close

फेसबुकको माउ कम्पनी मेटाले खरिद गर्‍यो चिनियाँ एआई स्टार्टअप म्यानुस

टेकपाना टेकपाना

पुस १५, २०८२ १४:७

फेसबुकको माउ कम्पनी मेटाले खरिद गर्‍यो चिनियाँ एआई स्टार्टअप म्यानुस

काठमाडौँ । सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटाले सिङ्गापुरमा आधारित एआई एजेन्ट स्टार्टअप म्यानुसलाई अधिग्रहण गर्ने घोषणा गरेको छ । यो अधिग्रहणलाई मेटाले आफ्नो एआई विकासको गतिलाई तीव्र बनाउने र आफ्ना प्लेटफर्महरूमा एड्भान्स अटोमेसन सेवा एकीकृत गर्ने रणनीतिक कदमको रूपमा हेरिएको छ ।

म्यानुसले यसै वर्ष विश्वको पहिलो 'जनरल एआई एजेन्ट' सार्वजनिक गरेको दाबी गरेको थियो । जसले बजार अनुसन्धान, कोडिङ र डेटा विश्लेषण जस्ता जटिल कार्यहरू निकै कम प्रम्प्टको आधारमा स्वचालित रूपमा कार्यान्वयन गर्न सक्छ । यो कम्पनीको च्याटबटले ओपनएआईको डिप रिसर्च एजेन्टभन्दा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिएको छ । हालसम्म यसले १४७ ट्रिलियन टोकन प्रोसेस गरिसकेको छ र ८ करोडभन्दा बढी भर्चुअल कम्प्युटर सञ्चालन गरिरहेको छ ।

सम्झौताको विस्तृत विवरण आधिकारिक रूपमा नखुलाइएको भए पनि यो सम्झौता २ अर्ब अमेरिकी डलरदेखि ३ अर्ब अमेरिकी डलरबिचको मूल्यमा भएको अनुमान गरिएको छ । म्यानुसले सञ्चालनमा आएको आठ महिनामै १०० मिलियन डलर भन्दा बढी वार्षिक औसत आम्दानी हासिल गरिसकेको थियो । बेन्चमार्क, टेन्सेन्ट र एचएसजी जस्ता ठुला कम्पनीहरू यसका मुख्य लगानीकर्ताहरू हुन् ।

म्यानुसको सुरुवात चीनको स्टार्टअप 'बटरफ्लाई इफेक्ट'बाट भएको थियो । तर पछि यो सिङ्गापुरमा स्थानान्तरण भयो । मेटाका अनुसार अब म्यानुसका कर्मचारीहरू मेटाको टोलीमा सामेल हुनेछन् । म्यानुसका सीईओ सिआओ होङले भनेका छन्, "मेटामा सामेल हुनुले हामीलाई म्यानुसको कार्यशैली वा निर्णय प्रक्रियामा परिवर्तन नगरी अझ बलियो र दिगो जगमा उभिन अनुमति दिनेछ ।"

मेटाले म्यानुसको सेवा आफ्ना उपभोक्ता र व्यापारिक उत्पादन, विशेष गरी मेटा एआईमा एकीकृत गर्ने योजना बनाएको छ । हालका लागि म्यानुसले आफ्नो सब्सक्रिप्सन सेवालाई विना अवरोध बिना जारी राख्नेछ । भविष्यमा यो सेवालाई मेटाका प्लेटफर्महरूमा रहेका करोडौँ व्यवसाय र अर्बौँ मानिसहरू माझ पुर्‍याउने लक्ष्य राखिएको छ ।

यो अधिग्रहण मेटाको यो वर्षको आक्रामक एआई विस्तारको पछिल्लो कडी हो । यसअघि मेटाले स्केल एआईमा १४.३ अर्ब डलर लगानी गरेको थियो र हालै एआई-वेयरेबल स्टार्टअप 'लिमिटलेस' लाई पनि खरिद गरेको छ । 

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १४:७