फ्याक्टचेक: हर्क साम्पाङलाई समर्थन गर्दै ‘माटो’मा भोट हाल्न मलेसियाबाट युवाहरू फर्किएको दाबीसहित भाइरल फोटो एआई निर्मित
फागुन ५, २०८२ २०:१
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा हर्क साम्पाङलाई समर्थन गर्दै ‘माटो’ चुनाव चिह्नमा भोट हाल्न युवाहरू मलेसियाबाट फर्किएको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ । विमानस्थलमा ट्रलीमा सुटकेस लिएर कयौँ युवा उभिएको देखिने तस्बिर शेयर गर्दै श्रम संस्कृति पार्टीका समर्थकहरू नेपाल फर्किएको दाबी गरिएको हो ।
टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक पुष्टि भएको छ । वास्तवमा जापानको विमानस्थलमा देखिएका श्रम संस्कृति पार्टीका समर्थकको तस्बिरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट परिमार्जन गरेर मलेसियाबाट समर्थक फर्किएको भन्दै भ्रम फैलाइएको पाइएको हो ।
दाबी
‘Nepali Prime’ नामक फेसबुक पेजले १५ फेब्रुअरी २०२६ मा ‘Givina Magar Supporters Hub’ ग्रुपमा सुटकेससहित विमानस्थलमा उभिएका युवाहरूको तस्बिर सार्वजनिक गरेको छ । हर्क साम्पाङलाई भोट हाल्न मलेसियाबाट घर फर्किएको दाबी गर्दै उक्त तस्बिर राखिएको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “मलेसियाबाट हर्क साम्पाङ लाई समर्थन गर्दै माटोमा भोट हाल्नका लागि युवा हरू घर फर्किएका छन् ।” पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

१५ फेब्रुअरी बिहान १२:३६ मा ‘Bandhan Rai’ नामको फेसबुक प्रयोगकर्ताले पनि सोही दाबीसहित मलेसियाबाट साम्पाङको समर्थनका लागि युवाहरू दाबी गर्दै पोस्ट शेयर गरेका छन् । पोस्टको क्याप्सनमा लेखिएको छ, “मलेसिया बाट आउनुहुने सम्पुर्ण माटो प्रेमी दाजुभाइ हरुलाई हार्दिक स्वागत गर्दछौ…जय माटो, जय देश !!❤️” । उक्त पोस्टमा यो सामग्री तयार पार्दा सम्म ५३ सय भन्दा धेरै रियाक्सन, १५९ शेयर र ६८४ ओटा कमेन्ट छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुकमै ‘Jann Diyam Rai’ नामका प्रयोगकर्ताले पनि सोही दाबीसहित उक्त फोटो पोस्ट गरेका छन् । उनले पोस्टको क्याप्सनमा लेखेका छन्, “स्वागत छ हाम्रो दाजुभाइहरु भोट हाल्न आयो है खाडी र मलेसिया बाट jay mato” । १४ फेब्रुअरी राति ८:५२ मा सार्वजनिक गरिएको पोस्टमा यो सामग्री तयार पार्दासम्म ५६ सय रियाक्सन, ४१६ कमेन्ट छ भने १८८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुक पेज ‘श्रम संस्कृति पार्टी समर्थक’ नामको पेजबाट पनि सोही दाबीसहितको पोस्ट सार्वजनिक भएको भेटियो । १५ फेब्रुअरी बिहान ११:१२ मा सार्वजनिक भएको उक्त पोस्टको स्टाटसमा लेखिएको छ, “मलेसियाबाट माटेमा भोट हाल्न स्वदेश फर्किने युवाहरुको लर्को” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुकमै अर्का प्रयोगकर्ता ‘Hiraman Bal’ ले पनि श्रम संस्कृति पार्टीको समर्थक युवाहरू नेपाल फर्किएको दाबी र तस्बिरसहितको पोस्ट शेयर गरेको भेटियो । १५ फेब्रुअरी बिहान ७:१५ मा सार्वजनिक गरेको उक्त पोस्टमा लेखिएको छ, “यो देशको माटोलाई जिताउन श्रम संस्कृति पार्टी समर्थक युवाहरु नेपाल फर्किंदै । चुनाव चिन्ह माटो ।” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

सामाजिक सञ्जालमा भाइरल तस्बिरमा देखिएका मानिसहरूको सुटकेसमा केही पर्चा राखिएको छ । तर पर्चामा के लेखिएको छ स्पष्ट छैन । हामीले एआई डिटेक्सन टुल हाइभ मोडेरेसनमा राखेर हेर्दा उक्त तस्बिर ९९.१ प्रतिशत एआई निर्मित भएको निष्कर्ष निक्लियो ।

एआई डिटेक्ट गर्ने अर्को टुल ‘वाज इट एआई’ ले पनि उक्त तस्बिर एआई जेनेरेटेड रहेको निष्कर्ष निकाल्यो ।

हामीले उक्त तस्बिरलाई गुगल रिभर्स इमेज सर्चमार्फत खोज्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राखेका अन्य वास्तविक पोस्टहरू फेला पार्यौँ ।
१४ फेब्रुअरी साँझ ५:२३ मा ‘Dil Nisani Magar’ ले सार्वजनिक गरेको पोस्ट फेला पर्यो । पोस्टमा मगरले हर्क साम्पाङको पार्टीलाई भोट हाल्न जापानबाट हजारौँ श्रमजीवीहरू नेपाल आएको दाबी गरेका छन् । उनले लेखेका छन्, “श्रम गरेर बनेको देश, श्रमिकहरूको उच्च सम्मान हुने देश, श्रमको इज्जत हुने देश जापान बाट हर्क साम्पाङ नेतृत्वको पार्टीको चुनाव चिन्ह माटोमा भोट हाल्नका लागि हजारौँ श्रमजीवीहरू नेपाल फर्किरहेका छन्। यो एउटा फोटो चाहिँ शेयर गरौँ जस्तो लाग्यो ।”
उक्त पोस्टमा तीन ओटा फोटो शेयर भएका छन् । जहाँ हर्क साम्पाङका दुई फरक-फरक तस्बिरसहित श्रम संस्कृति पार्टीका प्रचारात्मक पोस्टरहरू सुटकेसमा टाँसिएका छन् । पृष्ठभूमिमा जापानी भाषामा केही लेखिएको समेत देखिएको छ । हेर्नुहोस् स्क्रिनशट ।

यसपछि हामीले मगरले सार्वजनिक गरेका तस्बिरहरू एआई सिर्जित हुन् कि होइनन् भनी जाँच गर्यौँ । विभिन्न एआई टुलबाट जाँच गर्दा यी तस्बिरहरू वास्तविक नै रहेको पाइयो । त्यसपछि मगरले सार्वजनिक गरेका तस्बिर र एआई जेनेरेटेड तस्बिरमा देखिएको सुटकेस र ट्रली तुलना गरेर हेर्यौँ । तुलना गर्दा जापानको विमानस्थलमा देखिएका हर्क साम्पाङका समर्थकका वास्तविक तस्बिरहरूलाई नै एआईबाट परिमार्जित गरी मलेसियाबाट समर्थक फर्किएको जस्तो देखिने बनाइएको पाइयो ।

दाबी
मलेसियाबाट हर्क साम्पाङलाई समर्थन गर्दै माटोमा भोट हाल्नका लागि युवाहरू घर फर्किए ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ताहरू ‘Nepali Prime’, ‘Bandhan Rai’, ‘Jann Diyam Rai’, ‘श्रम संस्कृति पार्टी समर्थक’, ‘Hiraman Bal’ लगायत ।
तथ्य
मलेसियाबाट हर्क साम्पाङका समर्थकहरू भोट हाल्न फर्किएको दाबीसहित भाइरल भएको तस्बिर एआई सिर्जित हो । यद्यपि, साम्पाङका समर्थकहरू जापानको विमानस्थलमा देखिएको कुरा भने सत्य हो । जापानको तस्बिरलाई एआई प्रयोग गरी मलेसियाको भन्दै भाइरल गराइएको हो ।
निष्कर्ष
मलेसियाबाट हर्क साम्पाङ (श्रम संस्कृति पार्टी) का समर्थकहरू भोट हाल्न फर्किएको दाबीसहित भाइरल तस्बिर एआई सिर्जित तथा भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ २०:३९
