close

होसियार ! फेसबुकमा ‘Monetization at Risk’ भन्दै आउने यस्ता मेसेज वा लिङ्क भुलेर पनि क्लिक नगर्नुहोस्

टेकपाना टेकपाना

माघ १३, २०८२ १९:४१

होसियार ! फेसबुकमा ‘Monetization at Risk’ भन्दै आउने यस्ता मेसेज वा लिङ्क भुलेर पनि क्लिक नगर्नुहोस्

काठमाडौँ । नेपालमा फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा २०२५ सेप्टेम्बरदेखि औपचारिक रूपमा सुरु भएयता हजारौं क्रिएटरले आफ्नो कन्टेन्टबाट कमाइ गर्न थालेका छन् । रिल्स, भिडिओ, फोटो र टेक्स्ट पोस्टबाट उनीहरूले पैसा कमाउने अवसर पाएका छन् । तर, यो अवसरसँगै स्क्यामरहरू पनि सक्रिय भएका छन् ।

विशेषगरी फेसबुक पेजमा ‘Monetization at risk’ वा ‘Page Violation’ भन्दै पोस्ट गर्ने र कमेन्टमा शंकास्पद लिंक राख्ने स्क्यामहरू बढेका छन् । स्क्यामरहरूले फेक मेसेज, ईमेल वा पेजमा रेकमेन्डेड पोस्टको रूपमा यस्ता फेक वार्निङ पठाउन थालेका छन् । 

उदाहरणका लागि, ‘Page Monetization at Risk’ भन्दै २४ घण्टाभित्र एक्सन नलिने हो भने मोनिटाइजेसन बन्द हुने धम्की दिने र कमेन्टमा surge.sh जस्ता डोमेनका लिंक राख्ने गरिन्छ । 

कसरी गरिन्छ स्क्याम ?

  • स्क्यामरले तपाईंको फेसबुक पेजमा फेक पोस्ट रेकमेन्ड गर्छन्, जसमा ‘Facebook Violations’ वा ‘Unusual Activity’ भन्दै मोनिटाइजेसन बन्द हुने चेतावनी दिन्छन् ।

  • कमेन्टमा ‘Author’ वा फेक अकाउन्टबाट लिंक राखिन्छ, जस्तै https://review-for-reports-on-recovery-surge.sh ।

  • यो लिंक क्लिक गर्दा फेक रिभ्यु वा अपिल पेज खुल्छ । जसले तपाईंको फेसबुक लगइन, पासवर्ड, टु एफए कोड वा अन्य डिटेल माग्छ ।

शंकास्पद लिंक क्लिक गरेमा पर्न सक्ने जोखिम

  • स्क्यामरहरूले तपाईंको फेसबुक अकाउन्ट पूरै कन्ट्रोल गर्न सक्छन् । पेज डिलिट गर्नेदेखि लिएर फेक पोस्ट गरेर तपाईंको फलोअरहरूलाई पनि स्क्याम गर्न सक्छन् ।

  • यदि तपाईंको पेमेन्ट डिटेल लिंक गरिसकेको छ भने बैंक अकाउन्टबाट पैसा चोरी हुन सक्छ ।

  • पासवर्ड, ईमेल, फोन नम्बर चोरी भएर अन्य अकाउन्ट (बैंक, जीमेल आदि) मा पनि खतरा पर्न सक्छ ।

  • ह्याक भएपछि फेक कन्टेन्ट पोस्ट गरेर वास्तविक भायोलेसन हुन सक्छ भने पेज स्थायी रूपमा बन्द हुने खतरा हुन्छ । 

  • केही स्क्याममा समस्या समाधान गर्न भन्दै पैसा माग्न सक्छन् ।

स्क्यामबाट जोगिन के गर्ने ?

१. कुनै पनि शंकास्पद लिंक क्लिक नगर्नुहोस्: surge.sh, vercel.app जस्ता अनौपचारिक डोमेनका लिंकहरू कहिल्यै नखोल्नुहोस् । मेटा/फेसबुकले यस्ता साइट प्रयोग गर्दैन ।

२. आधिकारिक तरिकाबाट मात्र चेक गर्नुहोस्:

  • फेसबुक एप वा facebook.com मा लगइन गरेर Page > Settings & Privacy > Page Quality वा Support Inbox हेर्नुहोस् ।

  • वास्तविक समस्या भएमा त्यहाँ नै देखिन्छ र अपिल अप्सन हुन्छ ।

३. फेक पोस्ट रिपोर्ट गर्नुहोस्: पोस्टमा थ्री डट (...) क्लिक गरेर Report Post > Scam or Fraud छान्नुहोस् ।

४. टु-फ्याक्टर अथेन्टिकेसन (२एफए) अन गर्नुहोस्: Settings > Security and Login मा गएर अन गर्नुहोस् । यसले ह्याक हुन गाह्रो बनाउँछ ।

५. अननोन मेसेज वा कमेन्टलाई इग्नोर गर्नुहोस्: ‘मोनिटाइजेसन सेटअप गरिदिन्छु’ वा ‘प्रब्लम फिक्स गर्छु’ भन्दै आउनेहरूलाई ब्लक गरिदिएको राम्रो ।

६. पासवर्ड नियमित परिवर्तन गर्नुहोस्, बलियो पासवर्ड प्रयोग गर्नुहोस् ।

याद गर्नुहोस् मेटाले कमेन्ट वा अनौपचारिक लिंकबाट संवेदनशील जानकारी माग्दैन । वास्तविक फेसबुक मोनिटाइजेसनका समस्याहरू जाँच गर्न आफ्नो पेजको प्रोफेसनल ड्यासबोर्डमा गई मोनिटाइजेसन (Monetization) मा क्लिक गरी पोलिसी इस्युज (Policy Issues) मा जानुहोस् । त्यस्तै ​मेटा बिजनेस सुइटमार्फत जाँच गर्न त्यहाँ रहेको पेज स्टेटस (Page Status) सेक्सनमा गएर  Policy Violations भए/नभएको हेर्नुहोस् ।

सामान्यतया मोनिटाइजेसनमा देखिने समस्याहरूमा Policy violations, Limited Originality of Content वा Geographic restrictions पर्छन् ।​

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १९:५४