फ्याक्टचेकः बालेनलाई गोली हान्नुपर्छ भन्ने व्यक्ति पक्राउ परेका छैनन्, भाइरल फोटो एआई सिर्जित
माघ ९, २०८२ ८:५७
काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जालमा स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई टिकटक मार्फत ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेको दाबीसहितका पोस्टहरू भाइरल भइरहेका छन् । बालेन झापा गएको समयमा उनलाई गोली हान्ने भन्दै एक व्यक्तिले टिकटक लाइभमा दिएको धम्कीको भिडिओ चर्चामा रहेकै बेला केही फेसबुक पेजहरूले आरोपी व्यक्ति पक्राउ परेको दाबी गरेका हुन् ।
तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट यो दाबी भ्रामक पुष्टि भएको छ । बालेनलाई धम्की दिने व्यक्ति हालसम्म पक्राउ परेका छैनन् भने भाइरल भइरहेका फोटोहरू समेत एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट बनाइएका हुन् ।
दाबी
सामाजिक सञ्जाल फेसबुकमा ‘Miss Pabi 41’ नामक पेजले बालेनलाई गोली ठोक्ने भन्ने व्यक्ति पक्राउ परेको दाबीसहितको पोस्ट सार्वजनिक गरेको छ । बिहीबार बिहान १०:३२ मा सार्वजनिक उक्त पोस्टमा लेखिएको छ, “बालेन शाह लाई गो ली ठो'क्छौ भन्ने व्यक्ति प*क्राउ, कति वर्ष जे'ल कोच्दा ठिक होला 🙏❤️👍”
उक्त पोस्टमा यो सामाग्री तयार पार्दा सम्म ३२ हजारभन्दा धेरै रियाक्सन ७८ सय बढी कमेन्ट र ११ सय बढी शेयर भएको छ । हेर्नुहोस् पोस्ट, अर्काइभ लिङ्क तथा स्क्रिनशट ।
२२ जनवरी बिहान ११:०७ मा ‘ktm Post’ नामक फेसबुक पेजले पनि बालेनलाई गोली ठोक्ने बताउने व्यक्ति पक्राउ परेको दाबीसहितको भिडिओ पोस्ट गरेको पाइयो । उक्त पोस्टमा लेखिएको छ, “बालेन शाह लाई गो ली ठो'क्छौ भन्ने व्यक्ति प*क्राउ, कति वर्ष जे'ल कोच्दा ठिक होला 🙏❤️👍” पोस्टमा यो सामग्री तयार पार्दासम्म ३६ सय बढी रियाक्सन ९३१ कमेन्ट र ३२६ पटक शेयर गरिएको छ ।
हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
‘उकाली ओराली भन्ज्याङ चौतारी’ नामक फेसबुक पेजले २२ जनवरी दिउँसो १:०७ मा एक पोस्ट गर्दै सोही दाबी गरेको छ । उक्त पोस्टमा लेखिएको छ, “बालेन शाह लाई गो ली ठो'क्छौ भन्ने व्यक्ति प*क्राउ, कति वर्ष जे'ल कोच्दा ठिक होला ?”
हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
‘Bharat Singh Dhami’ ले २२ जनवरी दिउँसो १:०३ मा एक पोस्ट सार्वजनिक गर्दै सोही दाबी गरेको छ । उक्त पोस्टमा भनिएको छ, “बालेन शाह लाई गो ली ठो'क्छौ भन्ने व्यक्ति प*क्राउ, कति वर्ष जे'ल कोच्दा ठिक होला 🙏❤️👍” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
‘Uwin Magar’ नामको फेसबुक अकाउन्टबाट पनि सोही दाबी सहितको पोस्ट भएको छ । २२ जनवरी दिउँसो ३:०८ मा गरिएको पोस्टको स्टाटसमा लेखिएको छ, “बालेन शाह लाई गो ली ठो'क्छौ भन्ने व्यक्ति प*क्राउ, कति वर्ष जे'ल कोच्दा ठिक होला 🙏❤️👍काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गोली ठोक्ने धम्की दिने व्यक्ति अन्ततः प्रहरीले पक्राउ गरेको छ। यस्ता गम्भीर र आपराधिक धम्कीले समाजमा डर र अस्थिरता फैलाउने काम गर्दछ। कानून अनुसार यस्तो अपराधमा कति वर्षको जेल सजाय उपयुक्त हुन्छ भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ। तपाईंको विचारमा यस्तो कार्यका लागि कस्तो सजाय ठिक होला? 🙏❤️👍”
हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
अर्का फेसबुक प्रयोगकर्ता ‘Raj Bahadur Thapa’ ले पनि सोही दाबी सहितको पोस्ट गरेका छन् । २२ जनवरी साँझ ५:१३ मा सार्वजनिक उक्त पोस्टमा लेखिएको छ, “बालेन शाह लाई गो ली ठो'क्छौ भन्ने व्यक्ति प*क्राउ, कति वर्ष जे'ल कोच्दा ठिक होला 🙏❤️👍” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
हामीले यी भाइरल भएका फोटो र भनाइलाई विभिन्न तवरबाट विश्लेषण गर्यौं । बालेनलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेको दाबी गर्दै विशेषगरी दुई ओटा फोटो भाइरल भइरहेका छन् । त्यसमध्ये एउटा फोटोमा आरोपित भनिएका व्यक्तिको अनुहारमा गोलो घेरा लगाइएको छ भने अर्कोमा छैन ।
सबैभन्दा पहिले गोलो घेरा लगाएको फोटो विश्लेषण गरौं ।
उक्त फोटोमा प्रहरी जस्तो देखिने व्यक्तिले क्याप लगाएको देखाइएको छ । जबकि यस्तो क्याप नेपाल प्रहरीले लगाउँदैन । प्रहरीको नेमप्लेट देखिने ठाउँ अस्वाभाविक रूपमा ब्लर देखिन्छ । यसबाट पनि फोटो म्यानुपुलेटेड हो भन्ने देखिन्छ । बालेनको पृष्ठभूमिमा नेपाल प्रहरीको जस्तो लोगो देखिन्छ । त्यहाँ भएका टेक्स्ट पनि ब्लर छन् । यसबाट पनि उक्त फोटो म्यानुपुलेटेड हो भन्ने देखिन्छ ।
हामीले उक्त फोटो एआई डिटेक्सन टुल हाइभ मोडरेसनमा राखेर हेर्यौं । उक्त टुलले सो फोटो ९९.९ प्रतिशत एआई सिर्जित भएको देखायो ।
त्यस्तै अर्को घेरा नलगाएको भाइरल फोटोमा पनि हामीले विभिन्न पक्षको विश्लेषण गर्यौं । उक्त फोटोमा पनि नेपाल प्रहरीको लोगो र त्यहाँ हुने शब्द अस्वाभाविक रूपमा ब्लर देखिन्छन् । आरोपित भनिएका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी जस्तो देखिने व्यक्तिको नेमप्लेट पनि अस्वाभाविक रूपमा ब्लर देखिन्छ भने दर्ज्यानी चिन्ह ‘तारा’ पनि अस्वाभाविक छ । त्यसबाहेक फोटोको पृष्ठभूमिमा देखिने नेपाली शब्द पनि ब्लर छन् । यसबाट फोटो एडिटेट हो भन्ने देखिन्छ । यसपछि हामीले हाइभ मोडरेसनमा सो फोटो जाँच गर्यौं । त्यस क्रममा उक्त टुलले सो फोटो ९९.९ प्रतिशत एआई सिर्जित हुनसक्ने देखायो ।
बालेनलाई ज्यान मार्ने धम्की दिएको आरोपमा कोही व्यक्ति पक्राउ परेको विषयमा हामीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यसँग सम्पर्क गर्यौं । उनले यो सामग्री तयार पार्दासम्म उक्त घटनामा संलग्न कोही पनि पक्राउ नपरेको जानकारी दिए ।
त्यस्तै साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पनि बालेनलाई धम्की दिएको विषयमा हालसम्म कोही पक्राउ नपरेको पुष्टि गरे ।
सामाजिक सञ्जाल टिकटकमा बालेन झापा पुगेका बेला गोली हान्ने तयारी भएको भन्दै धम्कीपूर्ण भिडिओ भाइरल भएको थियो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले पनि अहिलेसम्म कोही पक्राउ नपरेको बताए । डीएसपी खड्काले भने, “बालेनलाई धम्की दिएको भनिएको भाइरल भिडिओको विषयमा हामी अनुसन्धान गरिरहेका छौं, तर अहिलेसम्म कसैलाई पक्राउ भने गरेका छैनौं ।”
हामीले बालेनलाई धम्की दिएको भन्ने विषयमा कुनै व्यक्ति पक्राउ परेका छन् वा छैनन् भन्ने फेला पार्न गुगल एड्भान्स सर्चमा खोज्यौं । ‘बालेन’, ‘धम्की दिने पक्राउ’, ‘झापा बालेन गोली’ जस्ता कीवर्ड सर्च गर्यौं । तर, कुनै पनि व्यावसायिक सञ्चार माध्यमले यस विषयमा समाचार राखेको फेला परेन ।
विभिन्न कसुरमा पक्राउ परेका आरोपित व्यक्तिको सूची नेपाल प्रहरीको आधिकारिक वेबसाइटको समाचार सेक्सनमा देखिन्छ । हामीले उक्त सूचीमा बालेनलाई धम्की दिएको आरोपमा पक्राउ परेको भन्ने समाचार उक्त वेबसाइटमा खोज्यौं । तर, कुनै पनि सामग्री फेला परेन ।
दाबी
बालेन्द्र शाह (बालेन) लाई टिकटकमार्फत ज्यान मार्ने (गोली हान्ने) धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
दाबीकर्ता
'Miss Pabi 41', 'ktm Post', 'उकाली ओराली भन्ज्याङ चौतारी', 'Bharat Singh Dhami', 'Uwin Magar', 'Raj Bahadur Thapa' लगायतका सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ता ।
तथ्य
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीहरूका अनुसार बालेनलाई धम्की दिने व्यक्ति हालसम्म पक्राउ परेका छैनन् । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको तर कोही पनि नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ । त्यस्तै भाइरल भएका फोटोमा प्रहरीले लगाएको क्याप, नेमप्लेट र पृष्ठभूमिमा रहेका लोगोहरू अस्वाभाविक र धमिलो देखिन्छन्, जुन नेपाल प्रहरीको पोसाकसँग मेल खाँदैनन् । तथ्यजाँचका क्रममा ती फोटो ९९.९ प्रतिशत एआई सिर्जित देखिएका छन् । त्यस्तै कुनै पनि स्थापित सञ्चार माध्यममा यस प्रकारको पक्राउको समाचार आएको छैन र नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा पनि यसको कुनै रेकर्ड भेटिएको छैन ।
निष्कर्ष
स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई धम्की दिने व्यक्ति पक्राउ परेको भनी सामाजिक सञ्जालमा फैलाइएको खबर भ्रामक हो । प्रयोग गरिएका तस्बिर वास्तविक नभई एआईबाट बनाइएका हुन् ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ ८:५७
