्षेत्रका टिकटकर ‘कुल ब्वाई’ ऊर्फ पारस बम ठकुरीको लाइभ सेसनमा ‘हा* हा* भिनाजु’ भन्ने कमेन्टको बाढी नै आएपछि यो घटनाले थप चर्चा पाएको हो । 

कञ्चनपुरका २६ वर्षीय ठकुरीले आफ्ना अडियन्ससँग लाइभ अन्तरक्रिया गर्ने क्रममा सुरुमा यो विषयबारे अनभिज्ञता प्रकट गरेका थिए । उनकै लाइभमा जोडिएका व्यक्तिले त्यसको प्रसङ्ग खुलाएपछि उक्त अडिओले थप चर्चा र बहस निम्त्याएको हो ।

यो अडियो कसले कहिले बाहिर ल्याएको हो भन्ने खुलेको छैन । तर, विगत तीन/चार महिनादेखि यो अडियो टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको देखिन्छ । सार्वजनिक भएको अडियो कल रेकर्ड हो । यसमा एक युवकले युवतीलाई निकै अश्लील र आपत्तिजनक शब्दहरू प्रयोग गर्दै मानसिक तनाव दिइरहेको सुनिन्छ । 

युवकले युवतीसँग उनको व्यक्तिगत तस्बिर माग्ने र युवतीले अस्वीकार गर्दा उनको चरित्रमाथि गम्भीर आरोप लगाउँदै भिनाजु नाता पर्ने व्यक्तिसँग जोडेर निकै भद्दा कुराकानी गरेको सुनिन्छ । अडियोमा युवतीले आफ्नो चरित्रको रक्षा गर्दै युवकको आरोपको प्रतिवाद गरिरहेकी सुनिन्छिन् । उनले आफ्नो ‘मुड’ खराब भएको र आफू नजिक भएको भए घाँटी च्यापेर मार्न सक्नेसम्मको आक्रोश व्यक्त गरेकी छिन् । 

यो अडियो कल रेकर्डिङ सामाजिक सञ्जालमा राख्ने कार्य युवतीमाथि दुर्व्यवहार गर्ने युवकबाटै भएको हुनसक्ने देखिन्छ । तर ती युवक को हुन् भन्ने विषय समेत खुलेको छैन ।  

तर, पीडित युवतीको यो मानसिक पीडा र विवशतालाई टिकटक र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भने सस्तो मनोरञ्जनको साधन बनाएका छन् । यो अडियोलाई लिएर कतिपयले ‘लिप सिङ्किङ’ गरिरहेका छन् भने कतिपयले यसमा ‘बिट’ र सङ्गीत थपेर गीत नै बनाएका छन् । सामाजिक सञ्जालका एल्गोरिदम र अडियो प्रयोग गर्न पाउने फिचरले यस्ता संवेदनशील सामग्रीलाई झनै फैलाउन मद्दत गरिरहेका छन् । 

अन्तरङ्ग भिडिओ लिक हुँदा समाजमा जुन किसिमको हलचल हुन्छ, यो अडियो लिकबाट पनि त्यही र त्यस्तै स्तरको बहस उब्जिएको छ । यो प्रवृत्तिलाई सामान्य ठान्ने र त्यसैमा रमाइलो गर्ने प्रवृत्तिले थप गम्भीर प्रश्न उब्जाएको छ । कतिपयले यसलाई सुदूरपश्चिमको लवजसँग जोडेर रमाइलो गरिरहेका छन् भने कतिपयले अडियोमा नाम लिइएका व्यक्तिलाई मेन्सन गर्दै गिज्याउने काम समेत गरिरहेका छन् । 

यसले व्यक्तिको गोपनीयताको अधिकार र डिजिटल सुरक्षामाथि ठूलो चुनौती खडा गरेको विज्ञहरू बताउँछन् । यो ‘कल रेकर्ड लिक’ घटनाका सम्बन्धमा सुदूरपश्चिमको कञ्चनपुर, कैलाली र अछाम लगायतका जिल्लाका प्रहरी कार्यालयमा बुझ्दा हालसम्म औपचारिक उजुरी परेको जानकारी प्राप्त भएको छैन । 

विभिन्न जिल्लाका प्रहरी सूचना अधिकारीका अनुसार यस्ता घटनामा पीडित स्वयं अगाडि नआउँदा कानुनी प्रक्रिया अगाडि बढाउन कठिन हुन्छ । यद्यपि कसैको अनुमति बिना कल रेकर्ड गर्नु र त्यसलाई सार्वजनिक गर्नु आफैमा कानुनले वर्जित गरेको अपराध हो । नेपालको कानुनले व्यक्तिगत गोपनीयताको हकलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ । जसको उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकिन्छ ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार डिजिटल माध्यमबाट हुने यस्ता गतिविधिले समाजमा नकारात्मक सन्देश प्रवाह भइरहेको छ । उनी यसलाई व्यक्तिको इज्जत र प्रतिष्ठासँग जोडिएको विषयका रूपमा समेत व्याख्या गर्छन् । 

“अडियो क्लिपको केसमा पनि व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन आकर्षित हुन्छ । अनुमति बिना कसैको कल रेकर्ड गर्न पाइँदैन र त्यसलाई अश्लील बनाएर सार्वजनिक गर्नु झनै गम्भीर अपराध हो,” प्रहरी उपरीक्षक अवस्थी भन्छन्, “यसले व्यक्तिको चरित्र हत्या गर्ने काम गर्दछ । माध्यम जे भए पनि अपराध, अपराध नै हो । पहिले गाली बेइज्जती प्रत्यक्ष रूपमा हुन्थ्यो भने अहिले अनलाइन माध्यमबाट भइरहेको छ । जसले ठुलो जनमासमा छिटो असर पुर्‍याउँछ ।”

अवस्थीले सामाजिक सञ्जाल मनोरञ्जनका लागि भए पनि यसको प्रयोग गर्दा अरूको मर्यादा र आफ्नो नैतिकताको ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस्ता गलत कुराको प्रचार गर्नु हुँदैन । यस्तो अडियोमा मनोरञ्जन गर्नेहरू पनि भोलि कानुनी जोखिममा पर्न सक्छन् । भोलि यदि पीडितले उजुरी दिएको खण्डमा यसलाई फैलाउने र यसमा रमाइलो गर्नेहरू पनि कानुनी कठघरामा उभ्भिनु पर्ने हुन सक्छ । नैतिकताको हिसाबले पनि नराम्रो कुरालाई बढावा दिन मिल्दैन । अनलाइन माध्यममा गरिने यस्ता अपराधलाई पनि मुलुकी अपराध संहिता र अन्य कानुनले सम्बोधन गर्छ ।”

अधिवक्ता बाबुराम अर्यालले पनि यसलाई गोपनीयताको हकको गम्भीर उल्लङ्घनका रूपमा लिएका छन् । अर्यालका अनुसार निजी संवादहरू सुरक्षित हुनुपर्छ र यसलाई सार्वजनिक गर्ने अधिकार कसैसँग हुँदैन । अर्याल भन्छन्, “व्यक्तिगत हिसाबले कसैको सञ्चार रेकर्ड गर्न पाइँदैन र रेकर्ड भए पनि अनुमति बिना सार्वजनिक गर्न मिल्दैन । यो एउटा स्पष्ट कुरा हो । यदि त्यो सामग्री अश्लील छ र त्यसले समाजलाई नोक्सानी पुर्‍याउँछ भने त्यहाँ थप कानुनहरू पनि आकर्षित हुन्छन् । अश्लील प्रकाशनदेखि दुर्व्यवहारसम्मका तमाम कानुन आकर्षित हुन्छन् ।”

अर्यालले सर्वोच्च अदालतको ‘राइट टु बी फर्गटन’ (बिर्सिन पाउने अधिकार) को अवधारणालाई समेत स्मरण गराउँदै सार्वजनिक मञ्चमा आएका पुराना वा असम्बन्धित सामग्री हटाउन पाउने अधिकारमा समेत जोड दिएका छन् । उनी भन्छन्, “अडियो पनि प्रोटेक्टेड कम्युनिकेसन हो । मेरो कन्टेन्ट कतै उपलब्ध छ भन्दैमा अरूले त्यसको दुरुपयोग गर्न पाउँदैनन् । पब्लिक डोमेनमा आयो भन्दैमा अर्काले प्रयोग गर्न मिल्ने भन्ने हुँदैन । यसलाई हामी प्रिभिलेज कम्युनिकेसन भन्छौँ, जसको मर्यादा राखिनुपर्छ ।”

बालबालिका र अनलाइन सुरक्षाको क्षेत्रमा कार्यरत चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले यसलाई मानसिक स्वास्थ्य र सामाजिक चेतनाको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताएका छन् । उनले यस्ता सामग्रीले पीडितलाई पुर्‍याउने मानसिक चोटको गहिराइ निकै ठुलो हुने उल्लेख गरे । रघुवंशी भन्छन्, “ओरिजिनल सामग्री जसले बनाएर राखेको छ, त्यो गैरकानुनी हो र त्यसमा भिडिओ बनाउनु वा लिप्सिङ गर्नु पनि उत्तिकै गलत हो । हाम्रो विद्युतीय कारोबार ऐन र अपराध संहिताले यस्ता सामग्री वितरण गर्न, बेच्न वा सार्वजनिक गर्न निषेध गरेको छ । कतिपय अवस्थामा त यस्ता सामग्री स्टोर गरेर राख्नु पनि वैध मानिँदैन ।”

रघुवंशीले नेपाली समाजमा यस्ता घटनालाई हेर्ने दृष्टिकोण अझै पनि पितृसत्तात्मक र पीडितलाई नै दोष दिने खालको रहेको प्रति चिन्ता व्यक्त गरे । उनी भन्छन्, “हाम्रो समाजमा अझै पनि पीडितकै चरित्रमा प्रश्न उठाउने र उसैलाई दोष दिने प्रवृत्ति छ । यस्ता अडियो वा भिडिओमा मनोरञ्जन लिनेहरूको मानसिकता निकै कमजोर देखिन्छ ।” उनी अगाडि थप्छन्, “टिकटक जस्ता प्लेटफर्ममा नेपाली भाषा र ठेट लवजका कारण कन्टेन्ट मोडरेसनले सबै कुरा समात्न सक्दैन । जसको फाइदा यस्ता विकृति फैलाउनेले लिइरहेका छन् ।” 

सबैले यस्ता सामग्री देखेमा तुरुन्त रिपोर्ट गर्ने र यसलाई प्रोत्साहित नगर्ने बानी बसाल्नु पर्नेमा पनि उनले जोड दिएका छन् । 

पछिल्लो अध्यावधिक: पुस १४, २०८२ ९:२४