close

भेनेजुएलाका तत्कालीन राष्ट्रपति मादुरो पक्राउ गर्न क्लाउड एआई प्रयोग भएको खुलासा

टेकपाना टेकपाना

फागुन २, २०८२ १५:२९

भेनेजुएलाका तत्कालीन राष्ट्रपति मादुरो पक्राउ गर्न क्लाउड एआई प्रयोग भएको खुलासा

काठमाडौँ । भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न अमेरिकी सेनाले सञ्चालन गरेको सैन्य अभियानमा ‘एन्थ्रोपिक’ कम्पनीको एआई मोडेल ‘क्लाउड’ (Claude) प्रयोग गरिएको खुलासा भएको छ । वाल स्ट्रिट जर्नलले शुक्रबार यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै उक्त खबर सार्वजनिक गरेको हो ।

एन्थ्रोपिकको एआई मोडेल क्लाउडको डेटा फर्म ‘पलान्टिर टेक्नोलोजिज’सँगको साझेदारीमार्फत डिप्लोय गरिएको थियो । पलान्टिरका प्लेटफर्म अमेरिकी रक्षा मन्त्रालय र संघीय सुरक्षा निकायले लामो समयदेखि व्यापक रूपमा प्रयोग गर्दै आएका छन् ।

गत जनवरीको सुरुमा अमेरिकी सेनाले एक सैन्य छापामार्फत मादुरोलाई नियन्त्रणमा लिएको थियो । उनलाई लागूऔषध ओसारपसारको अभियोगमा मुद्दा चलाउन न्युयोर्क पुऱ्याइएको थियो । पेन्टागनले हाल ओपनएआई र एन्थ्रोपिकजस्ता एआई कम्पनीलाई आफ्ना प्रविधि वर्गीकृत नेटवर्कमा उपलब्ध गराउन दबाब दिइरहेको छ । सेनाले एआई उपकरणमा लगाइएका सामान्य प्रतिबन्ध हटाएर सैन्य प्रयोजनका लागि खुल्ला रूपमा प्रयोग गर्न चाहेको छ ।

धेरै एआई कम्पनीले अमेरिकी सेनाका लागि विशेष टुलहरू बनाइरहेका छन् । तर ती प्रायः प्रशासनिक कामका लागि मात्र प्रयोग हुने ‘अनक्लासिफाइड’ नेटवर्कमा सीमित छन् । एन्थ्रोपिक थर्ड पार्टी कम्पनीमार्फत ‘क्लासिफाइड’ सेटिङमा उपलब्ध हुने एकमात्र एआई मोडेल भए पनि यो अझै पनि कम्पनीको ‘प्रयोग नीति’ले बाँधिएको छ ।

पछिल्लो चरणमा ३० अर्ब डलर लगानी जुटाएपछि एन्थ्रोपिकको बजार मूल्य ३८० अर्ब डलर पुगेको छ । कम्पनीको आधिकारिक नीतिअनुसार क्लाउडलाई हिंसामा सहयोग गर्न, हतियारको डिजाइन गर्न वा कसैको निगरानी गर्न प्रयोग गर्न निषेध गरिएको छ । यस विषयमा ह्वाइट हाउस, पेन्टागन, एन्थ्रोपिक र पलान्टिर कसैले पनि तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १५:५८