close

कल बाइपासको आशंकामा एक आईटी कम्पनीमा सीआईबीको छापा, प्रयोग गरिएका उपकरणसहित १ जना पक्राउ

टेकपाना टेकपाना

पुस १८, २०८२ १७:५३

कल बाइपासको आशंकामा एक आईटी कम्पनीमा सीआईबीको छापा, प्रयोग गरिएका उपकरणसहित १ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौँ ज्ञानेश्वरबाट झापा बिर्तामोडका ३० वर्षका राजन राजवंशीलाई पक्रेको हो । 

गोप्य सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल समेतको प्राविधिक सहयोग र समन्वयमा ब्युरोबाट खटिएको टोलीले काठमाडौँ-३०, ज्ञानेश्वरस्थित  सलिना राईले सञ्चालन गरेको कस्टको इन्फरमेसन टेक्नोलोजीमा छापा मारेको थियो । सो कार्यालयबाट इन्टरनेट प्रयोग गरी कल बाइपास गर्ने निम्न उपकरण सहित हाल काठमाडौँ-४ धुम्बाराही बस्ने राजवंशीलाई पक्राउ गरिएको हो । 

साथमा ह्वावेका २/२ थान राउटर तथा एडप्टर, टीपी लिङ्कका एकएक थान राउटर तथा एडप्टर, ग्रान्ड स्ट्रिम कम्पनीको सिपपीबीएक्स ६० प्यानल, सीपीयू, मनिटर, यूपीएस, किबोर्ड र माउस समेत बरामद गरिएको छ । राजवंशीलाई पक्राउ गरी दूरसञ्चार ऐन,२०५३ अन्तर्गतको कसुरमा पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १७:५३