गगन थापा र निर्वाचन आयोगबिच ५२ करोड लेनदेन भन्ने दुर्गा प्रसाईंको दाबी अपुष्ट र भ्रामक
माघ ७, २०८२ १९:३३
काठमाडौँ । गत शनिबार (१७ जनवरी) मा मेडिकल व्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी गरे । उक्त दाबीको प्रमाणको रूपमा उनले मोबाइलमार्फत एक भिडिओ पत्रकार सम्मेलनमा प्रस्तुत गरेका थिए ।
तर टेकपानाले गरेको खोजीका क्रममा उक्त भिडिओको वास्तविक स्रोत नखुलेको र प्रसाईंको दाबी अपुष्ट रहेको देखिएको छ ।
१७ जनवरीमा प्रसाईंले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनबाट बनेको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता दिन आर्थिक लेनदेन गरेको दाबी गरेका छन् । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई मान्यता दिने निर्णय गरेको थियो । सोही निर्णयका लागि ५२ करोड रुपैयाँको लेनदेन भएको आरोप प्रसाईंले लगाएका छन् ।
युट्युब अकाउन्ट ‘Everest Nepal’ ले प्रसाईँले शनिबार गरेको पत्रकार सम्मेलनमा बोलेको ४६ मिनेट ३५ सेकेन्ड लामो भिडिओ राखेको छ । “दुर्गा प्रसाईंले सार्वजनिक गरे नयाँ काण्ड | राम, राम.. यत्रो पैसाको भएको रहेछ चलखेल | Durga Prasai |” शीर्षकमा सार्वजनिक भिडिओमा प्रसाईंको दाबीसहितको क्लिप देख्न सकिन्छ ।
भिडिओको ३३:३९ मिनेटदेखि ३४:५४ सम्म प्रसाईंले ५२ करोड रुपैयाँ लेनदेन भएको आरोप लगाएका छन् । जहाँ प्रसाईंले ‘प्रमाण’ भन्दै २३ सेकेन्ड लामो भिडिओ मोबाइलबाट मिडियातर्फ फर्काएर देखाएका छन् । उनले भनेका छन्, “हिजो (१६ जनवरी) निर्वाचन आयोगमा कत्रो पैसाको खेल भयो ? हेर्नुहुन्छ ? त्यत्तिकै पायो गगनले ?”
उनले आफ्ना पछाडि रहेका सहयोगीहरूलाई मोबाइल माग्दै भनेका छन्, “खै याँ ल्याओ न म पैसा देखाइदिन्छु ।” त्यसपछि उनलाई सहयोगीले मोबाइल दिन्छन् । मोबाइलबाट भिडिओ प्ले गरेर क्यामेरातर्फ देखाउँदै प्रसाईंले भनेका छन्, “हेर्नुहोस् पैसाको खेलोफड्को भएको, ५२ कडोरको खेलो फड्को भएको । ५२ कडोरमा (करोड) मा साथीहरूले… रुख, अनि के पाए… झण्डा ।”
भिडिओ मोबाइलबाट देखाइरहेका प्रसाईंले मिडियातर्फ हेर्दै भनेका छन्, “भिडिओ खिच्नुस् है ।”
हामीले प्रसाईंको उक्त पत्रकार सम्मेलनका अन्य भिडिओहरू समेत खोज्ने प्रयास गर्यौँ । यसका लागि दुर्गा प्रसाईं, Durga Prasain गगन थापा निर्वाचन आयोग, चुनाव लेनदेन, ५२ करोड लेनदेन, नेपाली काँग्रेस लगायतका किवर्ड राखेर गुगल, टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा सर्च गर्यौँ ।
खोज्ने क्रममा ‘Sajilo Patrika’ ले १७ जनवरीमा प्रसाईंको पत्रकार सम्मेलनको भिडिओ लाइभ गरेको फेला पर्यो । १३:४० मिनेटदेखि १४:५५ सम्मको भिडिओमा प्रसाईंले प्रमाणको रूपमा पेस गरेको क्लिप देख्न सकिन्छ ।
टिकटकमा ‘nepalinlast24hour_’ ले पनि प्रसाईंले पत्रकार सम्मेलनमा ५२ करोडको लेनदेन भएको दाबी गरेको भिडिओको क्लिप सार्वजनिक गरेको छ । २२ सेकेन्ड लामो भिडिओमा भने उनले दाबी गरेको फुटेज स्पष्ट देखिएको छैन ।
१७ जनवरीमा ‘Ktm Dainik’ ले पनि २ मिनेट ४१ सेकेन्ड लामो भिडिओ राखेको छ । उक्त भिडिओमा प्रसाईंले दाबी गरेका प्रमाण देखिएका छैनन् । १७ जनवरीमै ‘JPTnews’ नामक फेसबुक पेजले पनि प्रसाईंको भिडिओ सार्वजनिक गरेको छ ।
यी सबै भिडिओहरू हेर्दा प्रसाईँले २३ सेकेन्ड लामो भिडिओ देखाएका छन् । ती भिडिओहरू मध्ये ‘Everest Nepal’ ले सार्वजनिक गरेको भिडिओ तुलनात्मक रूपमा स्पष्ट देखिन्छ । त्यसैले हामीले सोही युट्युब च्यानलको भिडिओबाट कि फ्रेम निकालेर विश्लेषण गर्यौँ । उक्त भिडिओमा बोराभित्र नेपाली पाँच सय रुपैयाँका बिटा देखाइएको छ ।
‘Everest Nepal’ बाट लिइएका स्क्रिनशट
यस्तै ‘Prakash Oli’ नामका फेसबुक प्रयोगकर्ताले ‘फेक भिडिओ’ देखाएका कारण दुर्गा प्रसाईं पक्राउ शीर्षकमा भिडिओ सार्वजनिक गरेको पाइयो । सोमबार साँझ ५:२९ मा सार्वजनिक २३ सेकेन्ड लामो भिडिओमा प्रसाईंले आर्थिक लेनदेन भएको दाबी गरेको भिडिओ राखिएको छ । भिडिओमा प्रसाईंको मोबाइलमा भिडिओ प्ले गरेर क्यामेरालाई नजिकै लगेर खिचिएको छ भने प्रसाईंले हातबाट देखाएको भन्दा स्पष्ट छ ।
उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “गगन थापाले निर्वाचन आयोगलाई ५२ करोड बझाएको भन्दै देखाएको फेक भिडियोका कारण पोखरा बाट दुर्गा प्रसाई प्रकाउ” । हेर्नुहोस् भिडिओ ।
सोमबार बिहान ९:४४ मा फेसबुक प्रयोगकर्ता ‘Chakra Dani’ ले पनि सोही क्लिप सार्वजनिक गरेका छन् । भिडिओको क्याप्सनमा भनिएको छ, “गगन थापाले निर्वाचन आयोगलाई ५२ करोड बझाएको भन्दै देखाएको फेक भिडियो”
तल हेर्नुहोस् प्रसाईंले दाबी गरेको आर्थिक लेनदेनको भिडिओका कि फ्रेम ।
प्रसाईँले सार्वजनिक गरेको भिडिओको कि फ्रेमहरूको विश्लेषण गर्दा उक्त भिडिओमा नेपाली पाँच सयका नोटले भरिएका बोराहरू देखिएका छन् । भिडिओमा मानिसहरूले पैसा भएको बोरा खोलेर देखाएका छन् । तर, हात देखिएका व्यक्तिहरूको अनुहार देखाइएको छैन । २१ सेकेन्ड लामो उक्त भिडिओबाट पैसा रहेको स्थान कहाँको हो पनि स्पष्ट छैन ।
पत्रकार सम्मेलनमा प्रसाईंले मोबाइलमार्फत भिडिओ देखाएका छन् । तर मिडियाहरूलाई उक्त भिडिओ मोबाइलबाट खिच्न मात्र दिएको देखिन्छ । भिडिओको डिजिटल कपि कुनैपनि सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट सार्वजनिक भएको प्रमाण भेटिएन ।
हामीले प्रसाईंले देखाएको भिडिओको कि फ्रेमलाई गुगल इमेज, एन्डेक्स आदि रिभर्स इमेज सर्च टुलको प्रयोग गरेर खोज्दा मेल खाने पुराना भिडिओ फेला पार्न सकिएन । ‘बोरामा पैसा’, ‘पैसै पैसा’, ‘बरामत रकम’ लगायतका किवर्ड राखेर इन्टरनेट तथा सामाजिक सञ्जालमा सर्च गर्दा पनि उक्त भिडिओको अन्य स्रोतमा पुग्न सकिएन ।
गत चुनावमा सबैभन्दा ठुलो दल बनेको नेपाली काँग्रेसले निर्वाचन आयोगसँग आर्थिक लेनदेन गरेको भए त्यस्तो गर्ने व्यक्तिको बारेमा स्पष्ट प्रमाणहरू बाहिर ल्याउनु पर्ने हो । पत्रकार सम्मेलनका क्रममा “५२ करोडको लेनदेन गरेको भिडिओ कसरी पाउनु भयो ?” भनेर सोधिएको प्रश्नमा प्रसाईंले स्पष्ट जवाफ दिन सकेका छैनन् ।
मिडियाकर्मीले ‘भिडिओ कहाँबाट आयो?’ भन्ने प्रश्न सोध्दा उनले जवाफ नदिइ कुराकानीको प्रसङ्ग मोडेका छन् । निर्वाचन आयोग र गगन थापाको ५२ करोडको लेनदेनको प्रमाण दाबी गर्दै मोबाइलबाट भिडिओ देखाएका उनले भिडिओको स्रोत मिडियाकर्मीले माग्ने बित्तिकै कुराकानीको प्रसङ्ग मोडेर जगदीश खरेलसँग भेट भएको कुरा सुनाएका छन् । ‘Everest Nepal’ को भिडिओको ३४:५४ मिनेटपछिको क्लिपमा प्रसाईंले सन्दर्भ मोडेको देखिन्छ ।
पत्रकार सम्मेलनको अन्त्यमा पत्रकारले भिडिओ फुटेज निर्वाचन आयोगकै हो भन्ने प्रमाण के हो भन्दै प्रश्न गरेका छन् । जवाफमा प्रसाईंले घरमै पठाएको पैसाको भिडिओ देखाएको दाबी गरेका छन् । पत्रकारले भिडिओ फुटेज माग्दा उनले दिन अस्वीकार गर्दै भनेका छन्, “तपाईँलाई किन आवश्यक पर्यो ? भोलिपर्सि आवश्यक पर्यो भने बुझाइ हाल्छु ।”
प्रसाईंको उक्त अभिव्यक्तिपछि कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्वाचन आयोगले आइतबार पत्राचार समेत गरेको थियो । सोही पत्रको आधारमा सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौँ ल्याइएको थियो । उनी मङ्गलबार धरौटीमा रिहा भएका छन् ।
रिहा भएपछि प्रसाईंले विभिन्न सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त भिडिओ आफूलाई अन्य व्यक्तिले नै पठाएको दाबी गरेका छन् । रिहाइपछि उनले दिएको अन्तर्वार्ताको भिडिओ ‘Nepal One HD’ नामक युट्युब च्यानलमा राखिएको छ ।
भिडिओमा प्रसाईंले ए फोर साइजको पेपरमा प्रिन्ट गरेर ह्वाट्एपको च्याट जस्तै देखिने स्क्रिनशट प्रमाणका रूपमा देखाएका छन् । भिडिओमा उनले हातमा भएको कागजमा लेखिएका कुराहरू पढेर सुनाएका छन् । तर कागजको अन्तिम लाइनमा आर्थिक लेनदेन गर्ने व्यक्तिहरूको नाम उल्लेख भएको दाबी गरे पनि त्यो नामहरू भने उनले पढेर सुनाएका छैनन् । “फलानो फलानोको नाम समेत छ, अहिले नाम नभनौँ ।”
‘Nepal Sandesh’ नामको युट्युब च्यानलबाट पनि प्रसाईंको अन्तर्वार्ता भिडिओ सार्वजनिक भएको छ । प्रसाईंले कागजमा आर्थिक लेनदेनमा संलग्न भनेर उल्लेख भएको दाबी गरेको तर पढेर नसुनाएको नाममा ‘Sodim waglea ani binod chaudhari’ लेखेको देखिएको छ ।
हेर्नुहोस् प्रसाईंले मङ्गलबार प्रमाणको रूपमा कागज देखाउँदै गरेको भिडिओबाट लिइएको स्क्रिनशट ।
प्रसाईंले सार्वजनिक गरेको भिडिओ आफैले खिचेको नभइ गगन थापा निकट (नेपाली काँग्रेसको टिम) बाट नै उक्त भिडिओ आएको दाबी गरेका छन् । आन्तरिक समूहबिच नै लेनदेन नमिलेर बाहिर आएको कुरा रहेको उनको भनाई छ । “यो चिज (मेसेज) मसँग आइसकेपछि मैले देखाइदिएँ । मैले के गल्ती गरेँ ?” उनले प्रतिप्रश्न गरेका छन् ।
तर कागजमा लेनदेनमा सहभागी भनेर लेखिएको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्ले र नेपाली अर्बपति व्यापारी तथा नेपाली काँग्रेसका पूर्व सांसद विनोद चौधरीको नाम समावेश छ ।
मङ्गलबारको अन्तर्वार्ताका क्रममा आफूले निर्वाचन आयुक्तले पैसा खाए भनेर सोझै आरोप नलगाएको प्रसाईंले बताएका छन् । उनले भनेका छन्, “मैले निर्वाचन आयुक्तले पैसा खाए भनेर भन्या थिएन खेलो/फड्को भन्या थ्यो । यो स्रोत कहाँबाट आयो प्रसाईं जी, के हो ? कसो हो ? कहाँ छ ? को मान्छेले दियो ? भनेर सोध्नु पर्थ्यो । मलाई लगेर थुनेर त यो कुरा पार लाग्दैन होला नि । म जत्तिको मान्छेलाई ।”
तर प्रसाईंले शनिबार ‘निर्वाचन आयोगमा पैसाको खेल’ भएको प्रमाणको रूपमा भिडिओ देखाएका थिए । पक्राउ परेपछि भने उनको बोली फेरिएको पाइयो ।
निष्कर्ष
भिडिओमा पैसाका बिटा र हात मात्र देखिन्छ, अडियो छैन । ती हात देखिने व्यक्ति को हुन्, पैसा कहाँ राखिएको हो, भिडिओ कहिलेको हो, पैसा कति छ, कुन सन्दर्भमा भिडिओ कसले खिचेको हो, लेनदेनको हो भने त्यसमा संलग्न व्यक्तिहरू को हुन् भन्ने जस्ता कुनै पनि कुरा भिडिओबाट खुल्दैनन् ।
मिडियाकर्मीले निर्वाचन आयोग र गगन थापाको आर्थिक लेनदेनको भिडिओ कहाँबाट पाउनुभयो भनेर प्रश्न सोध्दा प्रसाईंले जवाफ नदिई प्रसङ्ग मोड्नुले उक्त भिडिओको विश्वसनीयतामा प्रश्न खडा गरेको छ ।
निर्वाचन आयोगले उक्त दाबीलाई झुटो ठहर गर्दै साइबर ब्युरोलाई पत्राचार गरेको थियो । पत्राचारको आधारमा प्रसाईं पक्राउ परेर हाजिरी जमानीमा रिहा भएका छन् ।
रिहाइपछि प्रसाईंले भिडिओ आफूलाई अरू कसैले पठाएको बताउँदै मेसेजको स्क्रिनशट प्रिन्ट गरिएको कागजलाई प्रमाणको रूपमा देखाएका छन् । तर उक्त कागजमा आर्थिक लेनदेनसँग सक्रिय व्यक्तिमा नेपाली काँग्रेससँग असम्बन्धित व्यक्तिको नाम (स्वर्णिम वाग्ले) समेत देखिएका छन् । यस्तै शनिबार ‘निर्वाचन आयोगको खेल’ भन्दै दिएको आफ्नै अभिव्यक्तिलाई नै इन्कार गरेका छन् भने निर्वाचन आयुक्तले लेनदेन गरेको दाबी आफूले नगरेको उल्लेख गरेका छन् ।
समग्र तथ्यको विश्लेषण गर्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाली काँग्रेसका नेता गगन थापा र निर्वाचन आयोगबिच ५२ करोड रुपैयाँको आर्थिक लेनदेन भएको भन्दै सार्वजनिक गरेको भिडिओ भ्रामक रहेको पाइएको छ । प्रसाईंले गगन र निर्वाचन आयोगबिच भएको आर्थिक लेनदेन स्पष्ट रूपमा खुल्ने प्रमाण दिन सकेका छैनन् । आफूले निर्वाचन आयोगको खेल भनेको अभिव्यक्तिलाई पनि मङ्गलबारको अन्तर्वार्तामा सच्याउने कोसिस गरेका छन् । प्रसाईंले आर्थिक लेनदेनमा संलग्न भएका व्यक्ति भनेर मङ्गलबार देखाएको प्रमाणमा पनि असंलग्न व्यक्तिको नाम देखिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ७, २०८२ २०:१४
