close

एआईको प्रयोगबाटै लुगा ‘ट्राइ’ गर्न मिल्ने नेपाली एप ‘मिरागो’

टेकपाना टेकपाना

माघ ९, २०८२ १०:७

एआईको प्रयोगबाटै लुगा ‘ट्राइ’ गर्न मिल्ने नेपाली एप ‘मिरागो’

काठमाडौँ । आफ्नो फोटोमा मन परेको लुगा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत फिट गरेर सुहाउने/नसुहाउने जाँच्न मिल्ने मिरागो (Mirago) नामक एप सार्वजनिक भएको छ । आईटी सेवा प्रदायक कम्पनी लजिक्टिभ सोलुसन्सले भर्चुअल फिटिङ रुमको सुविधासहित यो एप बजारमा ल्याएको हो ।

यस एपमा प्रयोगकर्ताले आफ्नो ग्यालरीमा भएको फोटो अपलोड गरेर वा तत्कालै खिचेर व्यक्तिगत प्रोफाइल (अवतार) बनाउन सक्नेछन् । त्यसपछि आफूले ट्राइ गर्न मन लागेको लुगाको फोटो, कुनै सेलिब्रेटीले लगाएको लुगा वा स्क्रिनशट अपलोड गर्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताले अपलोड गरेको लुगालाई मिरागोले प्रोफाइलको फोटोमा फिट गरिदिन्छ । लजिक्टिभ सोलुसन्सका सह-संस्थापक अमित विष्टका अनुसार यस एपले लुगा किन्दा ट्रायल रुममा पसेर पटक-पटक फेरिरहनु पर्ने झन्झटलाई हटाएको छ । ग्राहकले भर्चुअल माध्यमबाटै आफूलाई कुन लुगा सुहाउँछ भन्ने कुराको जानकारी पाउने उनको भनाइ छ ।

“विद्यार्थी, कर्परेट कर्मचारी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका साथसाथै आम मानिसलाई लक्षित गरेर यो प्लेटफर्म तयार पारेका हौँ । यसले ड्रेसिङलाई थप सहज र रोचक बनाउने विश्वास छ,” उनले टेकपानासँग भने । 

गत हप्ता मात्र आधिकारिक रूपमा सार्वजनिक भएको यो एप प्ले स्टोर, एप स्टोर दुवैमा उपलब्ध छ । 

कसरी प्रयोग गर्ने मिरागो 

१. एप डाउनलोड गरेपछि होम स्क्रिनको बीचमा रहेको ‘म्याजिक’ बटनमा ट्याप गर्नुहोस् ।

 

२. त्यसपछि सबैभन्दा माथि बाँयातर्फ रहेको ‘Choose Your Avatar’ मा क्लिक गर्नुपर्छ । र त्यहाँ नयाँ फोटो खिचेर राख्न सकिन्छ वा ग्यालरीमा रहेको पुरानो फोटो छनोट गर्न सकिन्छ । फोटो छनोट गर्न सिधा उभिएको र पूरा शरीर देखिने फोटोमा राम्रो नतिजा दिन्छ ।

 

३. अवतार छनोट गरेपछि ‘Add Your Outfit’ मा क्लिक गरी आफूलाई मन परेको कपडा वा मोडेलले लगाएको कपडाको फोटो छनोट गर्नुहोस् ।

४. फोटो छनोट गरेपछि त्यसलाई कन्फर्म गर्नुहोस् ।

५. केही बेरमै मिरागोले तपाईंको फोटोमा उक्त आउटफिट फिट गरिदिन्छ। सोही फोटोका आधारमा आफूलाई लुगा सुहाएको छ वा छैन भनेर जाँच्न सकिन्छ।

लजिक्टिभ सोलुसन्सको पहिलो उत्पादन ‘मिरागो’

तीन वर्षदेखि सञ्चालनमा रहेको लजिक्टिभ सोलुसन्सले विशेषगरी डेटा एनोटेसन र एआई मोडेलहरूलाई तालिम दिने काम गर्दै आएको छ । कम्पनीले हालसम्म अमेरिका र मोरक्को जस्ता देशका ग्राहकहरूलाई एआई सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

अन्य कम्पनीहरूलाई एआई सम्बन्धी समाधान प्रदान गर्दै आएकोमा कम्पनीले आफ्नै पहिलो उत्पादनको रूपमा मिरागो बजारमा ल्याएको विष्टले बताए । उनले भने, “आफ्नै उत्पादनहरूमा पनि प्राथमिकता दिनुपर्छ भनेर आफ्नै टिमले आर एन्ड डी (रिसर्च एन्ड डेभलपमेन्ट) गरेर मिरागो तयार पारेका हौँ ।”

उनका अनुसार मिरागोलाई बजारमा ल्याउनुअघि एक वर्षको समय लगाएर तयार पारिएको हो । “एक वर्षसम्म आन्तरिक रूपमा डेटा परीक्षण गर्‍यौँ । यसका लागि थोरै प्रयोगकर्ताहरूलाई यो एप उपलब्ध गराएका थियौँ । त्यसपछि प्रयोगकर्ताहरूको प्रतिक्रियालाई समेटेर रिभाइज गर्दै हालै मात्र यसको नयाँ भर्जन सार्वजनिक गरेका हौँ,” उनले भने ।

मिरागो तयार पार्न धेरै प्रकारका एआई मोडेलहरू र स्मार्ट एल्गोरिदमहरूको प्रयोग गरिएको सह-संस्थापक विष्टले बताए । यसमा गुगलको नानो बनाना र 'कलर्स' जस्ता मोडेलहरूका प्रयोग गरिएको हो । यसबाहेक कम्पनी आफैँले ट्रेन्ड गरेको एलएलएम (लार्ज ल्याङ्वेज मोडेल) पनि समावेश  गरिएको उनले बताए । 

हाल यो एप सर्वसाधारणका लागि नि:शुल्क प्रयोग गर्न मिल्ने गरी तयार पारिएको सह-संस्थापक विष्टले बताए । “हामीले दुई महिनापछि मिरागोलाई विभिन्न ब्रान्डहरूको भर्चुअल ट्रायल रुमको रूपमा सार्वजनिक गर्ने योजना बनाएका छौँ । त्यसका लागि १० ओटा ब्रान्डसँग इन्टरनल टेस्टिङ सुरु गरिसकेका छौँ,” उनले भने । 

यसपछि विभिन्न ब्रान्डका लुगाहरू खरिद गर्ने बेलामा ती ब्रान्डका वेबसाइटमा नै मिरागो उपलब्ध हुने उनको भनाइ छ । यस्तै मिरागोको मोबाइल एपबाट पनि ती ब्रान्डका कपडाहरू खरिद गर्न मिल्ने गरि तयारी भइरहेको छ ।

मिरागोलाई भविष्यमा दराजमा भएका कपडाहरू एकैपटक देखाएर आफ्नो लागि सुहाउँदो कपडा छान्न सकिने सुविधा समेत ल्याउने योजना बनाएको उनले बताए । यसका लागि च्याटबट तयार भइरहेको छ । उक्त च्याटबटले प्रयोगकर्ताको मुड र आवश्यकताअनुसार  अफिस जाने वा अन्य कार्यक्रममा जान दराजमा भएका लुगाहरूबाट उत्कृष्ट कम्बिनेसन छान्न मद्दत गर्ने उनले बताए । यो एपलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य निर्माता कम्पनीले राखेको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १०:७