close

आइएमई रेमिट्यान्सको काउन्टरमा आउने सेवाग्राहीको नागरिकता दुरुपयोग गरी लाखाैँ ठगी, ७ पक्राउ

टेकपाना टेकपाना

पुस २१, २०८२ १४:४५

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषामा केही समयअघि दुई जना पीडितले ठगीमा परेको भन्दै निवेदन दिए । तीमध्ये एक जना सामाजिक सञ्जालमा सस्तो मूल्यमा राखिएको फर्निचर र अर्का युवक फेसबुकमार्फत नै मोटरसाइकल खरिद गर्न खोज्दा ठगिएका थिए । सस्तो र आकर्षक सामानको विज्ञापन देखेर अर्डर गर्न खोज्दा उनीहरूलाई अग्रिम भुक्तानी गर्न लगाइएको थियो । तर, रकम भुक्तानी गर्नासाथ विज्ञापन राख्ने व्यक्ति सम्पर्कविहीन भएपछि आफूहरू ठगिएको महसुस गर्दै उनीहरू प्रहरीकहाँ पुगेका थिए ।

“दुई जना पीडित अनलाइनमा सामान किन्न खोज्दा ठगिनु भएको रहेछ, उहाँहरूले दिएको निवेदनलाई नै आधार मानेर हामीले अनुसन्धान अगाडि बढायौं,” प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले भने । 

अनुसन्धानका क्रममा प्रहरीले पीडितहरूले रकम पठाएको डिजिटल वालेट सञ्चालकको पहिचान गर्ने प्रक्रिया सुरु गर्‍यो । त्यस क्रममा उक्त वालेट धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी एक महिलाको नाममा दर्ता रहेको खुल्यो ।

प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनी चकित परिन् । सामान्य लेखपढ मात्र गर्न सक्ने उनलाई डिजिटल वालेट भनेको के हो भन्ने समेत थाहा थिएन । तर, प्रहरीले वालेटमा रहेको फोटो देखाएपछि उनले उक्त फोटो कहाँ र कहिले खिचिएको थियो भन्ने सम्झिइन् र सोही जानकारी प्रहरीलाई दिइन् ।

महिलाले दिएको सुइँकोका आधारमा प्रहरी टोली चारनाथ नगरपालिका वडा नम्बर ९ स्थित ‘मामा भान्जा ट्रेडर्स’ (आइएमई काउन्टर) मा पुग्यो । त्यहाँका सञ्चालक विनोद भनिने विशाल भुजेललाई केरकार गर्दा अनलाइन ठगीको एउटा ठूलो सञ्जाल नै फेला पर्यो ।

यसरी हुन्थ्यो ठगी

डीएसपी बमका अनुसार आरोपी विशाल भुजेलले आफ्नो आइएमई काउन्टरमा रेमिट्यान्सको रकम लिन आउने सेवाग्राही, विशेषगरी महिलाहरूलाई निशाना बनाउने गरेका थिए ।

“विदेशमा रोजगारीका लागि गएका व्यक्तिले पठाएको रकम लिन जाने व्यक्ति, त्यसमा पनि विशेषगरी महिलालाई निशानामा पार्ने रहेछ,” बमले भने, “रकम निकाल्न नागरिकता र फोटो माग्ने अनि फोटो नभएका व्यक्तिको फोटो आफैँले खिच्ने रहेछ ।” 

यसरी रेमिट्यान्स रकम पाउन सेवाग्राहीले बुझाउने नागरिकताको प्रतिलिपि र फोटो छेउमा रहेको दीपशिखा मोबाइल पसल सञ्चालक ३७ वर्षीय सन्तोष मण्डललाई दिन्थे । मण्डल त्यही नागरिकताको प्रतिलिपि र फोटोबापत विशाल भुजेललाई प्रति नागरिकता १५०० रुपैयाँदेखि २००० रुपैयाँ दिन्थे । 

मण्डलले तिनै कागजात प्रयोग गरेर सिमकार्ड निकाल्ने र डिजिटल वालेट (इसेवा, खल्ती आदि) बनाएर भेरिफाई गर्थे । मण्डलले आफ्नो पसलमा सिम लिन आउने अन्य ग्राहकलाई समेत झुक्याएर उनीहरूको नाममा थप सिम निकाल्ने गरेको अनुसन्धानमा देखिएको छ ।

यसरी तयार पारिएका 'भेरिफाइड' वालेट अकाउन्ट मण्डलले २५ वर्षीय साधु रामलाई ६ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री गर्थे । धनुषाको धनौजी गाउँपालिकाका साधु रामले ती अकाउन्टहरू आफ्नो डिभाइसमा लगइन गरी अनलाइन ठगी गर्ने गिरोहलाई उपलब्ध गराउँथे । साधु राम आफैँ पनि ठगीमा संलग्न रहेको र वालेट उपलब्ध गराए बापत ठगीको रकमबाट २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको प्रहरीले जनाएको छ ।

साधु रामले ती वालेटहरू स्थानीय २२ वर्षीय बलराम मण्डल, २० वर्षीय रुपेशकुमार साह र १९ वर्षीय निक्कीकुमार रामलाई उपलब्ध गराउँथे । यी तीन जनाले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर लत्ताकपडा, फर्निचर र मोटरसाइकल जस्ता सामग्री सस्तोमा बिक्री गर्ने भन्दै विज्ञापन राख्ने गर्थे । ग्राहकले सामान किन्न चाहेमा उनीहरूले साधु रामबाट लिएका वालेटमा रकम पठाउन लगाई त्यसपछि सम्पर्कविहीन हुने गरेका थिए ।

३९ लाखको कारोबार, सातजना पक्राउ

प्रहरीले यस प्रकरणमा हालसम्म सात जनालाई पक्राउ गरिसकेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथमा रहेका वालेट अकाउन्टहरूबाट हालसम्म ३९ लाख २० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ ।

"यस ठगी धन्दाको मुख्य योजनाकार को हो र अन्तिमका तीन जनाले कसका लागि काम गरिरहेका थिए भन्नेबारे थप अनुसन्धान भइरहेको छ," डीएसपी बमले भने ।

प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा विद्युतीय उपकरण र कागजात समेत बरामद गरेको छ । बरामद सामग्रीहरूमा विभिन्न कम्पनीका १९ थान मोबाइल, ४ थान ल्यापटप, १ थान एप्पल आईप्याड, ठगीमा प्रयोग भइरहेका २० थान सिमकार्ड, ५५ थान सिमकार्डका कभर र ३ थान इन्टरनेट राउटर रहेका छन् । पक्राउ परेकाहरूमाथि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०८२ १४:५३