फ्याक्टचेकः स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिचको भनिएको ‘अडियो लिक’ नक्कली
फागुन ५, २०८२ १६:५२
काठमाडौँ । विगत पाँच महिनादेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वर्णिम वाग्लेको एक अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोडेर प्रचार गरिएको २२ सेकेन्डको उक्त अडियोमा वाग्ले र मोदीको तस्बिर राखिनुका साथै तलपट्टि ‘Indian Embassy’ लेखिएको छ ।
कुनै ठोस सन्दर्भ वा प्रसङ्ग नखुलाइएको उक्त अडियोलाई लिएर विभिन्न किसिमका तर्क-वितर्क भइरहेका छन् । यस विषयमा टेकपाना फ्याक्टचेक डेस्कले लामो समय लगाएर गरेको तथ्यजाँचले उक्त अडियो एआई सिर्जित/डिपफेक/नक्कली पुष्टि गरेको छ । डिपफेक अडियो-भिडिओ विश्लेषण गर्ने भारतको ट्रस्टेड इन्फरमेसन अलायन्स अन्तर्गतको ‘डिपफेक्स एनालाइसिस युनिट’ र टेकपाना फ्याक्टचेक डेस्कले गरेको विस्तृत विश्लेषणले उक्त अडियो नक्कली रहेको निष्कर्ष निकालिएको हो ।
दाबी
फेसबुकमा ‘Amit Magar’ नामक प्रयोगकर्ताले २ सेप्टेम्बर २०२५ मा एक भिडिओ राखेका थिए । उनले राखेको भिडिओमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाएको फोटो राखिएको छ । माथिपट्टि लेखिएको छ, “भारत सङ्ग, रवि लामिछाने छुटाउनको लागि जे पनि गर्न तयार ।” तलपट्टि कलेजी रङ्गको ब्याकग्राउन्डमा सेतो टेक्स्टमा लेखिएको छ, “स्वर्णिम वाग्लेको अडियो सार्वजनिक” ।
तलपट्टि छेउमा भारतीय झण्डा राखिएको छ । त्यसभन्दा तल वेबको एनिमेसन राखिएको छ भने त्यसभन्दा तल नेपालस्थित भारतीय दूतावासको फोटो राखिएको छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु बिदेशी एजेन्ड हुन भन्ने कुरा स्वर्णिमा वाग्लेको एहि अडियो बाट स्पष्ट हुन्छ ।।”
उक्त भिडिओमा स्वर्णिम वाग्लेको जस्तो लाग्ने आवाजमा भनिएको छ- ‘क्या करलेङ्गे । हम तो ए सब कुछ मिलालेङ्गे । आप चिन्ता मत किजिए । ८४ मे - in the coming election we will be the main force of this country. So आप लोग चिन्ता मत करिए । ए सब हो जाएगा’
यो सामग्री आर्काइभ गर्ने समयमा १५ लाख बढी भ्युज आइसकेको सो भिडिओमा २२ हजार बढी रियाक्सन, १९०० बढी कमेन्ट आएका थिए भने ५५०० पटक शेयर भइसकेको थियो । उक्त भिडिओ अहिले हटाइसकिएको छ । यद्यपि यहाँ क्लिक गरेर त्यसको आर्काइभ हेर्न सक्नुहुन्छ ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले विश्लेषणका लागि उक्त भिडिओको किफ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्यो । त्यस क्रममा उक्त भिडिओ ३ सेप्टेम्बर २०२५ मा ‘Bikash Maharjan’ नामक फेसबुक प्रयोगकर्ताले अपलोड गरेको देखियो । सो भिडिओको क्याप्सनमा लेलेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु बिदेशी एजेन्ट हुन भन्ने कुरा Swarnim Waglé को यहि अडियो बाट स्पष्ट हुन्छ! यो सुनेर तनहुँका जनताले के भन्लान्?” उनले राखेको भिडिओमा भने माथिपट्टि ‘यदि सत्य हो भने कडा कार्वाही होस’ र तलपट्टि ‘नेपाल आमा माथि गद्दार’ लेखिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनरेकर्ड ।
त्यस्तै ९ फेब्रुअरी २०२६ अर्थात् वाग्लेको अडियो भन्दै भाइरल भएको पाँच महिनापछि ‘सचेत जन -आवाज’ नामक फेसबुक पेजले सोही भिडिओ क्लिप राखेको छ । यसमा भने अमित मगरले राखेको भिडिओको माथिपट्टिको भाग क्रप गरेर अडियोको लोगो राखिएको छ । तलपट्टि ‘Audio Kanda’ लेखिएको छ भने फुटरमा अर्को लोगो राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा साढे १३ हजार बढी रियाक्सन, १३०० बढी कमेन्ट र ५६०० बढी पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिन रेकर्ड ।
टिकटकमा ‘velsachengra’ युजरनेम भएका टिकटक प्रयोगकर्ताले ८ फेब्रुअरी २०२६ मा सोही भिडिओ शेयर गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र त्यसको स्क्रिनशट ।

‘Maya.rai295’ युजरनेमको टिकटक अकाउन्टले पनि सोही भिडिओ पोस्ट गरेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

इन्स्टाग्राममा ‘haang_nirvana’ युजरनेमका प्रयोगकर्ताले ‘maya.rai295’ युजरको वाटरमार्क देखिने त्यही भिडिओ पोस्ट गर्दै आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन्, “दलालहरूको भेँडाहरू सुन्, तिमरूको बाउ के भन्दैछ । देश बेच्नेहरू, यिनलाई अब खोजि खोजि जनकार्वाहि नगरि हुन्न है, किनकि यिनको लागि नेपालमा कानुन छैन, त्यसैले सबैभन्दा उत्तम जनकार्वाहि नै हो , नत्र नेपाली हामी रहुँला कहाँ नेपालै नरहे भन्ने लाईन त सुनेकै होला !!!” हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

उक्त अडियो विश्लेषण गर्नु अघि पाँच महिनाको अवधिमा त्यस विषयमा के के जानकारी बाहिर आए भन्ने विषय खोज्यौँ । यस क्रममा १८ भदौ २०८२ (३ सेप्टेम्बर २०२५) मा वाग्लेले साइबर ब्युरोमा उजुरी दिएको समाचार फेला परे । हेर्नुहोस् समाचार ।

वाग्लेले माथि उल्लेख भएका ‘अमित मगर’ र ‘कमल पाठक’ विरुद्ध उजुरी दिएका थिए । हेर्नुहोस् सिधाकुराले त्यही दिन प्रसारण गरेको भिडिओ ।
वाग्लेलाई सम्पर्क गरेर हामीले उनले साइबर ब्युरोमा दिएको निवेदनको फोटो उपलब्ध गराउन आग्रह गर्यौँ । निवेदनमा लेखिएको छ, “विषयः सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरि कृत्रिम ध्वनिको 'डिपफेक' सामग्री प्रचार प्रसार गर्नेहरु पत्ता लगाई हदै सम्मको कारवाही गरि पाउँ।
उपरोक्त विषयमा म निवेदक तनहुँ-१ बाट निर्वाचित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने बहालवाला सांसद हुँ। विगत केही दिनदेखि म प्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक सञ्जालमा झुटा, बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको संवाद एवं दृश्यहरु सामेल गरि मेरो चरित्र, प्रतिष्ठा र राजनीतिक जीवनमा आघात पुर्याउन व्यापक प्रचार प्रसार गरिएको थाहा हुन आयो। ए.आइ. प्रविधिको दुरुपयोग गर्दै गलत राजनीतिक उद्देश्य लिएर सुनियोजित रुपमा 'डिपफेक' बनाइएको स्पष्ट छ।
यस्तो कार्य विद्युतीय (एलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत गैरकानूनी कुरा प्रकाशन गर्न नहुने (कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय संचार माध्यममा कसैप्रति घृणा, द्वेष फैलाउने कार्य गर्नलाइ गैर कानूनी कार्य मानिएको र त्यस्तो कार्य गर्नेलाई पाँच वर्ष सम्म कैद हुने) कानूनी व्यवस्था रहेको र मुलुकी अपराध संहिताले समेत यस्ता कार्यलाइ फौजदारी कसुर मानिने व्यवस्था छ। तसर्थ, पूर्ण रुपमा झुटा अफवाह फैलाउने व्यक्ति र समूहहरु पत्ता लगाई कसले कहाँबाट कतिजनाको मिलेमतोमा गरे भएको हो सो को अनुसन्धान एवं कारवाही गरि पाउन अनुरोध गर्दछु।
यो उजुरीका साथ फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा प्रसारित सामग्रीको लिंक नामसहित अनुसन्धानको लागि प्रेषित गरेको छु।”

हामीले साइबर ब्युरोमा पनि यस अडियोका विषयमा भइरहेको अनुसन्धानबारे चासो राख्यौँ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ‘स्वर्णिम वाग्लेको भन्दै भाइरल भइरहेको’ अडियोको विषयमा अनुसन्धान अझै पनि जारी रहेको जानकारी दिए ।
वाग्लेलाई उजुरीको विषयमा पछिल्लो समय के कस्ता विषय जानकारीमा छन् भनि गरेको प्रश्नमा उनले आफू यसबारे अनभिज्ञ भएको बताए ।
त्यसपछि हामी सो अडियोको सन्दर्भ केलाउन थाल्यौँ । जेन-जी विद्रोह (२३ र २४ भदौ) भन्दा अघि नेपालमा उपनिर्वाचनको माहोल थियो । रूपन्देही क्षेत्र नम्बर ३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि १७ कात्तिकका लागि उपनिर्वाचन तोकिएको थियो । उपनिर्वाचनलाई लक्षित गर्दै रास्वपाले चुनावी अभियान व्यापक रूपमा अघि बढाएको थियो । त्यही सन्दर्भमा ‘वाग्लेको अडियो लिक’ भन्दै भिडिओहरू भाइरल भएका थिए ।
अडियो सबैभन्दा पहिले सार्वजनिक गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता मध्येका एक ‘अमित मगर’ले उक्त भिडिओमा कुनै पनि सन्दर्भ खुलाएका थिएनन् । ‘रवि लामिछानेलाई छुटाउनको लागि जे पनि गर्न तयार’ लेखिएको थियो । क्याप्सनमा भने ‘रास्वपा नेताहरू विदेशी एजेन्ट हुन् भन्ने कुरा स्वर्णिम वाग्लेको सो अडियोले स्पष्ट पारियो’ लेखिएको थियो । अडियो कहिलेको हो, कसरी अमितले पाए, वाग्लेले कोसँग कुरा गरेका हुन्, कुन सन्दर्भमा कुरा गरेका हुन् केही पनि खुलाइएको थिएन । उनको क्याप्सन कपी गर्दै भिडिओ अपलोड गर्नेहरूले पनि कुनै सन्दर्भ नै खुलाएको पाइएन ।
हामीले १ सेप्टेम्बर २०२५ देखि १६ फेब्रुअरी २०२६ सम्म स्वर्णिम वाग्ले र उनीसँग जोडिएको उक्त अडियोबारे तयार पारिएका समाचार खोज्यौँ । त्यस क्रममा वाग्लेले साइबर ब्युरोमा उजुरी दिएको बाहेक अडियोसँग सम्बन्धित अरू समाचार तयार भएको फेला परेनन् । यदि उक्त अडियो वास्तविक भएको भए र कुनै तवरबाट लिक भएको भए त्यसलाई स्वाभाविक रूपमा मूलधारका सञ्चार माध्यमले समाचारको विषय बनाउँथे । तर, हालसम्म पनि उक्त अडियोका विषयका वाग्लेले उजुरी दिएको बाहेक अन्य सन्दर्भमा तयार पारिएका समाचार आएका छैनन् ।
अब अडियोलाई विश्लेषण गरौँ । उक्त अडियोमा वाग्लेको आवाजमा अङ्ग्रेजी र हिन्दी शब्द मिसाएर बोलेको सुनिन्छ । त्यसमा बोलिएको कुरा अक्षरमा उतार्दा यस्तो हुन्छ, “Kya kar lenge hum, toh mila lenge na ye sab, sab kuch mila lenge. Aap chinta mat kijiye. Chaurasi mein... in the coming election, we will be the main force of this country. So aap log toh chinta mat kariye, ye sab ho jayega. Bas chinta mat kijiye.”
यसमा स्वर्णिमको भनिएको आवाजले एकोहोरो मात्र बोलेको छ । २२ सेकेन्डको उक्त क्लिपमा अर्को तर्फको व्यक्ति बोलेको सुनिँदैन । न कुनै प्रसङ्ग नै यो अडियोबाट खुल्छ । के मिलाउने भनेका हुन् ?, कसलाई चिन्ता नलिन भनेका हुन् ? के भइहाल्छ भनेका हुन् ? केही पनि खुल्दैन । नरेन्द्र मोदीसँग वाग्लेले हात मिलाएको फोटो राखेर उनले नरेन्द्र मोदीसँग कुरा गरेको र त्यही अडियो लिक भएको आशय भाइरल भिडिओ क्लिपसँगै व्यक्त गरिएको छ ।
यो अडियोको चर्चा हुन थालेको पाँच महिना भइसक्दासम्म किन २२ सेकेन्डभन्दा बढीको क्लिप सार्वजनिक भएन ? हालसम्म पनि किन कसैले पनि यो वास्तविक अडियो हो भन्दै प्रमाण कतै उपलब्ध गराउन सकेन ?
अडियोको व्यवहारिक विश्लेषण तथा अध्ययन
टेकपाना फ्याक्टचेक डेस्कले अडियोको प्राविधिक विश्लेषण गर्नुअघि त्यसको व्यवहारिक अध्ययन गर्यो । त्यस क्रममा उनले अङ्ग्रेजीमा बोल्दै गरेका कुराकानीको २८ मिनेट लामो भिडिओबाट उनको लवज विश्लेषण थाल्यो । त्यसबाट के देखियो भने उनले अङ्ग्रेजीमा कुराकानी गर्ने शैली र भाइरल भइरहेको अडियोमा सुनिएको शैली फरक रहेको देखियो । नअड्किएरै सरर अङ्ग्रेजीमा घण्टौसम्म कुरा गर्न सक्ने उनको शैली र भाइरल भइरहेको अडियोमा अड्किँदै बोलेको सुनिने ६ सेकेन्डको क्लिपमा निकै भिन्नता भएको देखिन्छ ।
हामीले गुगलको एआई टुल जेमनाईको सहायताले वाग्लेले १० मिनेटसम्म अङ्ग्रेजीमा गरेको कुराकानीको ट्रान्सक्रिप्ट र टाइमस्पान निकाल्यौँ । यहाँ क्लिक गरेर उक्त ट्रान्सक्रिप्सन हेर्न सक्नुहुन्छ । (नोटः एआईले केही शब्द फरक बनाएर लेखेको छ । यद्यपि प्रति मिनेट औसत बोल्ने शब्द निकाल्नका लागि हामीले एआईले नै उपलब्ध गराएका ट्रान्स्क्रिप्सन टेक्स्ट राखेका छौँ । बीचमा अन्तर्वार्ताकारले बोलेका केही शब्द पनि समावेश छन् ।) यसबाट के देखियो भने १० मिनेट ४२ सेकेन्डसम्मको कुराकानीमा वाग्लेले सात मिनेट ३७ सेकेन्ड बोलेका छन् । र, त्यस अवधिमा उनले १५३७ शब्द उच्चारण गरेका छन् । अर्थात् औसत उनले प्रति मिनेट २०१.८ शब्द बोल्ने गरेको पाइयो ।
अब भाइरल भइरहेको अडियोमा हेरौँ । छ सेकेन्डमा स्वर्णिमको दाबी गरिएको अडियोमा १३ ओटा शब्द बोलेको पाइयो । ( in the coming election we will be the main force of this country)। यो भनेको प्रति मिनेट १३० शब्द हो । अर्थात् सामान्य गफगाफमै प्रति मिनेट औसत २०१.८ शब्द बोल्ने गरेको पाइएकोमा भाइरल भएको अडियोमा १३० शब्द प्रति मिनेटको दर देखिन्छ । यसबाट पनि भाइरल भइरहेको वाग्लेको भनिएको अडियो पनि वास्तविक अडियोका अघि अस्वाभाविक देखियो ।
वाग्लेको दाबी गर्दै भाइरल भइरहेको अडियोमा ब्याकग्राउन्ड न्वाइज पनि सुनिन्छ । तर, त्यो अन्तिम २० देखि २२ सेकेन्डपछि अर्कोतर्फको आवाज सुनिँदैन, बरु हातले कुनै वस्तु (सम्भवतः रेकर्डर वा मोबाइल) उठाउन खोजेको जस्तो आवाज सुनिन्छ । यसले पनि उक्त अडियोको फ्लो दोहोरो कुराकानी भन्दा पनि एउटै व्यक्तिले बोलेको सङ्केत गर्छ ।
वाग्लेले अङ्ग्रेजी भाषामा दिएको अन्तर्वार्तामा सुनिएका शब्द र ती शब्द सुन्न सकिने भिडिओ तथा टाइमको लिङ्क- Election:08:08, 84, Country: (1:52), Coming (03:50), Force (13:46), in the (01:09) (01:49) (02:05), (03:38) ।
एआई टुल विश्लेषण
एआई अडियो पहिचान गर्ने टुल रिजेम्बल डट एआईले उक्त अडियो नक्कली भएको देखायो । हेर्नुहोस् लिङ्क ।

डिपफेक-ओ-मिटरमा ६ ओटा एआई टुलमध्ये पाँच ओटाले एआई सिर्जित हुने देखाएका छन् । Aasist (2021) ले ९९.८ प्रतिशत, Lfcc-lcnn (2021) ले १००.० प्रतिशत, RawNet2 (2021) ले १००.० प्रतिशत, Whisper (2023) ले ९७.७ प्रतिशत एआई सिर्जित हुने देखाएका छन् । त्यस्तै Avsrdd (2025) ले भने उक्त अडियो एआई सिर्जित हुने सम्भवाना ०.६ प्रतिशत देखाएको छ । हेर्नुहोस् स्क्रिनशट ।

Aurigin.ai ले उक्त अडियो ८७ प्रतिशत एआई सिर्जित हुनसक्ने देखायो । ५ सेकेन्डसम्मको अडियो एआई सिर्जित हुने सम्भावना ९६ प्रतिशत, ५ देखि १० सेकेन्डबिचको अडियो एआई सिर्जित हुने सम्भावना ७८ प्रतिशत र १० सेकेन्डपछिको अडियो एआई सिर्जित हुने सम्भावना ८९ प्रतिशत रहेको देखियो । यसलाई आधार बनाउँदा सम्पूर्ण अडियो एआई सिर्जित हुने सम्भवना ८७ प्रतिशत रहेको निष्कर्षमा Aurigin एआई पुग्यो । हेर्नुहोस् स्क्रिनशट ।

टेकपाना फ्याक्टचेक डेस्कले सो अडियो भारतमा आधारित ट्रस्टेड इन्फर्मेसन अलायन्स (पहिलेको मिसइन्फर्मेसन कम्ब्याट अलायन्स) को डीपफेक्स एनालाइसिस युनिट (डीएयू) लाई उपलब्ध गराउँदै त्यसलाई विश्लेषण गर्न अनुरोध गरेको थियो । उक्त युनिटले हाइभएआई, हिया एआई, एलेभेन ल्याब्स, अउरिजिन एआई आदि टुलको सहयोगमा विश्लेषण गर्यो । डीएयू र टेकपाना फ्याक्टचेक डेस्कले Aurigin एआईमा उही समानता भेट्टायो ।
यस्तो छ डीएयूले टेकपानालाई उपलब्ध गराएको रिपोर्टः
हाइभ एआई अडियो क्लासिफायर - यस टुलले अडियो ट्रय्राकलाई १०-सेकेन्डका खण्डमा विभाजन गर्छ र तिनीहरूको आधिकारिकता परीक्षण गर्दछ । अध्ययन भइरहेको अडियो क्लिपको हकमा, यस टुलले पूरै अडियो ट्य्राक 'एआई निर्मित नभएको' (Not A.I.-generated) फेला पारेको छ ।
हिया (Hiya) - यस टुलले उक्त अडियो ट्र्याकलाई आधिकारिक (वा वास्तविक) फेला पारेको छ, यद्यपि यसको कन्फिडेन्सको स्तर (confidence level) कम छ ।

‘ElevenLabs स्पिच क्लासिफायर’ - ElevenLabs ले एआई आवाज बनाउने प्रविधिमा काम गर्छ । यसको यो टुलले कुनै अडियो उनीहरूकै प्लेटफर्मबाट बनाइएको हो कि होइन भनेर चिन्न मद्दत गर्छ । यो अडियो भने उक्त टुलले तयार नपारेको वा यसको सहायताले तोडमोड नगरेको बताएको छ ।

Aurigin AI - यो स्विजरल्यान्डको एउटा प्रविधि कम्पनी हो, जसले नक्कली (डिपफेक) अडियो पत्ता लगाउने काम गर्छ । यस टुलले ८७% निश्चितताका साथ उक्त अडियो ‘आंशिक रूपमा एआईले बनाएको’ फेला पारेको छ । तलको चित्रमा, निलो रङले देखाइएको भाग ‘वास्तविक’ आवाज हो भने रातो रङले देखाइएको भाग ‘एआईले बनाएको’ आवाज हो ।

अडियो ध्यान दिएर सुन्दा यसको ब्याकग्राउन्डमा केही आवाज सुनिन्छ र अन्त्यतिर केही घोटिएको जस्तो (खसखस) आवाज पनि प्रस्ट सुनिन्छ । यसमा सुनिने आवाजको एउटा छुट्टै लवज (accent) छ । यो क्लिपमा सुनिने आवाज डा. स्वर्णिम वाग्लेका पुराना भिडिओ र अडियोसँग मिल्छ कि मिल्दैन भन्ने कुरा तपाईँ (टेकपाना फ्याक्टचेक डेस्क)ले राम्ररी छुट्याउन सक्नुहुन्छ ।
अब त्यसमा प्रयोग भएको फोटोको विश्लेषण गरौँ । रिभर्स इमेज सर्च गर्ने क्रममा उक्त फोटो डा स्वर्णिम वाग्लेकै फेसबुक अकाउन्टमा १९ जुलाई २०२२ मा अपलोड भएको पाइयो । हेर्नुहोस् फेसबुक पोस्ट । उनले मोदीसँगको फोटो शेयर गर्दै लेखेका छन्,
“**नेपालको 'हिट' करें**
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो: Highways, Infoways र Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रसारणबाट द्रूत विकास गर्ने पहलमा भारतको साथ हुनेछ। १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरुलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभो।” हेर्नुहोस् स्क्रिनशट ।

अर्थात् यही फोटोलाई जसरी अडियो लिक गर्ने भनिएका युवकले एक्सक्लुसिभ रूपमा प्राप्त गरेको देखाइएको छ, वास्तविकतामा त्यस्तो होइन । भाइरल भइरहेको अडियोमा नेपाल स्थित भारतीय दूतावासको फोटो, भारतको झन्डाको फोटो जोड्दै केही टेक्स्ट राखेर फोटो र अडियोसँगै लिक भएको जस्तो देखाइएको छ । ‘लिक’ भएको भनिएको अडियो मोदीसँग वाग्लेले सोही भेटको क्रममा गरेको कुराकानी हुने सम्भावना पनि देखिएन, किन भने तस्विरको ब्याकग्राउन्डले कार्यक्रम पश्चात्को ‘आफ्टर इभेन्ट’ भएको र त्यहाँ भिडिभाड रहेको देखिन्छ । तर ‘लिक’ भएको भनिएको अडियोमा वाग्ले बाहेक अरू कसैको बोली सुनिएको छैन ।
अडियो ‘लिक’ भएको दाबी गर्नेहरूबाट यो अडियो प्रत्यक्ष कुराकानीको हो अथवा टेलिफोन कुराकानीको क्रममा रेकर्ड गरिएको हो भन्ने सन्दर्भ समेत खुलेको छैन । यदि टेलिफोन कुराकानी नै हो भनेर मान्ने हो भने वाग्ले वा अर्को तर्फबाट रेकर्ड भएको हुनुपर्यो । अडियोको गुणस्तरले अर्कोतर्फको नभएको प्रस्ट हुन्छ । वाग्लेकै मोबाइलबाटै रेकर्ड गरिएको हुनसक्ने सम्भावना पनि देखिँदैन, किन भने अर्को पक्षले कुराकानीमा कुनै प्रतिक्रिया दिएको सुनिँदैन ।
यी विभिन्न पक्ष विश्लेषण गर्दा टेकपाना फ्याक्टचेक डेस्क स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रवि लामिछानेलाई छुटाउन कुरा गरेको भन्ने आशयले सार्वजनिक गरिएको अडियो तथा भिडिओ क्लिप नक्कली रहेको निष्कर्षमा पुग्यो ।
दाबी
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै रवि लामिछानेलाई छुटाउन जे पनि गर्न तयार रहेको र ‘८४ को निर्वाचनमा आफूहरू मुख्य शक्ति बन्ने’ आश्वासन दिएको अडियो सार्वजनिक भएको छ । यसले रास्वपाका नेताहरू विदेशी एजेन्ट हुन् भन्ने पुष्टि गर्छ ।
दाबीकर्ता
‘Amit Magar’, विकास महर्जन, 'सचेत जन-आवाज' नामका फेसबुक पेज तथा प्रयोगकर्ता, 'velsachengra' र 'maya.rai295' नामका टिकटक प्रयोगकर्ता लगायत अन्य ।
तथ्य
‘डिपफेक एनालाइसिस युनिट’ र विभिन्न एआई टुलको परीक्षणमध्ये अधिकांशले उक्त अडियो एआई सिर्जित भएको देखाएका छन् । वाग्लेको अङ्ग्रेजीमा वास्तविक बोल्ने गति र भाइरल अडियोमा सुनिएको गतिमा ठुलो भिन्नता पाइएको छ ।
भिडिओमा प्रयोग गरिएको वाग्ले र मोदीले हात मिलाएको तस्बिर ‘लिक’ भएको नभई वाग्ले आफैँले १९ जुलाई २०२२ मा आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको पुरानो फोटो हो । स्वर्णिम वाग्लेले उक्त अडियो नक्कली भएको र आफ्नो चरित्र हत्या गर्न बनाइएको भन्दै १८ भदौ २०८२ मा साइबर ब्युरोमा उजुरी दिइसकेका छन् ।
२२ सेकेन्डको उक्त क्लिपमा अर्को पक्षको आवाज नभएको, कुराकानीको कुनै ठोस सन्दर्भ नखुलेको र कुनै पनि मूलधारका सञ्चारमाध्यमले यसलाई आधार नबनाएको पाइएको छ ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल भएको स्वर्णिम वाग्लेको भनिएको उक्त अडियो नक्कली हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १८:५
