close

फ्याक्टचेक: झापा-५ मा सादा पोसाकका प्रहरीले बालेनका लागि भोट मागेको र निर्वाचन आयोगले स्पष्टीकरण सोधेको दाबी भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ २२, २०८२ १९:३१

फ्याक्टचेक: झापा-५ मा सादा पोसाकका प्रहरीले बालेनका लागि भोट मागेको र निर्वाचन आयोगले स्पष्टीकरण सोधेको दाबी भ्रामक

काठमाडौँ । गत हप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्ले झापा-५ मा घरदैलो कार्यक्रममा सहभागी भइन् । त्यसबेला काफ्लेसँगै सादा पोसाकमा महिला प्रहरीहरू सुरक्षामा खटिएको र प्रहरीले पनि भोट मागेको दाबीसहितका समाचार र पोस्टहरू सामाजिक सञ्जालमा सार्वजनिक भए । कतिपय अनलाइन मिडियाले सादा पोसाकमा प्रहरी खटाएको भन्दै बालेनलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको दाबीसहित सामग्री सम्प्रेषण गरेका छन् ।

यस विषयमा टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचले ती दाबी भ्रामक रहेको देखाएको छ । तथ्यजाँचको अनुसन्धानबाट सबिना काफ्लेसँग सादा पोसाकका प्रहरी खटिएको भन्ने दाबीमा सत्यता नरहेको र हालसम्म यस विषयमा निर्वाचन आयोगले बालेनलाई स्पष्टीकरण नसोधेको पाइएको हो ।

दाबी

‘शिलापत्र’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा-५ मा उम्मेदवारी दिएका बालेन शाहलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको दाबीसहित समाचार लेखेको छ । २ फेब्रुअरी दिउँसो २:४४ मा ‘सादा पोसाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण’ शीर्षकको समाचार फेसबुकमा पनि पोस्ट भएको छ । ​​

शिलापत्रको समाचारमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरीले बालेनका लागि भोट मागेको भिडियो प्राप्त भएको भन्दै बालेनलाई स्पष्टीकरण सोधिएको हो । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको भिडियोमा देखिएको आयोगको भनाइ छ ।” समाचारको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । 

अनुसन्धान

हामीले गुगल सर्च इन्जिनमा ‘सादा पोसाक प्रहरी’, ‘प्रहरी भोट माग्दै’, ‘बालेन निर्वाचन स्पष्टीकरण’ लगायतका किवर्ड राखेर गुगल एडभान्स सर्च गर्‍यौँ । यसरी खोज्ने क्रममा सोही दाबीका कयौँ समाचार तथा सामग्री फेला परे ।

२ फेब्रुअरी (१९ माघ) मा अनलाइन न्युज पोर्टल ‘खबरहब’ले पनि समान किसिमको दाबीसहितको समाचार प्रकाशित गरेको छ । समाचारको शीर्षक छ,“झापामा भोट माग्न सादा पोसाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण” । चुनाव प्रचारप्रसारमा बालेन पत्नी सबिनाले सादा पोसाकमा प्रहरी प्रयोग गरेपछि स्पष्टीकरण सोधेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ,“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण सोधेको थियो । आइतबार र सोमबार बालेन्द्रसहित थप नौ जनालाई स्पष्टीकरण सोधिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार झापा ५ मा चुनाव प्रचारका क्रममा बालेन्द्र पत्नी सबिना काफ्लेले सादा पोसाकका प्रहरी प्रयोग गरेको जानकारी आएपछि स्पष्टीकरण सोधिएको बताए । निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम उम्मेदवार शाहलाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए ।” 

सोही दिन दिउँसो ४:४५ मा फेसबुकमा पनि सोही पोस्ट खबरहबले सार्वजनिक गरेको छ । हेर्नुहोस् समाचार, फेसबुक पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

१३ माघ (२७ जनवरी) मा ‘जनआस्था’ ले बालेन पत्नी सबिनाले झापा-५ मा घरदैलो अभियानमा सक्रिय हुने क्रममा सादा पोसाकका प्रहरी प्रयोग गरेको दाबीसहित “सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै ?” शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

समाचारमा लेखिएको छ, “बालेनकी श्रीमती सविना हिजोदेखि घरदैलो अभियानमा छिन् । बर्दीमा खटाउँदा प्रश्न उठ्ने देखेर प्रहरी प्रशासनले प्रहरीलाई सादा पोशाकमा खटाएको बताइन्छ । दमक नगरपालिका–९ पुगेकी सविनासँग जम्बो टोली साथमा थियो। उपस्थित धेरैले टोलीमा रास्वपाका नेता तथा कार्यकर्ता रहेको अनुमान गरेपनि पाँच जना सादा पोशाकका प्रहरी रहेको स्रोतले बतायो ।” हेर्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट ।

 

१९ माघ (२ फेब्रुअरी) मा ‘दृष्टि न्युज’ ले ‘प्रहरी नै बालेनको पक्षमा भोट माग्दै हिँडेको खुलासा !’ शीर्षकमा समाचार लेखेको छ । 

उक्त समाचारमा प्रहरीले नै बालेनको पक्षमा भोट मागेको उल्लेख छ । समाचारमा लेखिएको छ, “प्रहरी संगठनभित्रैबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको पक्षमा भोट माग्दै हिँडिएको तथ्य बाहिर आएको छ । सादा पोसाकमा रहेका प्रहरीले बालेन शाहको पक्षमा मत मागिरहेको देखिने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएपछि निर्वाचन आयोगले यस विषयमा स्पष्टीकरण सोधेको छ । शाहसँग यो दोस्रोपटक स्पष्टीकरण मागिएको हो । निर्वाचन आयोगले शाहको चुनावी प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा वास्तविक अवस्था के थियो भन्नेबारे स्पष्टिकरण मागेको जनाएको छ ।” भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट । 

‘रातोपाटी’ ले पनि १९ माघ (२ फेब्रुअरी) मा बालेनलाई दोस्रो पटक स्पष्टीकरण सोधेको दाबीसहित समाचार सार्वजनिक गरेको छ ।‘बालेनलाई सोध्यो निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण’ शीर्षकको समाचारमा लेखिएको छ,“निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रो पटक स्पष्टीकरण माग गरिएको हो । उक्त सामग्रीमा सादा पोसाकका प्रहरी शाहका लागि भोट माग्दै गरेको देखिएको उजुरी आयोगमा परेको आयोगले सोमबार जनाएको छ ।” हेर्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट । 

यस्तै, टिकटकमा ३ फेब्रुअरी २०२६ (मंगलबार) ‘uskhabaronline’ नामको युजर आईडीबाट बालेनको उम्मेदवारी धरापमा, पत्नी सवीनाका कारण आयोग एक्सनमा उत्रियो” शीर्षकमा २ मिनेट ७ सेकेन्ड लामो भिडिओ सार्वजनिक भएको छ । 

उक्त भिडिओमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह माथि एक पछि अर्को सङ्कट आइपरेको छ । बालेन शाहको उम्मेदवारी नै धरापमा परेको देखिन्छ । बालेन शाहले आफू पश्चिम नेपालको यात्रामा निस्कँदै झापा-५ मा पत्नी सबिना काफ्लेलाई खटाएका थिए । सबिनाले भोट माग्ने क्रममा सादा पोसाकमा प्रहरी पनि खटाइएको समाचार प्रकाशित भएका छन् । सादा पोसाकका प्रहरीले सबिनासँगै रास्वपालाई भोट दिन भन्दै हिँडेको भिडियो पनि भाइरल भएका छन् । सादा पोसाकका प्रहरी उतारेर बालेनलाई भोट माग्दै भन्ने श्रव्य दृश्य सामग्री प्राप्त भएपछि निर्वाचन आयोग एक्सनमा उत्रदै दोस्रो पटक स्पष्टीकरण सोधेको छ । यस अघि १३ माघमा आयोगले बालेनलाई पहिलो स्पष्टीकरण सोधेको थियो । बालेनले युक्त स्पष्टीकरणको जवाफ नदिँदै फेरी अर्को स्पष्टीकरण सोधेको हो । यो दोस्रो स्पष्टीकरणको लागेको आरोप पुष्टि भएको खण्डमा अर्थात् सबिनाले सादा पोसाकका प्रहरीबाट भोट माग्न लगाएको प्रमाणित भएमा बालेनको उम्मेदवारी नै खारेजी हुने सम्भावना उच्च छ ।” हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

‘US Khabar Online’ नामको फेसबुक पेजमा पनि सोही भिडिओ सार्वजनिक भएको छ । ३ फेब्रुअरी साँझ ६:३० मा सार्वजनिक भएको उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म चार लाख ८० हजारभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

टिकटकमा नै २८ जनवरी २०२६ मा ‘motivate_news’ले बालेनपत्नी सबिनासँग सादा पोसाकमा खटिएका पाँच जना सुरक्षाकर्मीले बालेनका लागि भोट मागेको दाबीसहितको भिडिओ बनाएको छ । 

भिडिओमा भनिएको छ,“बालेन शाहलाई भोट माग्न सादा पोसाकका प्रहरी समेत फिल्डमा खटिएका छन् । झापा-५ का उम्मेदवार बालेनकी श्रीमती सबिना काफ्लेसँग सरकारले खटाएको सादा पोसाकका सुरक्षाकर्मीले स्थानीयसँग भोट मागेका हुन् । सबिनाको सुरक्षाका लागि बर्दीमा खटाउँदा प्रश्न उठ्ने देखेर प्रहरी प्रशासनले पाँच जना सादा पोसाकका प्रहरी खटाएको थियो ।” हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

फेसबुक प्रयोगकर्ता 'Babita Basnet' ले २ फेब्रुअरी राति ८:२७ मा सादा पोसाकमा प्रहरीले बालेनका लागि भोट मागेका समाचारहरू सुनेको भन्दै आयोगले उम्मेदवारलाई स्पष्टीकरण भन्दा पनि प्रहरीको उत्तरदायित्त्व खोज्नुपर्ने आशयसहितको स्टाटस लेखेको फेला पर्‍यो । उनले लेखेकी छिन्,“सादा पोशाकका प्रहरीले झापामा बालेन शाहलाइ भोट मागेको भनेर निर्वाचन आयोगले बालेनलाइ स्पष्टीकरण सोधेको समाचार सुनियो, पढियो । मैले नबुझेको कुरा, प्रहरी (महिला पुरुष जो भएपनि) ले बालेन या अरु कुनै पनि उम्मेदवारको भोट माग्दै हिडेका हुन भने निर्वाचन आयोगले  स्पष्टीकरण त नेपाल प्रहरीसंग माग्नुपर्ने होइन र? प्रहरी संगठनलाई उत्तरदायी बनाउनुपर्ने होइन र?” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क । 

अनुसन्धानकै क्रममा ‘झापा ५ को सुरक्षा चुनौतीबारे प्रहरी प्रमुख बसुन्धरा खड्कासँगको संवाद ! स्थलगत....’ शीर्षकमा सञ्चारकर्मी टीकाराम यात्रीले २ फेब्रुअरी राति १०:०४ मा सार्वजनिक गरेको भिडिओ फेला पर्‍यो । उक्त भिडिओमा प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्कालाई टीकाराम यात्रीले झापा-५ मा पछिल्लो समयमा बढी चर्चामा भएका विभिन्न घटनाका बारेमा प्रश्न गरेका छन् । उनले सोधेका छन्,“बालेन शाहको घरदैलोको क्रममा श्रीमती सबिना काफ्लेजीको आसपासमा भएका महिला प्रहरी हुन् ,सादा पोसाकमा प्रहरीले चाहिने भन्दा बढी प्रिभिलेज दियो भन्ने कुराहरू आएको छ ।”

जवाफमा प्रहरी प्रमुख खड्काले उक्त दाबीमा सत्यता नरहेको जवाफ दिइन् । उनले भनेकी छिन्,“यो प्रश्न पनि हामीलाई आयो । सोसल मिडियामा एउटा उम्मेदवारको पत्नीलाई सादा पोसाकको प्रहरी त्यो पनि महिला प्रहरी खटाइयो भनेर धेरै आयो ।…. उम्मेदवारको पत्नीलाई जुन सिभिलमा प्रहरी खटाइयो त्यो पनि महिला प्रहरी भन्ने विषयमा कुनै सत्यता छैन । हामीले उम्मेदवारलाई पीएसओ/निजी सुरक्षा/अंगरक्षक खटाउनको लागि जिल्ला सुरक्षा समितिले उहाँको खतराको मुल्यांकन गरेर उहाँलाई पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) खटाउनै पर्ने भएमा मात्रै खटाउने अवस्था छ । यस्तोमा एउटा उम्मेदवारको पत्नीलाई सामान्य घर/गाउँमा हिँडिरहेको अवस्थामा हामीले त्यसरी खटाउने त्यो कुरै आउँदैन । त्यो प्रोटोकलले पनि हामीलाई दिँदैन। त्यहाँ महिला प्रहरी खटाइयो भनेर सोसल मिडियामा धेरै आयो। यो कुरा होइन भन्ने हामी कन्फर्म छौँ किनभने हामीले खटाएकै छैन । यसरी न्युज आइसकेपछि को हो त भन्ने विषयमा हामीले बुझ्यौँ । उहाँको आफन्त, नातेदार, नजिकका दिदीबहिनी, छोरी, चेलीसँग उहाँ हिड्नु भएको भन्ने खबर आयो । र, यही अनुसार चाहिँ हामीले खटाएको होइन भन्ने कुरा भएपनि मिडियामा भनेका व्यक्ति को हो भन्ने कुरामा हामीले ढुक्क भयौँ कि उहाँको आफन्त/नातेदार नै हो भनेर ।” भिडिओको १० मिनेट ३४ सेकेन्डमा गएर एसपी खड्काले उक्त जवाफ दिएको सुन्न सकिन्छ ।

झापा प्रहरी प्रमुखले नै उक्त दाबीको खण्डन गरेको भिडिओ फेला परेपछि हामीले निर्वाचन आयोगले बालेनलाई स्पष्टीकरण सोधेको विषयमा सत्यता छ/छैन बुझ्ने प्रयास गर्‍यौँ । निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीषले उम्मेदवार (बालेन शाह)लाई यस विषयमा स्पष्टीकरण नसोधिएको बताइन् । “आयोगमा उजुरी आएपछि हो कि होइन भनेर जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई अनुसन्धानका लागि पठाएका छौँ । उम्मेदवारलाई नै स्पष्टीकरण सोधिएको होइन । आचारसंहिता उल्लङ्घन भएको पुष्टि भएमा मात्रै उहाँहरूलाई स्पष्टीकरण सोधिने हो,” उनले टेकपाना फ्याक्टचेक डेस्कलाई भनिन् ।

आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रक गरी प्रत्येक जिल्लामा दुई जनालाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् झापा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने टेलिफोन कुराकानीमा सो विषयमा अनुसन्धान गरी प्रतिवेदन पेस गर्न भन्दै आयोगबाट पत्र प्राप्त भएको बताए । 

बुधबार भएको टेलिफोन सम्पर्कमा उनले भनेका थिए,“हिजो (३ फेब्रुअरी २०२६) जिल्ला प्रहरी कार्यालयलाई त्यही चिठ्ठी कोट गरेर सोधिएको छ । जवाफ आज आउँछ होला । हामीले मिडियामा आएका फोटोहरू पनि प्राप्त गरेका छौँ । आएका फोटोहरूमा जहाँ जहाँ जो-जो मान्छे देखिएका छन्, उहाँहरूको खोजतलास गर्ने, पहिचान गर्ने र मोबाइल नम्बर पत्ता लगाउने कार्य भएको छ । प्रहरीसँग पनि औपचारिक अनौपचारिक रूपमा पनि सोधेका छौँ । दमक इलाका प्रहरीलाई पनि सोधिएको छ । सम्बन्धित व्यक्तिलाई मौखिक रूपमा सोधेका छौँ । अहिलेसम्म भोट माग्ने (बालेन शाहका लागि) कार्यमा संलग्न भएको कतैबाट पुष्टि भइसकेको छैन । अनौपचारिक रूपमा प्रहरीले होइन भन्नु भएको छ । सम्बन्धित व्यक्तिले पनि पेसा व्यवसाय अरू नै भएको बताउनु भएको छ । प्रहरीबाट औपचारिक जवाफ आइसकेपछि सम्बन्धित निकायमा हाम्रो प्रतिवेदन पेस गर्छौँ ।” 

त्यसपछि हामीले बिहीबार पुन: न्यौपानेसँग सम्पर्क गर्‍यौँ । उनले सादा पोसाकमा प्रहरी भएको कुरा साँचो नभएको निष्कर्ष सहितको प्रतिवेदन निर्वाचन आयोग, जिल्ला आचारसंहिता अनुगमन समितिलाई बुझाएको जानकारी दिए । उनले भने, “हामीले नेपाल जिल्ला प्रहरी कार्यालयसँग औपचारिक जानकारी लिएर र साथमा प्रहरीहरू हुन् भनिएका मान्छेहरूसँग प्रत्यक्ष सम्पर्क गरेर प्रतिवेदन बनाएर पठाइसकेका छौँ । सो प्रतिवेदनको आधारमा उनीहरू प्रहरी कर्मचारीहरू होइनन् भन्ने कुरो आएको छ । त्यही जानकारी गराइसकेका छौँ ।”

तथ्य
१. झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले सादा पोसाकमा प्रहरी खटाइएको दाबी अस्वीकार गरेकी छिन् ।
२. जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले पनि ती व्यक्तिहरू प्रहरी नभएको निष्कर्षसहितको प्रतिवेदन बुझाएका छन् ।
३. निर्वाचन आयोगले बालेनलाई यस विषयमा कुनै स्पष्टीकरण नसोधिएको स्पष्ट पारेको छ ।

निष्कर्ष
बालेन शाहकी पत्नी सबिना काफ्लेसँग सादा पोसाकका प्रहरी खटिएको, ती प्रहरीले बालेनका लागि भोट मागेको र त्यसकै आधारमा निर्वाचन आयोगले बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको भन्ने दाबीहरू भ्रामक हुन् ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

*समाचारको शीर्षक परिमार्जन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: माघ २२, २०८२ २३:२०