close

फ्याक्टचेक: नुवाकोटमा ‘काँग्रेसको विशाल माहोल’ भन्दै एआईबाट सम्पादित फोटो भाइरल

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन २, २०८२ ९:४२

फ्याक्टचेक: नुवाकोटमा ‘काँग्रेसको विशाल माहोल’ भन्दै एआईबाट सम्पादित फोटो भाइरल

काठमाडौँ । सामाजिक सञ्जालमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नुवाकोटमा हजारौँ समर्थकका माझ कार्यक्रम गरिरहेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ । “रवि, बालेनलाई मात खुवाउने नुवाकोटमा कांग्रेसको माहोल” भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त तस्बिरमा महत केही मानिसहरूसँग छलफलमा बसिरहेको देखिन्छन् र उनको पछाडि मानिसहरूको विशाल भीड देखाइएको छ । तर टेकपाना फ्याक्टचेकको क्रममा वास्तविक तस्बिरमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी पृष्ठभूमिमा नक्कली भीड थपेर भ्रम फैलाइएको निष्कर्ष निकालेको छ ।

दाबी

१२ जनवरी (बिहीबार) साँझ ५:०२ मा फेसबुक प्रयोगकर्ता ‘Suresh Bohara’ ले एक पोस्ट सार्वजनिक गरेका छन् । फोटोमा नेपाली काँग्रेसका नेता प्रकाश शरण श्रेष्ठ सहितका मानिसहरू कुर्सीमा बसेका छन् भने पछाडि हजारौँ व्यक्तिहरू उभिएको जस्तो देखिएको छ । उनले तस्बिरसँगै लेखेका छन्, “रवि, बालेनलाई मात खुवाउने नुवाकोटमा कांग्रेसको माहोल 😂।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १४ हजारभन्दा बढी रियाक्सन र २६ सयभन्दा बढी प्रतिक्रिया (कमेन्ट) आइसकेका छन् ।

 हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि हामीले यसको सत्यता जाँच्न अनुसन्धान सुरु गर्‍यौँ । खोजी गर्ने क्रममा ‘DB Vines’ नामको फेसबुक पेजले शुक्रबार बिहान १०:११ बजे “जुरुक्कै उठ्यो नुवाकोट 😃😃 रबि, बालेन लाई मात खुवाउने नुवाकोटमा काङ्रेसको माहोल😂” स्टाटससहित सोही तस्बिर राखेको पाइयो । पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

यस्तै, १२ फेब्रुअरी दिउँसो ३:१९ मा फेसबुक प्रयोगकर्ता ‘Samarpan’ ले पनि सोही तस्बिरसहित पोस्ट राखेको फेला पर्‍यो । फोटोको स्टाटसमा लेखिएको छ, “नुवाकोटमा AI Congress 😁😂” । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएको पाइएपछि हामीले एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मा राखेर हेर्‍यौँ । हाइभ मोडेरेसनमा तस्बिरमा ४६.६ प्रतिशत एआईको प्रयोग भएको हुनसक्ने निष्कर्ष निकाल्यो । तर यो तस्बिर पूर्ण रूपमा एआई नभएको उक्त टुलले देखायो । 

हामीले यो तस्बिरलाई एआई डिटेक्सन टुल ‘वाज इट एआई’ मा समेत राखेर जाँच गर्‍यौँ । जहाँ उक्त तस्बिर तयार पार्न एआईको प्रयोग भएको निष्कर्ष निकाल्यो ।  

एआई डिटेक्सन टुलहरूले उक्त तस्बिर बनाउन एआईको प्रयोग भएपनि पूर्ण रूपमा एआई नरहेको निष्कर्ष निकालेपछि हामीले प्रकाश शरण महतको कुनै तस्बिरलाई एआईको प्रयोग गरेमा मानिस थपिएको हुन सक्ने अनुमान लगायौँ । त्यसपछि हामीले नुवाकोट क्षेत्र नं १ बाट उम्मेदवारी दिएका डा. प्रकाश शरण महतको चुनाव प्रचारप्रसारका क्रममा खिचिएको फोटोहरू केलायौँ । 

डा. प्रकाश शरण महतको भेरिफाइड फेसबुक अकाउन्ट ‘Dr. Prakash S. Mahat’ बाट ९ फेब्रुअरीमा सार्वजनिक भएको एउटा फोटो फेला पर्‍यो । ‘आज नुवाकोटको तादी गाउँपालिकाको छापथोक र रालुकाका स्थानीय सँग भेटघाट एवम् अन्तरक्रिया गर्दै’, क्याप्सन सहित उक्त तस्बिर राखेको छ । 

उक्त फोटोमा देखिएका व्यक्तिहरू र स्थान हाल भाइरल भइरहेको तस्बिरसँग मेल खाएको पायौँ । हेर्नुहोस् फेसबुक पोस्ट र स्क्रिनशट । 

                                                                                                     

त्यसपछि हामीले उक्त फोटोलाई हाल भाइरल भिडिओसँग तुलना गर्‍यौँ । तुलना गर्दा डा. प्रकाश शरण महतले राखेको तस्बिरमा देखिएको स्थान र मानिसहरू र भाइरल तस्बिर धेरै हदसम्म समान रहेको पाइयो । 

दाबी

नुवाकोटमा काँग्रेसको माहोल भन्दै हजारौँ मानिसहरू भेला भए । 

दाबीकर्ता

फेसबुक प्रयोगकर्ताहरू ‘Suresh Bohara’, ‘DB Vines’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले ९ फेब्रुअरीमा नुवाकोटको तादी गाउँपालिकाको छापथोक र रालुकाका स्थानीयसँग भेटघाट गरेको तस्बिर सार्वजनिक गरेका थिए । उक्त समयको तस्बिरको पृष्ठभूमिमा एआईको प्रयोग गरेर तस्बिर थपेर भाइरल गराइएको हो । 

निष्कर्ष

सामाजिक सञ्जालमा “रबि, बालेनलाई मात खुवाउने नुवाकोटमा काङ्रेसको माहोल” भन्दै भाइरल भइरहेको तस्बिर भ्रामक एवं एआई सिर्जित हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८२ ९:५२