छोरीमाथि ‘बडी-शेमिङ’ गर्नेलाई करिश्मा मानन्धरको चेतावनी: ‘कानुनी बाटो अपनाउन बाध्य नपार्नू’
पुस १४, २०८२ १८:७
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मानन्धरमाथि भइरहेको ‘बडी शेमिङ’ प्रति कडा आपत्ति जनाउँदै कानुनी कारबाहीको चेतावनी दिएकी छिन् । हालै सामाजिक सञ्जालमा एक लामो भनाइ सार्वजनिक गर्दै उनले आलोचनाका नाममा भइरहेको ‘क्रूरता’ अब सह्य नहुने स्पष्ट पारेकी हुन् ।
पछिल्लो समय कविताको शारीरिक बनोटलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीहरू बढेको भन्दै करिश्माले आक्रोश पोखेकी हुन् । उनले लेखेकी छिन्, “समस्या त्यतिबेला सुरु हुन्छ, जतिबेला आलोचना होइन, क्रूरता देखिन्छ-जतिबेला मानवता हराएर शब्दहरू हतियार बन्छन् । कम्तीमा जनावरजत्तिको विवेक त राख्नुस् । मेरो छोरीमाथि बारम्बार बडी-शेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ- यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ?”
सुन्दरताको कुनै एउटै मापदण्ड नहुने र प्रकृतिले बनाएको विविधतालाई स्वीकार गर्नुपर्नेमा करिश्माले जोड दिएकी छिन् । उनले आफ्नो र छोरीको तुलना गरेर गरिने टिप्पणीहरूलाई संकुचित सोचको उपज भएको बताएकी छिन् । “यदि यस्ता गतिविधिले मलाई वा मेरो परिवारलाई मानसिक क्षति पुर्यायो भने, कानुनी बाटो अपनाउने जानकारी र अधिकार मसँग छ। यो चेतावनी होइन- आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो,” उनले उल्लेख गरेकी छिन् ।
यसैबीच, करिश्माकी छोरी कविता मानन्धरले पनि इन्स्टाग्राममार्फत आफ्नो धारणा राखेकी छिन् । विशेषगरी आफूले लगाएको ‘नाकको फुली’ ले नेवारी परम्परा झल्काउँदैन भन्ने टिप्पणीहरूलाई उनले जवाफ दिएकी छिन् ।
कविताले लेखेकी छिन्, “नाक छेड्नु मेरो व्यक्तिगत रोजाइ हो । म मेरो बुबाको नेवार संस्कृतिलाई जति सम्मान गर्छु, आमाको तर्फबाट पाएको विरासतलाई पनि उत्तिकै अंगालिरहेकी छु । यो फुली मेरो आमाको तर्फको परिवारको प्रतिबिम्ब हो ।”
सेलिब्रिटीको सन्तान हुनुको नाताले आफूले सानैदेखि बलियो बन्न सिकेको बताउँदै उनले सार्वजनिक टिप्पणीले आफूलाई विचलित नपार्ने भए पनि हरेक समाचार पछाडि भावना भएको मानिस हुने कुरा नबिर्सन आग्रह गरेकी छिन् ।

करिश्माले आफ्नो छोरीका बारेमा राखेको पोस्टपछि सामाजिक सञ्जालमा अधिकांश प्रयोगकर्ताहरूले ‘साइबर बुलिङ’ र ‘बडी शेमिङ’ गर्नेहरूलाई साइबर अपराध अन्तर्गत कारबाही गर्नुपर्ने माग गरेका छन् ।
प्रयोगकर्ता चाम्लिङ रोसिना राईले लेखेकी छिन्, “कसैको छोरीको लुक्समा टिप्पणी गर्ने अधिकार कसले दियो ? यस्ता शब्दले युवाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ ।” अर्का प्रयोगकर्ता विराज परियारले आमा र छोरीको पेसा फरक भएकोले उनीहरूको तुलना गर्नु नै गलत भएको तर्क राखेका छन् ।
विवादकै बीच, कविताको स्वरूपमाथि कडा टिप्पणी गर्नेमध्येकी एक प्रयोगकर्ता पूजा शाहले सार्वजनिक रूपमा माफी मागेकी छिन् । उनले लेखेकी छिन्, “म पनि एउटी आमा हुँ, मेरो आँखा खोलिदिनुभएकोमा धन्यवाद । मलाई पछुतो भइरहेको छ, म आफ्नो गल्तीका लागि सार्वजनिक माफी माग्छु ।”
धेरैले नेपालमा सेलिब्रिटी र उनीहरूका परिवारमाथि हुने मानसिक हिंसा नियन्त्रण गर्न कडा कानुनको आवश्यकता रहेको औंल्याएका छन् ।
पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १९:३५
