close

सामाजिक सञ्जालमा ‘म उम्मेदवार’ भन्दै प्रचार हुन थालेपछि लामिछानेले भने- टिकट विधिले तय गर्छ

टेकपाना टेकपाना

पुस २१, २०८२ १९:२

सामाजिक सञ्जालमा ‘म उम्मेदवार’ भन्दै प्रचार हुन थालेपछि लामिछानेले भने- टिकट विधिले तय गर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत अहिलेदेखि नै निर्वाचनको उम्मेदवार घोषणा गरेर नहिँड्न निर्देशन दिएका छन् ।

शनिबार आयोजित ‘रास्वपाको वृहत राजनीतिक समायोजन घोषणा सभा’लाई सम्बोधन गर्दै लामिछानेले उम्मेदवार चयनको काम पार्टीको विधि र प्रक्रिया अनुसार हुने स्पष्ट पारे । 

सामाजिक सञ्जाल र विभिन्न क्षेत्रमा ‘म यहाँको उम्मेदवार’ भन्दै प्रचार गर्ने प्रवृत्ति बढेको भन्दै उनले यस्तो होडबाजीलाई तत्काल रोक्न आग्रह गरे ।

“चुनाव आउँदा टिकटका लागि वा अहिलेदेखि नै जोडिएका साथीहरूबीच ‘म यहाँको उम्मेदवार, म त्यहाँको उम्मेदवार’ भन्ने जुन होडबाजी चलेको छ, त्यसलाई एकैपटक खारेज गर्नुहोला,” सम्बोधनका क्रममा लामिछानेले भने, “को कहाँको उम्मेदवार बन्ने भन्ने कुरा पार्टीले अनुशासित ढंगले विधि र प्रक्रियाबाट तय गर्नेछ ।”

उनले पार्टीमा जोडिएका नयाँ नेताहरूलाई कुनै पनि प्रकारको अन्याय नहुने ग्यारेन्टी समेत गरे । लामिछानेले भने, “नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो । व्यक्तिलाई न्याय गर्न सकिन्छ कि सकिन्न थाहा छैन, तर सिङ्गो अभियानलाई अन्याय हुन दिइने छैन ।”

सभापति लामिछानेले सबै नेताहरू एकैपटक केन्द्रीय संसद्मा मात्र जान सम्भव नहुने भन्दै स्थानीय तहका विभिन्न निकायमा पनि जिम्मेवारी सम्हाल्न तयार हुनुपर्ने बताए । “सबैजना केन्द्रीय संसद् जान सम्भव छैन, वडामा पनि कोही जानुपर्छ, पालिकामा पनि कोही जानुपर्छ,” उनले थपे, “अब हाम्रो राजनीतिक चरित्र र सपना लहरभन्दा माथि उठ्नुपर्छ । देशको बागडोर सम्हाल्न सबै साथीहरू तयार रहनुहोला ।”

पछिल्लो अध्यावधिक: पुस २१, २०८२ १९:२