close

‘किस डे’ को सन्दर्भमा प्रहरीको सचेतना सन्देश: ‘आत्मीयता साटासाट गरौं, निजी फोटो-भिडिओ होइन’

टेकपाना टेकपाना

फागुन १, २०८२ १४:५९

‘किस डे’ को सन्दर्भमा प्रहरीको सचेतना सन्देश: ‘आत्मीयता साटासाट गरौं, निजी फोटो-भिडिओ होइन’

काठमाडौँ । प्रणय सप्ताह (भ्यालेन्टाइन विक) को छैठौं दिन ‘किस डे’ को अवसर पारेर नेपाल प्रहरीले युवापुस्तालाई लक्षित गर्दै विशेष सचेतना सन्देश जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै प्रेम सम्बन्धमा रहेका जोडीलाई आफ्ना निजी फोटो तथा भिडिओ साटासाट नगर्न सुझाव दिएको हो ।

प्रहरीले ‘आत्मीयता साटासाट गरौं ! प्राइभेट फोटो/भिडिओ होइन’ भन्दै प्रविधिको दुरुपयोगले निम्त्याउन सक्ने गम्भीर संकटबारे सचेत गराएको छ । एउटा सामान्य देखिने निजी तस्बिर लिक हुँदा व्यक्तिको पूरै जीवन तहसनहस हुनसक्ने भन्दै प्रहरीले चेतावनी दिएको छ । प्रहरीको सन्देशमा भनिएको छ, “द इन्टरनेट नेभर फर्गेट्स, अ सिङ्गल लिक क्यान डिस्ट्रोय लाइभ्स” अर्थात् इन्टरनेटले केही पनि बिर्सिँदैन, एउटै सामग्री बाहिरिँदा पनि जीवन बर्बाद हुन सक्छ ।

पछिल्लो समय युवापुस्तामा प्रेम सम्बन्धमा रहँदा वा विशेषगरी ‘लङ डिस्टेन्स’ सम्बन्धमा रहेका बेला अन्तरङ्ग तस्बिर वा भिडिओ साटासाट गर्ने प्रवृत्ति बढ्दो छ । तर, सम्बन्धमा खटपट आएपछि आवेशमा आएर यस्ता निजी सामग्री सार्वजनिक गरिदिने, तस्बिरको आडमा ब्ल्याकमेल गर्ने र मानसिक यातना दिने घटना वृद्धि भइरहेका छन् । यस्ता क्रियाकलापमा संलग्न हुनेहरू अन्ततः कानुनी सजायको भागिदार बन्ने प्रहरीको भनाइ छ ।

विद्युतीय माध्यमबाट कसैको चरित्रहत्या गर्ने वा अश्लील सामग्री फैलाउने कार्यलाई ‘विद्युतीय कारोबार ऐन, २०६३’ ले कडाइका साथ निषेध गरेको छ । ऐनको दफा ४७ को उपदफा (१) अनुसार कम्प्युटर वा इन्टरनेट जस्ता विद्युतीय सञ्चार माध्यममा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने वा अपमान गर्ने कार्य गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै, सोही दफाको उपदफा (२) मा यदि कसैले यस्तो कसुर पटक-पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने प्रावधान समेत रहेको छ ।

प्रहरीले प्रेमको नाममा गरिने यस्ता जोखिमपूर्ण डिजिटल व्यवहारबाट टाढै रहन र कानुनी झमेला तथा सामाजिक प्रतिष्ठामा आँच आउने काम नगर्न आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १५:०