पद्म कन्या क्याम्पसमा ‘हल्ट प्राइज’ अभिमुखीकरण सम्पन्न, ३०० बढी विद्यार्थीको सहभागिता
पुस २०, २०८२ १८:४९
काठमाडौँ । बागबजारस्थित पद्म कन्या बहुमुखी क्याम्पसमा ‘हल्ट प्राइज २०२५/२६’ को औपचारिक सुरुवात गर्दै एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा सामाजिक उद्यमशीलताको भावना विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न शैक्षिक संकायका ३०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
क्याम्पसमा बीबीए, बीबीएम, बीआईटी, बीसीए, बीएचएम, बीसीएसआईटी र वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका थिए । कार्यक्रममा हल्ट प्राइजको विश्वव्यापी सञ्जाल, यसको प्रभाव र विद्यार्थीहरूले कसरी सामाजिक उद्यमी बन्न सक्छन् भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै निमित्त क्याम्पस प्रमुख बिमला नेपालले विद्यार्थीहरूलाई परम्परागत करियर भन्दा माथि उठेर नवीन सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । त्यस्तै, हल्ट प्राइजका अन-क्याम्पस प्रतिनिधि सह-प्राध्यापक प्रेमलाल अधिकारी, हल्ट प्राइजका राष्ट्रिय संयोजक रियाज नेपाल र राष्ट्रिय कमिटी संयोजक साइसा श्रेष्ठले विद्यार्थीहरूलाई सामाजिक परिवर्तनको संवाहक बन्न उत्प्रेरित गरेका थिए ।
कार्यक्रमलाई भव्य बनाउन विभिन्न संघसंस्थाहरूले सहयोग गरेका थिए । कार्यक्रमको ‘डायमण्ड पार्टनर’ का रूपमा ‘निम्तो’ (NIMTO) र एसोसिएट पार्टनरका रूपमा कुमारी जब रहेका थिए । वातावरणीय दिगोपनालाई जोड दिँदै काठमाडौँ नर्सरीले ‘प्लान्ट पार्टनर’ र एथरले ईभी पार्टनरको भूमिका निभाएका थिए ।
त्यस्तै, प्राविधिक सहयोग ग्लोबल डायरीले गरेको थियो भने सञ्चार साझेदारका रूपमा कान्तिपुर दैनिक, उज्यालो अनलाइन र एडुसञ्जाल रहेका थिए । कार्यक्रममा सहभागीहरूका लागि स्न्याक्स पार्टनरका रूपमा ‘दाइ भाइको चिया पसल’ ले सहयोग गरेको थियो ।
यस अभिमुखीकरणसँगै पद्म कन्या क्याम्पसमा यो वर्षको हल्ट प्राइजको यात्रा आधिकारिक रूपमा सुरु भएको छ ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १८:४९
