एमाले नेता सूर्य थापामाथि जुत्ता प्रहार भएको दाबी गलत, दुई फरक दृश्य जोडेर फैलाइयो भ्रम
फागुन २, २०८२ १४:३२
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् प्युठान क्षेत्र नम्बर १ का उम्मेदवार सूर्यबहादुर थापामाथि जुत्ता प्रहार भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ भ्रामक भएको पुष्टि भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकको आलोचना गरिएको थापाको एक भाषणलाई तोडमोड गरी जुत्ता प्रहार भएको देखाएर भ्रम फैलाइएको पाइएको हो ।
अनुजा पाण्डे नामको फेसबुक अकाउन्टबाट ‘अपराधी भन्दै थ्यो उल्टै जुत्ता खायो’ भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त भिडिओमा एमाले नेता थापाले भाषण गरिरहेको देखिन्छन् । लगत्तै एक युवाले जुत्ता प्रहार गरेको र सो जुत्ता थापालाई लागेको दृश्य देखाइएको छ । यो सामग्री भाइरल भएसँगै यसमा ३५ हजारभन्दा बढी रियाक्सन, २२ सय बढी कमेन्ट र ३२ सयभन्दा बढी पटक शेयर भइसकेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको सत्यताबारे प्रश्न उठाउँदै फ्याक्टचेकका लागि टेकपानालाई अनुरोध गरेपछि गरिएको प्राविधिक अनुसन्धानले उक्त भिडिओ नक्कली भएको देखाएको हो ।


भिडिओको वास्तविकता फेला पार्ने क्रममा सूर्य थापा देखिएको दृश्य र जुत्ता प्रहार गर्ने युवकको फ्रेम आपसमा नमिलेको पाइयो । भिडिओको अन्तिममा प्रहार गरिएको जुत्ता थापालाई लागेको देखाइए पनि त्यो दृश्य पछिबाट थपिएको प्रष्ट हुन्छ । सोही भाषणको वास्तविक भिडिओ गत मङ्गलबार युट्युबमा ४४ सेकेन्डको अपलोड भएको पाइएको छ, जसमा थापाले भाषण दिइरहेका छन्, तर जुत्ता प्रहार भएको कतै देखिँदैन । साथै, सो दिन थापामाथि जुत्ता प्रहार भएको कुनै पनि आधिकारिक समाचार फेला परेका छैनन् ।
भाइरल बनाइएको भिडिओमा ‘मिम’हरूमा प्रयोग हुने साउन्ड इफेक्ट प्रयोग गरिएका छन् । यबाट उक्त भिडिओ मनोरञ्जनका लागि बनाइएको ‘ट्रोल सामग्री’ भन्ने सङ्केत गर्छ । तर, उक्त भिडिओ पोस्ट गर्ने अकाउन्टले यसबारे कुनै स्पष्ट जानकारी नदिई थापामाथि साँच्चिकै जुत्ता प्रहार भएको दाबी गरेको छ ।
वास्तविक भिडिओमा नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूलाई सामाजिक सञ्जालमा सक्रिय ‘अपराधी जमात’को संज्ञा दिँदै आक्रोश व्यक्त गरेका थिए । उनले रास्वपा समर्थकले आफ्नो गीत अन्य पार्टीको प्रचार भिडिओमा भ्वाइस ओभर गरेर राखिदिने र त्यसले गलत सन्देश दिने भन्दै कारबाहीका लागि अनुरोध गरेका थिए । सोही भाषणलाई लिएर अहिले सामाजिक सञ्जालमा सम्पादित भिडिओमार्फत भ्रम फैलाउने काम भएको देखिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १४:३२
