close

शिक्षा र सरकारी सेवामा डिजिटल क्रान्ति गर्ने काँग्रेसको उद्घोष

टेकपाना टेकपाना

फागुन ६, २०८२ १८:४९

शिक्षा र सरकारी सेवामा डिजिटल क्रान्ति गर्ने काँग्रेसको उद्घोष

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गरेको छ । बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रमबिच पार्टीले १० ओटा मुख्य ‘भिजन’ समेटिएको दस्ताबेज सार्वजनिक गरेको हो ।

कांग्रेसले शिक्षा क्षेत्रमा व्यापक सुधारको योजना अघि सार्दै प्रि-प्राइमरीदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई प्रविधि र प्रयोगमा आधारित बनाउने प्रतिवद्धता जनाएको छ । विद्यार्थी र अभिभावकलाई थप आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र शिक्षालयहरूलाई विद्यार्थीको सिर्जनशीलता एवं नवप्रवर्तन प्रोत्साहन गर्ने केन्द्रको रूपमा विकास गरिने प्रतिज्ञापत्रमा उल्लेख छ ।

राज्यका हरेक सेवालाई प्रविधिसँग जोडेर डिजिटल नेपालको अवधारणा साकार पार्ने कांग्रेसको मुख्य लक्ष्य छ । यस प्रक्रियाबाट सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई जरैदेखि अन्त्य गरिने दाबी पार्टीले गरेको छ । कांग्रेसले विधिको शासन कायम गर्दै बेथिति र हैरानीमुक्त नेपाल बनाउने संकल्प गरेको छ, जसअन्तर्गत नागरिकले घरमै बसेर सहजै सरकारी सेवा लिन सक्ने व्यवस्था मिलाइनेछ ।

मुलुकको आर्थिक मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व बढाउन कांग्रेसले प्रविधिको उच्चतम प्रयोग गर्ने नीति अघि सारेको छ । परम्परागत कृषिलाई प्रविधिसँग जोडेर किसानको आयआर्जन वृद्धि गर्ने योजनालाई कांग्रेसले प्राथमिकतामा राखेको छ ।

प्रतिज्ञापत्रमार्फत नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र मुलुकको मुहार फेर्ने दाबी गर्दै मतदातामाझ आफ्ना एजेन्डाहरू प्रस्तुत गरेको छ ।

हेर्नुहोस् कांग्रेस​को प्रतिज्ञापत्र:

पछिल्लो अध्यावधिक: फागुन ६, २०८२ १८:५४