फ्याक्टचेक: हितेन्द्रले जेनजी सहिद परिवारलाई रोजगारी दिनलाग्दा कुलमानले अवरोध गरेको दाबी झुटो
माघ ५, २०८२ २१:०
काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ बारेको एउटा दाबी चर्चामा आइरहेको छ । जेन-जी सहिद परिवारका सदस्यहरूलाई रोजगारी दिन उनले अवरोध गरेको दाबी सहितका पोस्टहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
घिसिङको राजीनामापछि मात्रै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले २७ जना जेन-जी घाइते तथा सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको दाबी सहितका पोस्ट भाइरल भएका छन् । टेकपाना तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । घिसिङले मन्त्री पदबाट राजीनामा दिनुभन्दा एक दिन पहिले नै जेन-जी सहिद परिवारका सदस्यलाई रोजगारी दिलाउने निर्णय गरेको पुष्टि भएको छ ।
दाबी
फेसबुक प्रयोगकर्ता ‘Ganesh Basnet’ ले कुलमान घिसिङ जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई रोजगारी दिन बाधक बनेको र घिसिङ मन्त्रीबाट हट्ने बित्तिकै रोजगारी दिलाइएको दाबी गरेका छन् । १५ जनवरीको राति ८:१८ मा पोस्ट सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
पोस्टमा ‘GEN-Z आन्दोलनका सहिदका 27 परिवारलाई प्राधिकरणमा रोजगारी’ लेखिएको तस्बिर प्रयोग गरिएको छ । तस्बिरको पृष्ठभूमिमा सिंहदरबार जलिरहेको र अगाडि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको तस्बिर राखिएको छ । पोस्ट उनले लेखेका छन्, “नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारका २७ जनालाई रोजगारी दिलाउनु भएको छ । अदालतको निर्णयबाट काममा आए लगत्तै शाक्यले यो काम थाले पनि मन्त्री कुलमान बाधक बनेको र मन्त्री हटेपछि काम दिलाइएको हो ।”
पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अनुसन्धान
सामाजिक सञ्जालमा पूर्व मन्त्री घिसिङ जेन-जी सहिद परिवार सदस्यलाई रोजगारी दिलाउन बाधक बनेको पोस्ट पाइएपछि अन्य पोस्टहरू खोजी गर्यौँ । एक्स प्रयोगकर्ता ‘राज ढकाल’ ले पनि सोही तस्बिर प्रयोग गरेर समान किसिमको दाबी सहितको पोस्ट गरेको पाइयो । १४ जनवरी दिउँसो १२:४६ मा एक्समा गरिएको उक्त पोस्टमा पूर्व मन्त्री कुलमान घिसिङले काम नगरेको अवस्थामा हितेन्द्रले सबैको हितमा काम गरेको दाबी गरिएको छ । उक्त पोस्टमा लेखिएको छ, “कुलमान ले आफ्नै कुलको रक्षा नगरे पनि हितन्द्रले सबैको हित नै गर्ने रहेछ्न। खास मान्छे चिन्न पनि त समय लाग्ने रहेछ।” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
फेसबुक प्रयोगकर्ता ‘Kamal Dani’ ले पनि उस्तै दाबीसहित पोस्ट गरेका छन् । १५ जनवरी राति ८:३० मा उनले सार्वजनिक गरेको पोस्टमा कुलमानले जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई रोजगारी दिलाउन अवरोध गरेको दाबी गरिएको छ । कुलमानले राजीनामा दिएपछि भने हितेन्द्रले रोजगारी दिलाएको बताइएको छ । उक्त पोस्टमा लेखिएको छ, “नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारका २७ जनालाई रोजगारी दिलाउनु भएको छ । अदालतको निर्णयबाट काममा आए लगत्तै शाक्यले यो काम थाले पनि मन्त्री कुलमान बाधक बनेको र मन्त्री हटेपछि काम दिलाइएको हो ।”
हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
‘अजय गुप्ता समर्थक’ नामक फेसबुक पेजले पनि सोही दाबी र तस्बिरसहित पोस्ट राखेको छ । १५ जनवरी राति ९:४७ मा सार्वजनिक पोस्टमा लेखिएको छ, “नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारका २७ जनालाई रोजगारी दिलाउनु भएको छ । अदालतको निर्णयबाट काममा आए लगत्तै शाक्यले यो काम थाले पनि मन्त्री कुलमान बाधक बनेको र मन्त्री हटेपछि काम दिलाइएको हो .....”। पोस्ट, आर्काइभ लिङ्क तथा स्क्रिनशट ।
‘Dwesh Khadka’ नामको फेसबुक प्रयोगकर्ताले १५ जनवरी राति ८:२६ मा सार्वजनिक गरेको पोस्टमा जेन-जी विद्रोहमा घर जलेपनि हितेन्द्रले रोजगारी दिएको उल्लेख गरेका छन् ।
उक्त पोस्टमा लेखिएको छ, “इलामका हितेन्द्रदेव शाक्य जसलाई केपी ओलिको सालो भनी खेदो खनियो । उनको घर समेत जेन्जी विद्रोहमा जलाइयो । जागिर बाट बर्खास्त गरियो । उनैले २७ जना सहिद परिवारलाई रोजगारी दिने भएछन ।” पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
१५ जनवरी बिहान ५:१२ मा एक्स प्रयोगकर्ता ‘भीष्म ( Bhismak1962)’ ले एक्समा पोस्ट गर्दै आफ्नै घर जेन-जी आन्दोलनमा जले पनि हितेन्द्र शाक्यले जेन-जी आन्दोलनका सहिदहरूको उद्धार गरेको दाबी गरेका छन् ।
उनले लेखेका छन्, “नेपालको पहिलो कृषि बैज्ञानिक जनकमान शाक्य इलाम हाइस्कुलबाट एसएलसी पास गर्ने पहिलो वा दोस्रो व्याचका बिद्यार्थी थिए। ७० को दशकमा POMATO आलु र गोलभेँडा एउटै विरुवा बाट फलाउन सफल भएका थिए। उनका पुत्र हितेन्द्र जसलाई 'शाक्य' थर भएको कारण ओलीको सालो भनेर दुशप्रचार गरियो। जेनजी आन्दोलनमा घुसपैठीले उनको घर पनि जलाए। आज तिनै हितेन्द्र शाक्य जेन-जी आन्दोलनका शहीदहरूको उद्धार गर्न खडा भएका छन। Keep it up @HitendraShak22 !! We appreciate your effort. Continue being a gentleman and a good human being. This should make those miscreants repent their misdemeanor.” उक्त पोस्ट पत्रकार समा थापाले समेत रिपोस्ट गरेकी छिन् । भीष्मको पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
फेसबुक प्रयोगकर्ता ‘Rabin Sayami’ ले १५ जनवरी साँझ ६:३५ मा एक पोस्ट राख्दै हितेन्द्र शाक्यले जेन-जी आन्दोलनको सहिदहरूको उद्धार गरेको दाबी सहितपोस्ट गरेका छन् ।
उक्त पोस्टमा लेखिएको छ, “नेपालको पहिलो कृषि बैज्ञानिक जनकमान शाक्य इलाम हाइस्कुलबाट एसएलसी पास गर्ने पहिलो वा दोस्रो व्याचका बिद्यार्थी थिए। ७० को दशकमा POMATO आलु र गोलभेँडा एउटै विरुवा बाट फलाउन सफल भएका थिए। उनका पुत्र हितेन्द्र जसलाई 'शाक्य' थर भएको कारण ओलीको सालो भनेर दुशप्रचार गरियो। जेनजी आन्दोलनमा घुसपैठीले उनको घर पनि जलाए। आज तिनै हितेन्द्र शाक्य जेन-जी आन्दोलनका शहीदहरूको उद्धार गर्न खडा भएका छन।” पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट
कुलमानले अवरोध गरेको तथा हितेन्द्रले सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेको दाबी गरिएका पोस्टहरूमा समान तस्बिरको प्रयोग भएको छ । त्यसपछि हामीले उक्त तस्बिर कहिले सार्वजनिक भएको रहेछ भनेर गुगल रिभर्स सर्च गरेर खोज्यौँ । खोज्ने क्रममा ९ जनवरी बिहान १०:३० मा ‘TechBiz Hub’ ले राखेको पोस्ट फेला पर्यो ।
पोस्टमा प्राधिकरणले सरकारी निर्णय तथा सहमति अनुसार जेन-जी आन्दोलनका सहिद परिकारका २७ सदस्यलाई रोजगारी दिने निर्णय गरेको उल्लेख गरिएको छ । पोस्टमा लेखिएको छ, “नेपाल विद्युत प्राधिकरणले सरकारी निर्णय तथा सहमतिअनुसार Gen-Z आन्दोलनका सहिदका २७ जना परिवार सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
पछि अन्य प्रयोगकर्ताले सोही तस्बिरको प्रयोग गर्दै विभिन्न स्टाटससहित पोस्टहरू राखेको पाइयो । त्यसपछि हामीले
जेन-जी सहिद परिवारलाई प्राधिकरणले रोगजारी दिने निर्णय गरेको सम्बन्धि समाचारहरू खोज्यौँ । अनलाइन न्युज पोर्टल ‘नेपाल खबर’ ले २४ पुस (८ जनवरी) मा सहिद परिवार सदस्यलाई प्राधिकरणले रोजगारी दिन लागेको समाचार सार्वजनिक गरेको छ ।
उक्त समाचारमा लेखिएको छ, “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड) का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले यस्ताे निर्णय गरेको हो।” हेर्नुहोस् लिङ्क र स्क्रिनशट ।
२४ पुस (८ जनवरी) मै ‘सेतोपाटी’ ले पनि उक्त समाचार राखेको छ । समाचारमा भनिएको छ, “सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौता, मन्त्रीपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र सहिद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय उल्लेख छ।”
हामीले जेन-जी आन्दोलनमा सहिद भएका परिवारलाई विद्युत् प्राधिकरणले रोजगारी दिने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले २२ पुस (६ जनवरी)मा गरेको निर्णयको माइनटिङ समेत हेर्यौँ । उक्त निर्णयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २७ जनाको नाम एकिन गरेर प्राधिकरणलाई पठाएको उल्लेख छ । सोही पत्रको आधारमा जेन-जी सहिद परिवारका सदस्यहरूको शैक्षिक योग्यता र पायक पर्ने कार्यालयमा बढीमा तह-३ सम्मको पदमा नियुक्त गर्ने निर्णय गरेको उल्लेख छ ।
हेर्नुहोस् प्राधिकरणको निर्णय
त्यसपछि हामीले प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाएको पत्र हेर्यौँ । २० पुस (४ जनवरी) मा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल विद्युत् प्राधिकरणलाई २७ जना जेन-जी सहिद परिवार सदस्यका निवेदनको सक्कल पठाएको उल्लेख छ ।
उक्त पत्रमा नेपाल विद्युत् प्राधिकरणलाई सम्बोधन गर्दै भनिएको छ, “संवत् २०८२ साल भाद्र २३ र २४ गतेको जेन-जी (Gen-Z) प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधी, २०८२ को बुँदा नं. ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्तांक ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्थाका सन्दर्भमा प्राप्त हुन आएका देहाय बमोजिमका निवेदकहरु (२७ जना) को सक्कलै निवेदन यसै साथ संलग्न गरी पठाइएको व्यहोरा मिति २०८२/९/२० को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।”
यता कुलमान घिसिङले अन्तरिम सरकारको मन्त्री पदबाट २३ पुस (७ जनवरी) मा प्रधानमन्त्री समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा पत्र बुझाउनुपूर्व उनी ऊर्जा सहित भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको मन्त्रीको रूपमा बहाल थिए ।
हेर्नुहोस् कुलमान घिसिङको राजीनामा पत्र
नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार ऊर्जा मन्त्री वा नेपाल सरकारले तोकेको नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी अध्यक्ष, प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिवसहित आठ जना सदस्य रहने व्यवस्था गरिएको छ । सोही कानुन अनुसार मन्त्री पदबाट राजीनामा दिनुअघि घिसिङले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षता गरेका थिए । उनकै अध्यक्षतामा २२ पुस (६ जनवरी) मा बसेको समितिको बैठकले जेन-जी आन्दोलनका सहिद परिवारका सदस्यहरूलाई प्राधिकरणमा करार पदमा रोजगारी दिने निर्णय गरेको थियो ।
यसबाट पूर्व मन्त्री कुलमान घिसिङले जेन-जी सहिद परिवारलाई प्राधिकरणमा रोजगारी दिन अवरोध सिर्जना गरेको भन्ने दाबी मिथ्या रहेको पुस्टि हुन्छ ।
दाबी
पूर्व मन्त्री कुलमान घिसिङले जेन-जी सहिद परिवारलाई प्राधिकरणमा रोजगारी दिन अवरोध सिर्जना गरे । उनी मन्त्री पदबाट हटेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले जेन-जी सहिद परिवारका २७ जना सदस्यलाई नियुक्ति दिए ।
दाबीकर्ता
‘Ganesh Basnet’, ‘राज ढकाल’, ‘Kamal Dani’, ‘अजय गुप्ता समर्थक’, ‘Dwesh Khadka’, ‘भीष्म ( Bhismak1962)’ लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
नेपाल विद्युत् प्राधिकरणमा जेन-जी सहिद परिवारका सदस्यलाई करारमा रोजगारी दिने निर्णय २२ पुस (६ जनवरी) मा भएको थियो । उक्त समयमा कुलमान घिसिङ ऊर्जा मन्त्री र प्राधिकरण सञ्चालक समितिको अध्यक्षकै रूपमा बहाल थिए । उनकै अध्यक्षतामा बसेको बोर्ड बैठकले सहिद परिवारलाई रोजगारी दिने निर्णय थियो । उक्त निर्णय भएको भोलिपल्ट अर्थात् २३ पुस (७ जनवरी) मात्र कुलमानले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
ऊर्जा मन्त्रालयले २० पुस (४ जनवरी) मा सचिवस्तरीय निर्णय गरी २७ जनाको नामावली प्राधिकरणमा पठाएको थियो । सोही पत्रको आधारमा प्राधिकरणको सञ्चालक समितिले रोजगारी दिने प्रक्रिया अघि बढाएको हो ।
निष्कर्ष
सामाजिक सञ्जालमा पूर्वमन्त्री कुलमान घिसिङले जेन-जी सहिद परिवारलाई रोजगारी दिलाउन अवरोध सिर्जना गरेको दाबी सहितका पोस्टहरू सार्वजनिक भएका छन् । घिसिङले मन्त्री पदबाट राजीनामा दिएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेन-जीका सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेको दाबी गरिएको छ । टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिनुभन्दा अघिल्लो दिन नेपाल विद्युत् प्राधिकरणमा जेन-जी सहिद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेका थिए । निर्णय भएको भोलिपल्ट मात्रै उनले राजीनामा बुझाएका हुन् ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ ५, २०८२ २१:३२
