डिपफेक भिडिओमार्फत चरित्रहत्या हुन थालेपछि मोडल जुना विश्वकर्मा तनावमा, भन्छिन्- न्याय पाइनँ
माघ २०, २०८२ १९:४८
काठमाडौँ । पछिल्लो समयकी व्यस्त मोडल जुना विश्वकर्मा डिजिटल हिंसा र चरित्रहत्याको सिकार बनेकी छन् । आर्टिफिसियल इन्टेलिजेन्स र डिपफेक प्रविधिको दुरुपयोग गरी फेसबुकमा उनको नाममा खोलिएका नक्कली पेजहरूले अश्लील तथा भ्रामक सामग्री फैलाइरहेका हुन् ।
यसअन्तर्गत दुई लाख २३ हजारभन्दा बढी फलोअर रहेको ‘जुना विश्वकर्मा’ नामक नक्कली फेसबुक पेजले उनको अनुहार प्रयोग गरेर एआईमार्फत सिर्जित उत्तेजक रिल्स भिडिओ र तस्बिरहरू पोस्ट गरिरहेको छ । ती सामग्रीहरूमा जुनाको शरीरलाई अस्वाभाविक रूपमा प्रदर्शन गर्ने, छोटा लुगा लगाइदिने र भ्रामक नृत्य गराउने गरिएको छ । टिकटकमा पनि यस्ता सामग्री भाइरल भइरहेका छन् ।
यस विषयमा टेकपानासँग कुरा गर्दै जुनाले आफू पछिल्लो केही दिनदेखि निरन्तर प्रहरीको साइबर ब्युरो धाइरहेको बताएकी छन् । “म साइबर ब्युरो गएको दुई-तीन दिन भयो । हिजो पनि गएको थिएँ, अस्ति पनि र आज पनि गएर आएको हुँ,” उनले भनिन्, “ब्युरोले दुई-तीन दिन समय लाग्छ भनेको छ । मलाई चाँडोभन्दा चाँडो न्याय चाहियो ।”
आफ्नो आधिकारिक फेसबुक पेजबाट ‘यी नक्कली पेज हुन्, रिपोर्ट गरिदिनुस्’ भन्दै बारम्बार स्टाटस लेखे पनि भ्रम फैलिन नरोकिएपछि कानुनी उपचारका लागि प्रहरीकहाँ पुगेको उनले सुनाइन् । “मैले स्टाटस लेखेर पनि हालिसकेको हो, तर खै कसैले रिपोर्ट गरिदिनु भएन कि वा गरेर पनि नभएको हो, ती पेजहरू अझै चलिरहेका छन्,” उनले भनिन् ।
कमेन्ट बक्समा अश्लील गाली र साइबर बुलिङ
प्रविधिको ज्ञान नभएका सामान्य प्रयोगकर्ताले नक्कली अकाउन्टबाट पोस्ट भएका एआई सिर्जित भिडिओलाई वास्तविक ठानेर जुनामाथि निकृष्ट टिप्पणी गरेको पाइएको छ । ती पोस्टहरूमा ‘छाडा भएको’, ‘मोटाएको’, ‘चरित्रहीन’ जस्ता सयाैँ अपमानजनक कमेन्ट देखिन्छन् । केही प्रयोगकर्ताले त उनको शरीरको बनावट र व्यक्तिगत जीवनमाथि नै प्रश्न उठाउँदै भद्दा गालीगलौज गरिरहेका छन् । यस्तो प्रवृत्तिले आफ्नो मानसिक स्वास्थ्य र सामाजिक प्रतिष्ठामा चोट पुगेको जुनाको गुनासो छ ।
विभिन्न अनुसन्धानका अनुसार यस्ता नक्कली पेजहरूले चर्चामा रहेका कलाकार, नेता तथा अन्य सार्वजनिक व्यक्तिहरूको संवेदनासँग खेलेर धेरैभन्दा धेरै इन्गेजमेन्ट (लाइक, कमेन्ट, शेयर) बटुल्ने र त्यसमार्फत फेसबुकबाट पैसा कमाउने (मोनिटाइजेसन) धन्दा चलाइरहेका छन् ।
बजारमा उपलब्ध Boom.AI, VideoAI, DreamVid जस्ता एपहरूले कुनै पनि व्यक्तिको सामान्य तस्बिरलाई केही सेकेन्डमै बिकिनी अवतारदेखि उत्तेजक नृत्य गर्ने भिडिओसम्म बदलिदिन्छन् । फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता प्लेटफर्ममा यस्ता सामग्री र तिनका विज्ञापन निर्वाध रूपमा चल्दा महिला र किशोरीहरू डिजिटल उत्पीडनको उच्च जोखिममा परेको सरोकारवाला बताउँछन् ।
कसरी सुरक्षित रहने ?
रिपोर्ट गर्नुहोस्: यदि तपाईंको फेसबुक फिडमा यस्तो भ्रामक पोस्ट आइरहेको छ भने तत्काल पेजको प्रोफाइलमा गएर Report Page मा क्लिक गरी Fake Page वा Scam/Misleading को रूपमा रिपोर्ट गर्नुहोस् ।
आधिकारिक स्रोत मात्र विश्वास गर्नुहोस्: कुनै पनि राजनीतिक वा सामाजिक समाचारका लागि आधिकारिक सञ्चारमाध्यम वा सम्बन्धित व्यक्तिको आधिकारिक आईडी मात्र हेर्नुहोस् ।
सावधानी अपनाउनुहोस्: धेरैजसो एआई सिर्जित फोटोहरूमा मानिसका औँलाहरू, अनुहारका रेखा वा ब्याकग्राउन्ड अलि अस्वाभाविक देखिन्छन् । यस्ता साना कुरामा ध्यान दिएर भ्रमबाट बच्न सकिन्छ ।
डिजिटल साक्षरता: ‘लाइक गर्नुहोस्’, ‘कमेन्ट गर्नुहोस्’ भन्दै जनताको भावनामा खेल्ने फेसबुक पेज लगायत अन्य सामाजिक सञ्जाल अकाउन्टबाट सधैँ टाढै रहनुहोस् ।
पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १९:४८
