close

विश्वकपको लाइभ प्याकेज ९९९ मा बेच्दा पनि लगानी उठाउन ४ लाख बढी सब्सक्राइबर बनाउनु पर्ने बाध्यता

टेकपाना टेकपाना

जेठ २६, २०८३ १३:५९

विश्वकपको लाइभ प्याकेज ९९९ मा बेच्दा पनि लगानी उठाउन ४ लाख बढी सब्सक्राइबर बनाउनु पर्ने बाध्यता

काठमाडौँ । आउँदो बिहीबारदेखि सुरु हुन गइरहेको फिफा विश्वकप २०२६ को नेपालभित्र लाइभ गर्ने अधिकार लिएको कम्पनीलाई आफ्नो लगानी उठाउन निकै चुनौतीपूर्ण हुने देखिएको छ । नेपालबाट विश्वकप हेर्ने शुल्क गत सिजनको तुलनामा झन्डै दोब्बरले महँगो भए पनि दर्शकबाट उठ्ने रकमले मात्रै पनि सञ्चालकको सम्पूर्ण लागत धान्न धौ-धौ पर्ने अवस्था सिर्जना भएको हो ।

यस पटक विश्वकपको विशेष (एक्सक्लुसिभ) प्रसारण अधिकार एसप्रो मिडिया प्रालिले फिफाबाट सोझै खरिद गरेको छ । एक्सक्लुसिभ ब्रोडकास्टिङ तथा मिडिया राइट्सका लागि मात्रै कम्पनीले १७ लाख ७५ हजार अमेरिकी डलर (करिब २७ करोड २५ लाख रुपैयाँ) खर्चिएको छ । तर, टेलिभिजन र डिजिटल प्लेटफर्ममा प्रत्यक्ष प्रसारण गर्दा प्राविधिक व्यवस्थापन, कर र अन्य खर्चहरू जोड्दा विभिन्न शीर्षक गरी विश्वकप प्रसारणको कूल लागत करिब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

तर नेपालको विज्ञापन बजार निकै सानो छ । एसप्रो मिडियाका अध्यक्ष सोम धितालका अनुसार नेपालमा कूल ५ देखि ८ करोड रुपैयाँभन्दा बढीको विज्ञापन बजार छैन । ५० करोड लागतमध्ये करिब ८ करोड रुपैयाँ विज्ञापनबापत सङ्कलन हुने अनुमान गरे पनि, बाँकी ४२ करोड रुपैयाँ सब्सक्रिप्सन (दर्शकले तिर्ने शुल्क) मार्फत नै उठाउनुपर्ने बाध्यता प्रसारकलाई छ ।

दर्शकका लागि टेलिभिजनमा लाइभ प्याकेजको मूल्य ९९९ रुपैयाँ तोकिएको छ । यसलाई नै आधार बनाउँदा मात्रै पनि उक्त ४२ करोड रुपैयाँ उठाउन कम्तीमा चार लाख २० हजार ग्राहक बनाउनुपर्ने हुन्छ । मोबाइल तथा डिजिटल माध्यममा खेल हेर्नका लागि दुई वटा विकल्प छन्; एउटा डिभाइसमा मात्र हेर्न ५४९ रुपैयाँ र दुई वटा डिभाइसमा (एक फोन र एक वेबसाइट) हेर्नका लागि ९९९ रुपैयाँ तोकिएको छ । यस्ता ओटीटी ग्राहकको ५४९ रुपैयाँ सब्सक्रिप्सनलाई समेत आधार बनाउने हो भने प्रसारकलाई लागत उठाउन अझ धेरै सब्सक्राइबरमा पुग्नुपर्नेछ ।

४ लाखभन्दा बढी सब्सक्राइबर जुटाउने विषयलाई लिएर डिशहोमका पूर्व प्रबन्ध निर्देशक सुदीप आचार्यले आशङ्का व्यक्त गरेका छन् । उनले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उदाहरण दिँदै भनेका छन्, "एनपीएलमा नेपालभित्र साढे २ लाख सब्सक्रिप्सन नकाटेको अवस्थामा फिफा विश्वकपमा ग्राहक सङ्ख्या कति पुग्ला ?" उनले डलरको भाउ (१५३.५), १३ प्रतिशत भ्याट, १०% टीडीएस, २% रोयल्टीका साथै डिस्ट्रिब्युसन कमिसन, पेमेन्ट गेटवे कस्ट, प्लेटफर्म कस्ट, प्रविधि खर्च र प्रवर्धन खर्चको लामो सूची प्रस्तुत गर्दै ५० करोड लगानी उठ्नेमा प्रश्न उठाएका छन् ।

सन् २०२२ को कतार विश्वकप नेपाली दर्शकले करसहित ५६५ रुपैयाँमा हेर्न पाएका थिए । त्यस बेला मिडिया हब प्रालिले भारतको भायकमसँग २० करोड २५ लाख रुपैयाँमा नेपालका लागि प्रसारण अधिकार खरिद गरेको थियो ।

तर यस पटक टेलिभिजनका लागि हिमालय स्पोर्ट्स र डिजिटल प्लेटफर्मका लागि डिगो एपसँग सहकार्य गरेको एसप्रो मिडियाले शुल्क बढाएको छ । अहिले टेलिभिजनमा विश्वकप हेर्न ९९९ रुपैयाँ लाग्नेछ भने मोबाइल (डिजिटल) मा एउटा डिभाइसका लागि ५४९ रुपैयाँ र दुईवटा डिभाइसका लागि ९९९ रुपैयाँ तोकिएको छ ।

शुल्क वृद्धिको मुख्य कारण लागतमा आएको उछाललाई मानिएको छ । अध्यक्ष धितालले भनेका छन्, "यस पटक टोलीहरूको सङ्ख्या बढी छ अनि खेल पनि बढी नै छन् । डलरको भाउ बढेर १५३ देखि १५४ रुपैयाँ पुगेको छ । जसले गर्दा विदेश पठाउनुपर्ने रकममा भारी अन्तर आएको छ ।"

सञ्चालकका अनुसार नेपालमा नाफा कमाउनेभन्दा पनि न्यूनतम लागत उठोस् र नेपाली दर्शकले फुटबल हेर्न पाऊन् भन्ने मुख्य ध्येय राखिएको छ । समूह चरणका केही खेलहरू हिमालय टेलिभिजनबाट निःशुल्क रूपमा समेत देखाइने व्यवस्था मिलाइएको छ भने बाँकी खेलहरू हिमालय स्पोर्ट्स र डिगो एपमा उपलब्ध हुनेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १४:२५