close

फ्याक्टचेकः झापा-५ मा सर्वेक्षण गर्दा बालेनलाई ओलीले जिते भन्दै एआई पोस्टर भाइरल, डेटा पनि फेक

हिक्मत आचार्य हिक्मत आचार्य

माघ ६, २०८२ १४:४७

फ्याक्टचेकः झापा-५ मा सर्वेक्षण गर्दा बालेनलाई ओलीले जिते भन्दै एआई पोस्टर भाइरल, डेटा पनि फेक

काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालका विभिन्न माध्यममा झापा क्षेत्र नम्बर ५ को मत सर्वेक्षण भन्दै विभिन्न पोस्ट भाइरल भइरहेका छन् । 

१० हजार मानिसमाझ गरिएको भनिएको सर्वेक्षणमा ओलीले बालेनलाई भारी मतले जितेको देखाइएको छ । तर, टेकपाना फ्याक्टचेकले गरेको अनुसन्धानबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । कुनै पनि वैज्ञानिक विधि प्रयोग नगरी केवल पोस्टर बनाएर भ्रम फैलाइएको हो ।

दाबी

फेसबुकमा ‘आचार्य हरी’ नामका प्रयोगकर्ताले १८ जनवरी २०२६ मा फेसबुकमा एक पोस्ट राखे । पोस्टको क्याप्सनमा लेखिएको छ, “झापा ५ मा १० हजार जना व्यक्तिलाई सर्भे गर्दा आएको रिजल्ट तल छ हेरेर प्रतिक्रिया दिनुहोला। K P Sharma Oli Balen  कृपया कमेन्ट गर्दा सभ्य भाषामा कमेन्ट गर्नुहोला।”

उक्त पोस्टमा राखिएको फोटोमा केपी ओली र बालेनले पाएको मत भन्दै सङ्ख्या राखिएको छ । जहाँ केपी ओलीले ७५०० भोट, बालेनले १२५० भोट ल्याएको देखिइएको छ भने २५० तटस्थ भोट रहेको उल्लेख गरिएको छ । माथिपट्टि ‘Jhapa-5 Survey Results’ लेखिएको छ । पोस्टमा यो सर्वेक्षण १० हजार जनामा गरिएको दाबी गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ९६०० बढी रियाक्सन, ३३०० बढी कमेन्ट र ६० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा थप सामग्री खोज्न किवर्ड सर्च विधि प्रयोग गर्‍यो । त्यस क्रममा ‘झापा ५ मा १० हजार’ किवर्ड सर्च गर्दा प्रमेश्वर घिमिरे नामका प्रयोगकर्ताले पोस्ट राखेको फेला पर्‍यो । यसको स्रोत भने सामाजिक सञ्जाललाई दिइएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘सुदूर खबर’ नामक पेजले पनि उही पोस्ट कपी पेस्ट गर्दै फेसबुकमा राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

महेश सापकोटा नामका प्रयोगकर्ताले १४ जनवरी २०२५ बेलुका ७ः४४ बजे यस्तै अर्को पोस्ट राखेको फेला पर्‍यो । उक्त पोस्टमा झापा-५ को भोटिङ पुल सर्वे लेखिएको छ । जहाँ केपी शर्मा ओली ५८ प्रतिशत, बालेन शाहले ३८ प्रतिशत र बाँकी ४ प्रतिशत तटस्थ रहेको दाबी गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १४०० बढी रियाक्सन, ४७७ कमेन्ट र ५५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

हामी एमाले नामक फेसबुक पेजले १६ जनवरी २०२६ मा सोही पोस्ट शेयर गरेको छ । उक्त पोस्टको क्याप्सनमा केपी शर्मा ओलीको समर्थनमा कमेन्ट गर्न भनिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त सामग्रीमा १९०० बढी रियाक्सन, २१०० बढी कमेन्ट र ३५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

आउट अफ कन्टेन्स नेपाल नामक प्यारोडी पेजले १६ जनवरीमै केपी शर्मा ओली र बालेन शाहबिचको मतान्तरको विषयसँग सम्बन्धित पोस्ट राखको छ । जहाँ ओलीले ५८ प्रतिशत, बालेनले ३८ प्रतिशत मत ल्याएको दाबी गरिएको छ । हेर्नुहोस् आर्काइभ पोस्ट । 

झापा-५ को मत सर्वेक्षण भन्दै दुई ओटा फरक पोस्टर भाइरल भइरहेका छन् । त्यसमध्ये पहिले झापा-५ मा १० हजार व्यक्तिमा गरिएको सर्वेक्षण भनिएको छ । कसले गरेको, कहिले गरेको, कुन विधि प्रयोग गरेर गरेको भन्ने कुनै पनि विवरण पोस्टमा छैन । केपी शर्मा ओली र बालेन शाहको एआई सिर्जित फोटो राखेर ओलीले ७५ प्रतिशत र बालेनले १२.५ प्रतिशत मत ल्याएको दाबी गरिएको छ । यो स्वतः भ्रामक पुष्टि हुन्छ । 

हाइभ मोडरेसन नामक एआई डिटेक्सन टुलमा राखेर जाँच गर्दा दुवै पोस्टर ९९.९ प्रतिशत एआई सिर्जित भएको भेटियो । 

अनलाइन सर्वेक्षण गराउने प्लेटफर्म सर्भे लेजेन्डका अनुसार राजनीतिक मत सर्वेक्षण गर्ने क्रममा त्यसको उद्देश्य, लक्षित वर्ग, स्याम्पलिङ तरिका, प्रश्नहरू, समय, तथ्याङ्क सङ्कलनका तरिका, डेटा विश्लेषण आदि समेटिएको हुनुपर्छ । त्यसबाहेक राजनीतिक मत सर्वेक्षण प्रतिवेदनमा कानूनी तथा निर्वाचन नीतिलाई प्रष्ट रूपमा पालना गरेको हुनुपर्छ । कसले, कुन उद्देश्यका लागि कहिले कसरी सर्वेक्षण गर्‍यो भन्ने स्पष्ट हुनु आवश्यक छ । तर, यो भाइरल भइरहेको पोस्टमा यी कुनै पनि जानकारी छैनन् । यो केबल सङ्ख्या राखेर पोस्टर बनाइ भ्रम फैलाएको स्पष्ट हुन्छ । 

त्यस्तै केपी ओलीले ५८ प्रतिशत, बालेनले ३८ प्रतिशत र ४ प्रतिशत तटस्थ रहेको अर्को पोस्टर पनि भाइरल भइरहेको छ । त्यहाँ सर्वेक्षण ‘नेस्नल पोल सेन्टर’ ले गरेको भन्ने उल्लेख छ । जवी यो नामको कुनै संस्था नै रहेको देखिंदैन । 

टेकपाना फ्याक्टचेक डेस्कले गुगल एड्भान्स्ड सर्चमा पछिल्लो महिनादेखि हालसम्म झापा-५ मा भएको मत सर्वेक्षण सम्बन्धी रिपोर्ट खोज्यो । तर, कतै पनि रिपोर्ट फेला परेन । 

यी विभिन्न तथ्यलाई आधार बनाउँदा झापा-५ को चुनावी मत सर्वेक्षण भन्दै भाइरल भइरहेका पोस्ट भ्रामक पाइयो । पछिल्लो समय प्रतिनिधि सभा निर्वाचन झापा क्षेत्र नम्बर ५ मा कसैले पनि आधिकारिक तवरबाट चुनावी मत सर्वेक्षण गरेको देखिंदैन ।

दाबी

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा १० हजार व्यक्तिबिच चुनावी मत सर्वेक्षण गरिएको र सो सर्वेक्षणमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह (बालेन्द्र शाह) लाई निकै ठुलो मतान्तरले जितेको । भाइरल पोस्टमा ओलीले ७५०० (७५%) मत र बालेनले १२५० (१२.५%) मत प्राप्त गरेको तथा अर्को एक पोस्टमा ओलीले ५८% र बालेनले ३८% मत ल्याएको दाबी गरिएको छ ।

दाबीकर्ता

आचार्य हरी, प्रमेश्वर घिमिरे, सुदूर खबर, महेश सापकोटा, हामी एमाले लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ! 

तथ्य

भाइरल पोस्टहरूमा सर्वेक्षण कसले, कहिले र कुन वैज्ञानिक विधि प्रयोग गरेर गरेको हो भन्ने कुनै पनि आधिकारिक विवरण खुलाइएको छैन । अर्को एक पोस्टमा सर्वेक्षण गर्ने संस्थाको रूपमा ‘नेसनल पोल सेन्टर’ उल्लेख गरिएको छ, तर यस्तो नाम गरेको कुनै आधिकारिक संस्था नेपालमा अस्तित्वमा रहेको देखिँदैन । केबल पोस्टर बनाएर सर्वेक्षण गरिएको दाबी गरिएको छ । तथ्यजाँचका क्रममा झापा-५ मा हालैका दिनमा कुनै पनि आधिकारिक निकाय वा संस्थाले चुनावी सर्वेक्षण गरेको रिपोर्ट फेला परेन ।

निष्कर्ष

झापा-५ मा केपी ओली र बालेन शाहबिच मत सर्वेक्षण गरिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेका डेटा र पोस्ट भ्रामक छन् । मनगढन्ते डेटा राखेर एआईबाट पोस्टर बनाई भ्रम फैलाइएको पुष्टि हुन्छ । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १७:१४