close

फ्याक्टचेकः राजेश हमाल र दीपकराज गिरीले प्रचण्डलाई समर्थन गरेको दाबी भ्रामक, भाइरल फोटो नक्कली

हिक्मत आचार्य हिक्मत आचार्य

माघ २३, २०८२ १६:५०

फ्याक्टचेकः राजेश हमाल र दीपकराज गिरीले प्रचण्डलाई समर्थन गरेको दाबी भ्रामक, भाइरल फोटो नक्कली

काठमाडौँ । पछिल्ला केही दिनयता अभिनेता राजेश हमाल र दीपकराज गिरीले नेपाली कम्युनिस्ट पार्टी र त्यसका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको दाबीसहितका पोस्टले चर्चा पाइरहेका छन् । अभिनेताद्वय हमाल र गिरीले तारा चिह्न अङ्कित पोसाक लगाएको देखाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट ती भाइरल फोटो एडिटेड रहेको पुष्टि भएको छ । हमाल र गिरीले प्रत्यक्ष रूपमा पार्टीको चुनावचिह्न अङ्कित पोसाक लगाएको भन्ने दाबी भ्रामक हो ।

दाबी

४, जनवरी २०२६ (आइतबार) मा फेसबुकमा ‘Prasad Rohini Gautam’ नामका प्रयोगकर्ताले कलाकार दीपकराज गिरी जस्तो देखिने व्यक्तिले तारा अङ्कित पगरी लगाएको देखाइएको छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “एकपटक फेरी देशलाई साँच्चै भरपर्दो, संघर्षबाट खारिएको र गणतन्त्रको जग बसाल्ने नेता कमरेड प्रचण्डलाई विश्वास गरौँ। देशको, व्यवस्था र भविष्यका लागि ⭐ तारा चिन्हमा भोट हाल्न हार्दिक अनुरोध गर्दछु।”

यो सामग्री तयार पार्दासम्म सो पोस्टमा ४७०० बढी रियाक्सन र ५८७ कमेन्ट आएका छन् । उक्त पोस्ट १४७ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Ran Shrestha’ नामको फेसबुक अकाउन्टले मङ्गलबार ३ फेब्रुअरी २०२६ मा राजेश हमालले तारा चिन्ह अङ्कित फोटो पोस्ट गरेको छ । उक्त फोटोमा तलपट्टि ‘महानायकको तारा प्रतिको माया’ लेखिएको छ भने पोस्टको क्याप्सनमा लेखिएको छ, “कति सुहायो,कति सुहायो ! राजेश हमाल लाई तारा कति सुहायो !! जय तारा ⭐️⭐️⭐️ ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ६६०० बढी रियाक्सन र ६४४ कमेन्ट आएका छन् । पोस्ट २९५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

अनुसन्धान

दीपकराज गिरीसँग सम्बन्धित फोटोः

टेकपाना फ्याक्टचेक डेस्कले उही प्रकृतिका दुई ओटा दाबीको अनुसन्धान गर्न पहिले दीपकराज गिरीको पोस्टबारे खोज्यो । त्यस क्रममा गुगल रिभर्स इमेज सर्च गर्दा फेसबुक ग्रुप ‘नेपाली कम्युनिस्ट पार्टी 🇳🇵☭⭐️’ मा ‘Umesh Khadka’ नामका प्रयोगकर्ताले शुक्रबार बिहान ६ः०९ मिनेटमा दीपकराज गिरीले एउटा तारा अङ्कित पगरी लगाएको फोटो राखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, “दीपकराज गिरी भन्छन्— गाली खान्छु, तर डराउँदिन। देशको आवश्यकता र परिस्थितिले फेरि एकपटक देशको बागडोर प्रचण्डजीले नै सम्हाल्नुपर्ने अवस्था  छ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘नेपाली कम्युनिष्ट पार्टी धादिङ्ग’ नामक फेसबुक पेजले गिरीको तारा अङ्गित पगरी लगाएको फोटो राख्दै क्याप्सनमा लेखेको छ, “एकपटक फेरी देशलाई साँच्चै भरपर्दो, संघर्षबाट खारिएको र गणतन्त्रको जग बसाल्ने नेता क. प्रचण्ड / Comrade Prachandaलाई विश्वास गरौँ। देशको, व्यवस्था र भविष्यका लागि प्रचण्ड नै हुन, अरु खहरे खोला हुन ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

उही प्रकृति र उही दाबी सहितका दुई ओटा तर फरक फोटो भाइरल भइरहेका छन् । त्यसमध्ये एउटामा गिरीले लगाएको पगरी जस्तो पोसाकमा एउटा मात्र तारा देखिएको छ भने अर्कोमा बढी तारा देखिएका छन् । उही शैलीका दुई फोटोमा लगाएको पोसाकमै भिन्नता देखिएपछि एडिटेड हो भन्ने आधारलाई थप जोड मिल्यो ।  

हाइभ मोडरेसन टुलमा जाँच गर्दा एउटा तारा देखिने फोटो ९९.८ प्रतिशत एआई सिर्जित हुने देखियो । त्यस्तै बढी तारा हुने फोटो ४.८ प्रतिशत एआई सिर्जित हुनसक्ने देखियो । 

त्यसपछि हामीले फेक इमेज डिटेक्टरमा जाँच गर्‍यौं । त्यस टुलले पनि दुबै फोटो कम्प्युटर सिर्जित वा परिमार्जन हुने सम्भावना अत्यधिक रहेको देखायो । 

हामीले थप पुष्टि गर्न दीपकराज गिरीलाई सम्पर्क गरी भाइरल भइरहेका फोटो उपलब्ध गरायौं । उनले आफूले कहिल्यै त्यसरी पूर्ण रूपमा पगरी नलगाएको बताए । हामीले उनको फेसबुक पेज प्रोफाइलमा अपलोड भएका हालसम्मका फोटो विश्लेषण गर्‍यौं । त्यस क्रममा गिरीले ३१ डिसेम्बर २०२३ मा रातो र सेतो रङ्गको मिसिएको पगरी लगाएको फोटो पोस्ट गरेको फेला पार्‍यौं । हेर्नुहोस् उक्त पोस्ट । सोही पगरी लगाएको अर्को फोटो २५ डिसेम्बर २०१७ मा अपलोड भएको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट

३० कात्तिक २०८२ मा (१६ नोभेम्बर २०२५), प्रचण्ड हुनेगरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो । सोही दिन नै पार्टीले चुनाव चिन्ह ‘पाँचकुने तारा’ सार्वजनिक गरेको थियो । हामीले उक्त मितिदेखि हालसम्म दीपकराज गिरीले नेपाली कम्युनिस्ट पार्टी वा प्रचण्डको समर्थनमा बोलेको विषयका जानकारी खोज्यौं । त्यस क्रममा गिरीले प्रचण्डलाई समर्थन गरेको भन्ने विषयमा तयार पारिएका कुनै पनि समाचार फेला परेनन् ।

त्यस्तै हामीले उक्त मितिपछि दीपकराज गिरीले अपलोड गरेका पोस्ट नियाल्यौं । त्यस क्रममा गिरीले राजनीतिक दल, राजनीतिक अवस्था, आसन्न निर्वाचनको माहोल आदिको बारेमा आफ्नो धारणा राखेको भए पनि नेपाली कम्युनिस्ट पार्टी र प्रचण्डलाई समर्थन गर्ने हिसाबले पोस्ट राखेको फेला परेन । यी विभिन्न तथ्यबाट दीपकराज गिरीले नेपाली कम्युनिस्ट पार्टीलाई समर्थन गरी तारा अङ्कित पोसाक लगाएको र प्रचण्डलाई समर्थन गर्नुपर्छ भनिएको दाबी भ्रामक रहेको पुष्टि हुन्छ । टेकपानासँगको कुराकानीमा गिरीले फेसबुकमा व्यङ्ग्यात्मक क्याप्सनसहित सोही भारइल फोटो राखेका छन् । उनले लेखेका छन्, “सामाजिक संजालको उपहार ,

मेरो अर्कौ फोटो पनि रिलिज भएछ , फोटोमा म तारा चिन्ह लगाएर पार्टीको लागि भोट माग्दैछू , दोस्रो फोटो त भाइरल नै भै हाल्यो , जॅहा म कसैको घर जलाउदैछू !! अझै के के आउने हो …. संजाल न हो , जे अॅाउछ , मज्जाले पचाउछ !”

राजेश हमालसँग सम्बन्धित फोटोः

राजेश हमालले तारा चिन्हलाई समर्थन गरेको दाबीबारे तथ्यजाँच गर्न हामीले फोटो रिभर्स इमेज सर्च गरी हेर्‍यौं । त्यस क्रममा फेसबुकमा ‘Dipak Yogi Mahan’ नामक फेसबुक पेजबाट राजेश हमालले तारा अङ्कित क्याप लगाएको फोटो पोस्ट गरेको फेला पर्यो । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, “सिर माथी प्रचण्डको चुनाव चिन्ह सजाएर राजेश हमाल भन्नुहुन्छ—मेरो कुनै पार्टीमा संलग्नता छैन तर पनि “एकचोटि फेरि ⭐ तारामा भोट हालेर प्रचण्डलाई केही समयका लागि देशको बागडोर सम्हाल्ने जिम्मा दिनुपर्छ। अहिलेको परिस्थितिमा अनुभव, संघर्ष र स्पष्ट दृष्टि भएका नेताको आवश्यकता छ, र त्यो जिम्मेवारी प्रचण्डले मात्र बहन गर्न सक्छन्।”के बुझ्नुभयो कमेन्ट गर्नुस् ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Prasad Rohini Gautam’ नामका प्रयोगकर्ताले ३ फ्रेबुअरी बेलुका ७ः२२ बजे राजेश हमालले प्रचण्डलाई समर्थन गरेको दाबी सहितको पोस्ट राखेका छन् । उनको सो पोस्टमा १० हजार बढी रियाक्सन, १८०० बढी कमेन्ट आएका छन् भने पोस्ट ९८२ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

  

त्यस्तै ‘Mahan Nepal’ नामको अकाउन्टले पनि सोही क्याप्सन र पोस्ट राखेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

हामीले उक्त फोटो रिभर्स इमेज सर्च गर्ने क्रममा ११ जनवरी २०२६ मा ‘Madhya Nepal’ नामक फेसबुक पेजले राजेश हमालले अटोग्राफ दिइरहेको फोटो एउटा छेउमा र उनी उभिएको फोटो अर्को छेउमा रहेको फोटो राखेको छ । हेर्नुहोस् फोटोसहितको पोस्ट । राजेश हमालले तारा अङ्कित क्याप लगाएको भन्ने दाबी गरिएको फोटो र राजेश हमाल उभिएको देखिने फोटो मिल्छ । यसबाट के पुष्टि हुन्छ भने राजेश हमालको क्यापटोपीमा पढिबाट तारा चिन्ह थपिएको हो । 

रिभर्स इमेज सर्च गर्ने क्रममा गुगलमा राजेश हमालकै इन्स्टाग्राम ह्यान्डल इन्डेक्स भएको पेजबाट उक्त फोटो/भिडिओ अपलोड भएको भेटियो । उक्त फोटोमा क्लिक गर्दा राजेश हमालको आधिकारिक इन्स्टाग्राम अकाउन्ट खुल्छ । तर, त्यहाँभित्र उक्त फोटो भेटिएन । गुगलमा इन्डेक्स भएको फोटोमा क्लिक गर्दा हमालको आधिकारिक अकाउन्ट खुल्नुले सो फोटो त्यही इन्स्टाग्राम अकाउन्टबाट अपलोड भएको पुष्टि गर्‍यो । तर, यसलाई थप पुष्टि गर्न हामीले सो अकाउन्टबाट अपलोड भएका हरेक भिडिओ एक-एकगरी विश्लेषण गर्दा १६ नोभेम्बर २०२५ मा अपलोड भएको रिल्सबाट उक्त स्क्रिनशट लिइएको फेला पर्‍यो । हेर्नुहोस् रिल्स । 

 

त्यसबाहेक राजेश हमालले प्रचण्डलाई समर्थन गरे भन्ने दाबी गरिएको फोटोलाई हाइभ मोडरेसन टुलमा जाँच गर्दा उक्त फोटो ८४.६ प्रतिशत एआई सिर्जित हुनसक्ने देखियो । 

यसबाट के पुष्टि हुन्छ भने राजेश हमालले प्रचण्डलाई समर्थन गरेको भन्ने दाबी गरिएको फोटो वास्तविक फोटो एआईलाई दिएर त्यसमा रातो तारा थप्न प्रम्प्ट दिएर तयार पारिएको फोटो हो । यी विभिन्न तथ्यले राजेश हमालले प्रचण्डलाई समर्थन गरेको भन्ने दाबी भ्रामक पुष्टि हुन्छ ।

दाबी

अभिनेता राजेश हमाल र दीपकराज गिरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीलाई समर्थन गरेका छन् र सोही पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ अङ्कित पोसाक (पगरी र टोपी) लगाएर भोट मागेका छन् ।

दाबीकर्ता

'Prasad Rohini Gautam', 'Ran Shrestha', 'Umesh Khadka', 'Dipak Yogi Mahan', 'Mahan Nepal' नामका फेसबुक अकाउन्ट र 'नेपाली कम्युनिस्ट पार्टी धादिङ' नामको फेसबुक पेज ।

तथ्य

‘हाइभ मोडरेसन टुल’ र ‘फेक इमेज डिटेक्टर’ प्रयोग गर्दा दीपकराज गिरीको फोटो ९९.८ प्रतिशत र राजेश हमालको फोटो ८४.६ प्रतिशत एआई सिर्जित वा परिमार्जित भएको पाइयो । गिरीले आफूले त्यस्तो कुनै पोसाक नलगाएको र ती फोटो ‘सामाजिक सञ्जालको उपहार’ भन्दै व्यङ्ग्यात्मक रूपमा खण्डन गरेका छन् । त्यस्तै हमालको फोटो उनको आधिकारिक इन्स्टाग्राममा १६ नोभेम्बर २०२५ मा अपलोड गरिएको एक भिडिओ (रिल्स) बाट लिइएको स्क्रिनशट हो, जसमा एआईबाट रातो तारा थपिएको पुष्टि भएको छ ।

१६ नोभेम्बर २०२५ मा प्रचण्ड नेतृत्वको पार्टी घोषणा भएयता यी दुवै कलाकारले उक्त पार्टीलाई समर्थन गरेको वा चुनाव चिन्ह अंकित प्रचार सामग्री प्रयोग गरेको कुनै आधिकारिक समाचार वा प्रमाण भेटिएको छैन ।

निष्कर्ष

राजेश हमाल र दीपकराज गिरीले प्रचण्डलाई समर्थन गरेको र तारा चिन्ह अंकित पोसाक लगाएको भनी फैलाइएका फोटो भ्रामक हुन् । यी दुवै अभिनेताले प्रत्यक्ष रूपमा उक्त पार्टीको चुनाव चिन्ह अङ्कित पोसाक लगाएको र समर्थन गरेका छैनन् ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १७:४१