close

फ्याक्टचेकः झापाका रास्वपा सभापति एमाले प्रवेश गरेको भन्दै फैलिएको दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

माघ २३, २०८२ १९:३

फ्याक्टचेकः झापाका रास्वपा सभापति एमाले प्रवेश गरेको भन्दै फैलिएको दाबी भ्रामक

काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका जिल्ला सभापतिले पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेको दाबीसहितको पोस्टले चर्चा पाइरहेको छ । उनले देश र राष्ट्रियता जगाउन एमाले आवश्यक भएकाले औपचारिक रूपमा एमाले प्रवेश गरेको दाबी गरिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक पुष्टि भएको छ । वास्तवमा रास्वपाको झापा जिल्ला सभापतिको पद एक वर्षदेखि रिक्त छ । एक वर्षअघि कार्यवाहक सभापतिको भूमिका जिल्ला उपसभापति प्रकाश पाठकले सम्हालिरहेका छन् । 

दाबी

बिहीबार ५ फेब्रुअरी २०२६, बेलुका ६ः२६ ‘Ramesh Lama/रमेश लामा’  नामको फेसबुक पेजबाट एउटा पोस्ट अपलोड भयो । उक्त क्याप्सनमा लेखिएको छ, “झापा — रास्वपा (घण्टी) का जिल्ला सभापतिले नै पार्टी छाडे। देश र राष्ट्रियता जोगाउन एमाले आवश्यक छ भन्दै औपचारिक रूपमा एमाले प्रवेश।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१०० बढी रियाक्सन र ५५५ कमेन्ट आएका छन् । त्यस्तै पोस्ट १३८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कलाई यसमा तथ्यजाँच गर्नका लागि मेन्सन गरिएको थियो । डेस्कले अनुसन्धानका क्रममा भाइरल भइरहेको वाक्यको केही किवर्ड जस्तै ‘रास्वपा झापा जिल्ला सभापति’, ‘रास्वपा एमाले सभापति’, ‘रास्वा छाडेका’ जस्ता किवर्ड सर्च गर्‍यो । त्यस क्रममा फेसबुकमा ‘Nepali Congress’ नामको फेसबुक ग्रुपमा ‘कांग्रेस जिताऔं अभियान’ नामक फेसबुक पेजले सोही पोस्ट राखेको फेला पर्यो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

त्यस्तै ‘Laxman Dhami’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही क्याप्सन कपी पेस्ट गरेका छन् । उक्त पोस्टमा १८०० बढी रियाक्सन र ३४० ओटा कमेन्ट आएका छन् । त्यस्तै पोस्ट ५८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै हालै एमालेमा प्रवेश गरेका ‘अब्दुल हुसेन अन्सारी’ले पनि झापाका रास्वपा जिल्ला सभापतिले राजीनामा दिएर एमाले प्रवेश गरेको दाबी गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

डेस्कले फ्याक्टचेककै क्रममा उक्त दाबी अन्य दर्जनौं पटक शेयर भएको पायौं । हेर्नुहोस् स्क्रिनरेकर्ड ।

रास्वपा झापाका जिल्ला सभापतिले राजीनामा दिएको विषयबारे थप जानकारीका लागि हामीले गुगल एड्भान्स सर्च गर्‍यौ । त्यस क्रममा ‘रास्वपा झापा जिल्ला सभापति राजीनामा’ किवर्ड खोज्दा २० फागुन २०८१ मा देशसञ्चार डटकमले ‘निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा’ शीर्षकको समाचार राखेको फेला पर्यो । हेर्नुहोस् समाचार । त्यस्तै अनलाइन विचार डटकम, समयसञ्चाल डटकम, प्रतिदिनडेली डटकम, सेतोपत्र डटकम आदिले खरेलको राजीनामासँग सम्बन्धित विषयमा समाचार फेला पर्‍यो । यी समाचार झण्डै एक वर्ष पुराना हुन् ।

हामीले रास्वपाको आधिकारिक वेबसाइटबाट झापा जिल्ला समिति सदस्यको सूची खोज्यौं । त्यस क्रममा प्रकाश पाठक जिल्ला उपसभापति प्रकाश पाठकले नै कार्यवाहक सभापतिको भूमिकामा काम गरिरहेको फेला पर्‍यो । 

यसलाई थप प्रमाणित गर्न हामीले रास्वपाका प्रवक्ता मनिष झालाई सम्पर्क गर्‍यौं । झाले टेकपाना फ्याक्टचेक डेस्कलाई भने, “झापामा रास्वपाको जिल्ला सभापति पद झन्डै एक वर्षदेखि खाली छ । कार्यवाहक सभापतिको भूमिकामा उपसभापति हुनुहुन्छ ।” 

झापा रास्वपाका कार्यवाहक सभापति प्रकाश पाठकले पनि सामाजिक सञ्जालमा  फैलिएको प्रचार सही नभएको जानकारी गराए ।

हामीले निर्वाचनको मिति घोषणा भएको दिन अर्थात् ३० कात्तिक २०८२ देखि यो सामग्री तयार पार्दासम्म २३ माघ २०८२ सम्म प्रकाशित समाचार खोज्यौं । तर, रास्वपा जिल्ला सभापतिले राजीनामा दिएको भन्ने कुनै समाचार फेला परेन । 

भाइरल भइरहेको पोस्टमा कहिले, को (सभापतिको नाम) जस्ता विवरण खुलाइएको छैन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गरेको समयमा झन्डै एक वर्ष पुरानो रहेको पाइयो । त्यस्तै उमेश खरेल एमाले प्रवेश गरेको भन्ने जानकारी पनि आधिकारिक समाचार सामग्रीमा उपलब्ध छैन । यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा बिहीबारदेखि भाइरल भइरहेको ‘झापाका रास्वपा जिल्ला सभापतिले पार्टी त्याग गर्दै एमाले प्रवेश गरेको’ भन्ने दाबी गलत पुष्टि हुन्छ ।

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका जिल्ला सभापतिले पार्टी छोडेर औपचारिक रूपमा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

दाबीकर्ता

‘Ramesh Lama/रमेश लामा’, ‘कांग्रेस जिताऔं अभियान’, ‘Laxman Dhami’, ‘अब्दुल हुसेन अन्सारी’ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य

रास्वपा झापाको जिल्ला सभापति पद विगत एक वर्षदेखि रिक्त छ । हाल जिल्ला उप-सभापति प्रकाश पाठकले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । झन्डै एक वर्षअघि (२० फागुन २०८१ मा) तत्कालीन सभापति उमेश खरेलले निलम्बनको सिफारिस भएपछि पदबाट राजीनामा दिएका थिए । रास्वपाका प्रवक्ता मनिष झाले झापामा सभापति पद खाली रहेको र हाल कसैले पनि राजीनामा नदिएको स्पष्ट पारेका छन् । भाइरल भइरहेको पोस्टमा एमाले प्रवेश गर्ने व्यक्तिको नाम र मिति खुलाइएको छैन ।

निष्कर्ष

रास्वपा झापाका जिल्ला सभापति एमाले प्रवेश गरेको भन्ने दाबी भ्रामक हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १९:२०